१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह



photo:Rss
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न आग्रह गर्नुभएको छ ।

आईतवार बसेको प्रतिनिधि सभाकोे बैठकमा विशेष समय लिएर बोल्दै सांसद भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीलाई यस्तो आग्रह गर्नुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले प्वाल पारिसकेको डुङ्गामा बस्न उपयुक्त नभएको सुझाव दिनुभयो । उहाँले रास्वपाले प्रधानमन्त्रीलाई साथ दिइरहँदा अरुलाई पद र गरिमाका विषयमा उठाएको प्रश्नले सार्थकता नपाउने बताउनु भयो ।

उहाँले प्रधानमन्त्री दाहाललाई साथ दिएर रास्वपालाई नै क्षति हुने भन्दै एक पटक सरकारलाई दिएको समर्थनका विषयमा सोच्न आग्रह गर्नुभयो । उहाँले संसदका दुई ठूला दल सहकार्य गरेर जाने निर्णय गरिसक्दा पनि प्रधानमन्त्री दाहालले २८ गतेसम्म लम्ब्याउन नमिल्ने धारणा राख्नुभयो । उहाँले संसदमा विश्वासको मत भन्दा पनि संसदबाट राजीनामा घोषणा गर्नुउपयुक्त हुने बताउनु भयो । उहाँले पहिलो पटक विश्वासको मत लिँदा २६८,दोस्रोमा १७२,तेस्रो र चौथो पटक १५७ मत प्राप्त भएको भन्दै अब विश्वासको मत लिइराख्नु औचित्य नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘संसदका दुई ठूला दल सहकार्य गरेर जाने निर्णय गरिसक्यो । प्रधानमन्त्री २८ गतेसम्म लम्ब्याउने कुरा किन भयो । बुझ्नसकेका छैनौं । प्रधानमन्त्रीले विश्वास र समर्थन गुमाई सक्नुभएको छ । यस्तो बेलामा प्रधानमन्त्रीले संसदबाट राजीनामा घोषणा गर्नु उपयुक्त हुन्छ । उहाँले पहिलो पटक विश्वासको मत लिँदा २६८,दोस्रोमा १७२,तेस्रो र चौथो पटक १५७ मत प्राप्त गर्नुभयो । अब उहाँले विश्वासको मत लिँदा कति मत प्राप्त गर्नुहुन्छ । म राष्ट्रिय स्वतन्त्र पार्टीलाई भन्न चाहन्छु । उहाँहरु सत्तापक्षमा बस्नुभएको छ । उहाँहरुको पार्टीको निर्णय र इच्छा हो । हामीले भन्नु केही छैन । तर प्रधानमन्त्रीले प्वाल पारि सकेको डुङ्गामा बसि रहनु भएको छ भने तपाईहरु कता जाँदै हुनुहुन्छ । एक पटक सोच्नुहोला । राष्ट्रिय स्वतन्त्र पार्टीले जुन ढङ्गले अरुलाई पद र गरिमाको प्रश्न उठाई राख्नु भएको छ । त्यस हिसावले सोच्न आग्रह गर्दछु ।’

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालमा देखिएको निरन्तरको अस्थिरताले देशले आत्मविश्वास नै गुमाउन थालेकाले काँग्रेस र एमाले मिल्नुपर्ने परिस्थिति बनेको बताउनु भयो । उहाँले संविधान जारी भएको ८ वर्षभित्र दाहालले ६ पटकभन्दा बढी यता र उता गर्दै सत्ताको खेलमा लिप्त रहेका कारण स्वभाव बुझ्न समेत गाह्रो भएको बताउनु भयो । उहाँले संविधान निर्माणपछि देशलाई स्थितिरमा लैजाने बेला एमाले र काँग्रेससँग सहकार्यको गर्दै सत्तामा बसिरहने खेल खेलेको बताउनु भयो । उहाँले एमाले मिसन ग्रासरुट र मिसन ८४ मा लागेका बेला उहाँले फेरिसहयोग माग्दा सहयोग गरेपश्चात समेत लो प्रोफाइलका मन्त्रालय लिएर काम गर्न दिँदा पनि एमालेप्रति नै अविश्वास गरेको आरोप लगाउनु भयो । उहाँले कांग्रेसलाई बोलाएर राष्ट्रिय सरकार बनाउन प्रश्ताव गरेकाले एमालले सोच्न बाध्य भएको बताउनु भयो । उहाँले राष्ट्रिय सरकारको कुरा नाजायज नभए पनि आजको अवस्थामा राष्ट्रिय सरकारको नेतृत्व दाहालले गर्न नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘उहाँको स्वभाव नै यस्तो हो कि, बुझ्नै सकिएन । संविधान निर्माणपछि देशलाई स्थितिरमा लैजाने बेला एमालेलाई धोका दिएर काँग्रेसतिर लाग्नुभयो । फेरि काँग्रेस छाडेर एमालेतिर आउनुभयो । २०७९ को निर्वाचनमा एमालेविरुद्ध बनेको गठबन्धन लामै समय जान्छ भनेर हामी प्रतिक्षमा बस्न तयार थियौं । तर उहाँ चुनावपछि फेरि काँग्रेस छाडेर एमालेतिर आउनुभयो । लामो समय लैजाने भनेरै शक्ति बाँडफाँटको सहमति भएकै थियो । तर दिनहरू बित्दै जाँदा प्रधानमन्त्रीले सहमति पालना नगरी फेरि काँग्रेसतिर जानुभयो । अब यो सरकार जाओस् भनेर हामी मिसन ग्रासरुट र मिसन ८४ मा लागेका बेला उहाँले फेरि हाम्रो सहयोग माग्नुभयो । पछिल्लोपटक हामीले साथ दिएर लो प्रोफाइल मन्त्रालय लिएर काम गर्न दिँदा पनि एमालेप्रति नै अविश्वास गर्न थाल्नुभयो । काँग्रेसलाई बोलाएर राष्ट्रिय सरकार बनाऊँ भन्ने प्रस्ताव पनि राख्नुभएछ । राष्ट्रिय सरकारको कुरा नाजायज होइन, तर आजको अवस्थामा राष्ट्रिय सरकारको नेतृत्व कसले गर्नसक्छ ? उहाँ नेतृत्वको सरकारले गर्न सक्दैन । हामीलाई यो पनि सूचना प्राप्त भयो कि, राष्ट्रिय सरकार भनेर उहाँले एमालेलाई सरकार बाहिर राख्ने मनसाय व्यक्त गर्नुभयो । हामीलाई सरकार बाहिर बस्न आपत्ति होइन तर उहाँको नियत ठीक नदेखिएकाले ठूला दल मिलेर राष्ट्रिय सहमति बनाउनुपर्ने भयो । प्रधानमन्त्रीको जादुमय अंकले सत्ता साझेदार दल एमालेमाथि अविश्वास गर्न थाल्नुभयो ।’

