३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी लगानी घट्नु दुर्भाग्यपूर्ण- डा. महत



अ+ अ-

 

डा. प्रकाशशरण महत, नेपाली कांग्रेसका सहमहामन्त्री हुन् । कांग्रेसले आफ्नो आर्थिक नीतिमा परिमार्जन गर्न उनै डा. महतको संयोजकत्वमा आर्थिक मस्यौदा समिति गठन गरेको छ । समितिले कांग्रेसले लिँदै आएको आर्थिक नीतिका बारेमा गम्भीर समीक्षा गर्दै अर्थनीतिलाई समयसापेक्ष बनाउन विभिन्न चरणमा छलफलसमेत चलाएको छ । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका डा. महत कांग्रेस संस्थापक वीपी कोइरालाले अघि सारेको प्रजातान्त्रिक समाजवादमै आधारित अर्थतन्त्रका पक्षमा कांग्रेस रहेको बताउँछन् । जिल्ला तहमा रहेका नेता, कार्यकर्ता र अर्थ क्षेत्रका सरोकारवालाहरूसँगको छलफलका क्रममा कांग्रेसलाई आर्थिक नीतिका सम्बन्धमा सुझावहरू आएका छन् । विभिन्न चरणका छलफल करिब–करिब सकाइसकेको समितिले छिट्टै मस्यौदा तयार गरेर केन्द्रीय समितिमा पेश गर्ने संयोजक महत बताउँछन् । केन्द्रीय समितिमा छलफलपछि सो आर्थिक नीतिको मस्यौदा मंसिर २८ देखि पुस ३ गतेसम्मका लागि तय भएको महासमिति बैठकमा प्रस्तुत हुने उनले जनाए । कांग्रेसले लिँदै आएको आर्थिक नीति, त्यसमाथि आएका सुझाव र अर्थ नीतिमा कांग्रेसको अबको प्राथमिकताका बारेमा केन्द्रीत रहेर कारोबारकर्मी जगन्नाथ दुलालले उनै आर्थिक मस्यौदा संयोजक डा. महतसँग गरेको कुराकानीको सार :

नेपाली कांग्रेसको आगामी आर्थिक नीतिको मस्यौदा लेखनको काम कहाँ पुग्यो ?
पार्टीले समग्र आर्थिक नीतिको मस्यौदा तयार गर्ने भनेर केन्द्रीय समितिले मेरो संयोजकत्वमा कमिटी बनाएको थियो । हामीले तल्लो तहसम्म जिल्ला जिल्लाको समेत सुझाव लियौं । यस क्रममा ५ ठाउँमा छलफल सन्चालन गर्येउ । हरेक जिल्लामा त्यहाँका आर्थिक, सामाजिक विषयका जानकार, पार्टी सभापतिलगायतका साथीहरूलाई समेत संलग्न गराएर छलफल सम्पन्न भयो । राष्ट्रियस्तरका विज्ञहरूसँग सभापति शेरबहादुर देउवाकै उपस्थितिमा केन्द्रीय कार्यालयमै छलफल गर्येउ । उद्योग वाणिज्य महासंघका पदाधिकारी र विभिन्न विषयका विज्ञहरूसँग पनि छलफल गर्यौं । मस्यौदा लगभग बनिसकेको छ । सुझावका आधारमा अझ यसलाई समृद्ध बनाउँदै लैजाँदैछौं ।

कांग्रेस आफूले लिँदै आएको अर्थनीतिमा रनभुल्लमा थियो । त्यसकारण अहिले पार्टीका जिल्ला तहदेखि आर्थिक क्षेत्रका विज्ञ, सरोकारवालाहरूसँग छलफल गरेर प्रष्ट हुन खोज्दैछ पनि भन्छन् नि ?
हाम्रोे पार्टीको सुस्पष्ट एउटा आर्थिक दृष्टिकोण छ । कसरी नेपालको आर्थिक सामाजिक रूपान्तरण हुन्छ भन्ने कुरामा हामी अनविज्ञ छैनौं । तथापी, समयसापेक्ष आफूलाई अद्यावधिक पनि गरिरहने उद्देश्यले अहिले छलफलमा छौं । नयाँ चुनौतीहरू के–के छन्, नयाँ आवश्यकताहरू कसरी विकसित भइरहेका छन ? विभिन्न समस्या कतिपय क्षेत्रमा कसरी जटिल हुँदैछन् ? त्यसको उत्तर पनि हामीले खोज्दै जानुपर्छ ।
२०४८ सालमा पार्टी सत्तामा आएपछि अर्थतन्त्र सँगसँगै सामाजिक सुरक्षा र न्यायका कुरालाई हामीले लैजाने कोशिस गर्येउ । त्यहाँ कहाँ अप्ठयारा आए । के मा हामी सबल देखियौं । के के कुरामा हामी कमजोर देखियौं । अझ परिमार्जित गरेर लैजाने ठाउँ कहाँ छ । स्थानीय तहका साथीहरूले के अनुभव गरिरहेका छन् । हामीले गरेका कामबाट जनताले के महसुस गरिरहेका छन् । हामा नीतिका प्रभावहरू के छन् । तल्लो तहको अनुभवलाई हामीले आत्मसाथ गर्न जरुरी छ । त्यसकै आधारमा कहाँ सुधारको आवश्कयता छ हामी निष्कर्ष निकाल्न सक्छौं । त्यही उद्देश्यले हामीले छलफल गर्यौं । अत्यन्त सार्थक छलफल भएका छन् ।

