१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड सरकारले विदेशबाट हुर्रा र मुर्रा मात्रै ल्यायो: सांसद शर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले २८ गते विश्वासको मतअघि पूर्वाअञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन हुन नसक्नुको कारणसहित जवाफ दिनुपर्ने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताउनुभएको हो । उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले दुई वटा मात्रै राम्रो काम गरेको बताउनु भयो । उहाँले दुई वटा काममध्ये पूर्वाअञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने र आर्थिक नीतिमा दफा ५७ संशोधन मुख्य भएको बताउनु भयो । उहाँले तर प्रधानमन्त्रीले मन्त्रीपरिषद्बाट गरेको निर्णय किन कार्यान्वयन हुन नसकेको बारे जवाफ दिन माग गर्नुभयो ।

उहाँले पूर्वाअञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने सन्दर्भमा कोशी जोन अस्पताललाई आफ्नै आंगिक क्यामपसको रुपमा प्रयोग गर्न पाउने र विश्वविद्यालयले तत्काल एमबीबीएस शुरु गर्ने भन्ने मन्त्रीपरिषद्को निर्णय तत्काल कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पूर्वका विद्यार्थीहरुको लागि सुनौलो अवसर भएपनि कार्यान्वयन नहुदाँ पठ्न आउने आशाले बसेका विद्यार्थीहरुमा निरासा छाएको बताउनु भयो । उहाँले पूर्वाधारका हिसावले अहिलेको विद्यमान कानून अन्तर्गत चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले आवश्यक पूर्वाधार हुँदा पनि अहिलेसम्म सञ्चालन हुन नसकेको बताउनु भयो । उहाँले अर्थमन्त्रीले करको दफा ५७ संशोधन गर्ने कोसिस गरेको भन्दै धन्यवाद दिनुभयो । उहाँले दफा ५७ संशोधनले नेपालका उद्योगीहरु र नयाँ स्टार्टपहरुको निम्ति पनि नयाँ ढोका खोल्ने काम गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले दुई वटा मात्रै राम्रो काम गरेको छ । जसमा पूर्वाअञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने सन्दर्भमा कोशी जोन अस्पताललाई आफ्नै आंगिक क्यामपसको रुपमा प्रयोग गर्न पाउने र विश्वविद्यालयले तत्काल एमबीबीएस शुरु गर्ने भन्ने मन्त्रीपरिषद्को निर्णय हो । तर पूर्वका विद्यार्थीहरुको लागि सुनौलो अवसर थियो । यो कार्यक्रम आउला भन्ने आशा थियो । पूर्वाधारका हिसावले अहिलेको विद्यमान कानून अन्तर्गत चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले आवश्यक पूर्वाधार सबै छ । तर अहिलेसम्म सञ्चालन हुन सकेको छैन । प्रधानमन्त्री २८ गते विश्वासको मत लिनुअघि जवाफ दिनुहोला । अर्थमन्त्रीले करको दफा ५७ संशोधन गर्ने कोशिस गरेको छ । त्यो नेपालका उद्योगीहरु र नयाँ स्टार्टअपहरुको निम्ति पनि नयाँ ढोका खोल्ने काम गरेको छ । कुनैपनि कम्पनीमा भएको पुँजीमा लगानी थप गर्न चाहेमा ७५ प्रतिशत कर बुझाउनु पर्ने व्यवस्था थियो । त्यसले लगानी थप्न नसक्ने अवस्था थिएन । यो ऐतिहासिक काम भएको छ ।’

उहाँले पूर्वप्रधानमन्त्रीले आफ्नो कार्यकालमा ठूलो वैदेशिक लगानी ल्याउन नसकेको बताउनु भयो । सांसद शर्माले प्रधानमन्त्री दाहालप्रति लक्षित गर्दै वरिष्ठ गायक रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भयो’गीत सुनाउनु भयो । सांसद शर्माले यस गीतमा कुनै नियम आपत्ति भए डिलिट गर्दा पनि कुनै आपत्ति नरहेको बताउनु भयो । उहाँले दाहाल नेतृत्वको सरकारले विदेशबाट हुर्रा र मुर्रामात्रै आएको जिकिर बताउनु भयो ।