उहाँले मुलुकको आत्माविश्वास दिनप्रतिदिन गुम्दै गएको र नेपालप्रति अन्तर्राष्ट्रिय समुदायको विश्वास गुम्दै गएको बताउनु भयो । उहाँले बैशाखमा भएको लगानी सम्मेलनमा १० अर्बको पनि लगानी प्रतिवद्धता नभएकोले पनि देखाएको बताउनु भयो । उहाँले कर्मचारीतन्त्र,सुरक्षा निकायले आत्माविश्वास गुमाएको दाबी गर्नुभयो । उहाँले जनतामा निरासा,आक्रोस र पलायन भएकाले मुलुक संकटग्रस्त अवस्थामा पुगेको बताउनु भयो । उहाँले संविधान बनेको र कार्यान्वयन गरेको १० वर्ष भएकाले संवैधानिक व्यवस्था अनुसार प्रत्येक १० वर्षमा संविधानको पुनरावलोकन गर्ने ठिक समय भएको बताउनु भयो । उहाँले संघीय,प्रदेश र स्थानीय सरकारको गठन,संवैधानिक अंगहरुको कामकारबाही लगायतका विषयमा पुनरावलोकन गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ मुलुकको आत्माविश्वास दिनप्रतिदिन गुम्दै गयो । नेपालप्रति अन्तर्राष्ट्रिय समुदायको विश्वास गुम्दै गयो । बैशाखमा भएको लगानी सम्मेलनमा १० अर्बको पनि लगानी प्रतिवद्धता भएन । तीन वर्षअघिको लगानी सम्मेलनमा ठूलो लगानी प्रतिवद्धता भएको थियो । कर्मचारीतन्त्र,सुरक्षा निकायले आत्माविश्वास गुमाएको अवस्था छ । राज्यका निकायहरुले ठिक ढङ्गले काम गरिरहेका छैनन् । संवैधानिक अंगहरुको अवस्था त्यस्तै छ । जनतामा निरासा र आक्रोस,पलायन छ । श्रमिकको रुपमा वा उच्च शिक्षा अध्ययनको निम्ति होस् । मुलुकको जनशक्ति र पुँजी दुबै पलायन भइरहेको छ । यसरी हेर्दा मुलुक संकटग्रस्त अवस्थामा छ । संविधान बनेको र कार्यान्वयन गरेको १० वर्ष भएको छ । संवैधानिक व्यवस्था अनुसार प्रत्येक १० वर्षमा संविधानको पुनरावलोकन गर्नेछ । संविधान संशोधन गर्ने ठिक बेला आएको छ । संघीय,प्रदेश र स्थानीय सरकारको गठन,संवैधानिक अंगहरुको कामकारबाही लगायतका विषयमा पुनरावलोकन गर्ने अवस्थामा छौं । समावेशी,समानुपातिक निर्वाचन प्रणालीलाई अवलम्वन गरेका छौ । संसदमा देशको प्रतिनिधित्व भएको छ । मुलुकको राष्ट्रिय एकतालाई कसरी बनाउने भन्ने विषय संविधानमा संशोधन गर्नुपर्ने छ । यी नै आवश्यकतालाई ध्यान दिँदै अन्तर्राष्ट्रिय समुदाय र नेपाली विज्ञहरुको विचारको आधारमा नेकपा एमाले र नेपाली काँग्रेस एक ठाउँमा उभिएर तमाम समस्याको समाना गर्नुपर्ने बेला आएको भनेर काँगे्रससँग सहकार्य गर्ने निर्णय गरेको हो ।’

भट्टराईले अब काँग्रेस र एमालेबीचमा देशको आत्मविश्वास बढाउन र लगानीको वातावरण बनाएर अर्थतन्त्र लयमा फर्काउन बलियो सरकारको सहमति भएको बताउनु भयो ।