कांगे्रसको अर्थनीति बनाउँदा तल्लो तहका नागरिकका लागि भन्दा उपल्लो वर्गका पक्षमा हुन्छ भनेर आलोचना हुँदै आएको छ । यसपटक तल्लो तहदेखि उपल्लो वर्गसँग पनि छलफल गर्नुभयो । त्यसक्रममा कस्ता कस्ता सुझाव आए ?
कृषिमा अझै पनि ठूलो जनसंख्या निर्भर छ । यद्यपी राष्ट्रिय आम्दानीमा त्यसको योगदान घटिरहेको छ । कृषिमा लागत भन्दा आम्दानी कम छ । त्यसकारण कृषिप्रति विकर्षण बढेको छ । जमिनहरू कतिपय ठाउँमा बाँझो छ । खन्डीकरण बढेको छ । कृषि गरेर राम्रो प्रतिफल किसानले पाइरहेका छैनन् । अब हामीले हल खोज्नुपर्छ । हामीले किसानलाई सहुलियत, अनुदानको व्यवस्थादेखि सिँचाइ वृद्धि गर्ने कुरा गरेका छौं । तर, सही किसानले सहुलियत नपाएका कुरा आएका छन् । सिँचाइको अझै राम्रो व्यवस्था गर्नुपर्ने कुरा आएका छन् । आधुनिक प्रविधि भित्र्याउने, बजार विस्तार गर्नुपर्ने कुरा आएका छन् । किसानले उत्पादन गर्ने, तर त्यसले बजार नै नपाउने । पाइहाले पनि किसानभन्दा बिचौलियाले धेरै कमाउने अवस्था छ । यसको समाधान र नीतिगत कार्यक्रमिक व्यवस्थामा पार्टीले अझ लक्षित कार्यक्रम ल्याउनुपर्यो भन्ने सुझाव आएका छन् ।
त्यस्तै बेरोजगारीको समस्या छ । विदेशिएका युवाले खोजेअनुसारको रोजगारी नपाउने अवस्था छ । त्यसकारण सिपको कुरामा जोड दिइएको छ । यद्यपी निजी क्षेत्रमा केही कलेज खुलेका छन् । ती महँगा छन् । कांगे्रसले सिटीइभिटीको अवधारणा ल्याएपछि ठाउँठाउँमा विद्यालय/कलेज खुलेका छन् । निजी क्षेत्रलाई अनुमति दिइयो । त्यसपछि अरु थप काम भएनन् ।

बेरोजगारीको कुरा गरिहँदा अहिले लाखौं युवा विदेशिएका छन् । स्वदेशमा भएका युवा पनि बेरोजगार छन् । उत्पादनमूलक क्षेत्रमा लगानीको अभाव देखिन्छ । यसबारे कांगे्रसले कस्तो दृष्टिकोण राख्छ ?
उत्पादनमूलक क्षेत्रमा लगानी बढिरहेको छैन । राष्ट्रिय आम्दानीमा उद्योगको हिस्सा कम भइरहेको छ । व्यवसायीहरू व्यापारमुखी भइरहेका छन् । व्यापारमा त्यहाँ प्रतिफल देखिरहेका छन् तर, उद्योगमा प्रतिफल देखिरहेका छैनन् व्यवसायीहरू । त्यहाँ पनि विकर्षण छ । जबसम्म उद्योग बढ्दैनन्, त्यो बेलासम्म रोजगारी पनि बढ्दैन । व्यापारघाटा पनि कम हुँदैन । किनभने त्यो व्यापार आयातमा आधारित छ । यो पनि चुनौतीको क्षेत्र छ । नेपालमा लगानी महँगो भइरहेको छ । कृषिमा लागत महँगो छ । उद्योग स्थापना गर्ने ठाउँमा पनि लगानी महँगो भइरहेको छ । उद्योगी व्यवसायीको दृष्टिकोणबाट श्रम कानुनमा उद्योगी व्यवसायीहरूलाई अप्ठयारो पर्ने गरी आइरहेको छ । यद्यपी श्रमिकहरूको आ–आफ्नो भनाइ छ । त्यसलाई पनि हामीले सन्तुलन खोज्नुपर्छ । बैंकको ब्याजदर बढिरहेको छ । बैंक पनि ट्रेडिङमा बढी लगानी गर्न उत्सुक छन् । जस्तो, ११ हजार तिरेपछि ‘डाउन पेमेन्टमा’ गाडी चढ्न ऋण लगानी गरेका छन् । तर, उत्पादनमूलक क्षेत्रमा बैंकहरूले सहज महसुस गरेका छैनन् । त्यसकारण ऋण फिर्ता हुने हो की होइन भनेर बैंकले त्यसको ब्याजदर बढी राखेका छ । जग्गाहरूको पनि समस्या छ । अरु देशमा उद्योगका लागि विशेष क्षेत्र हुन्छ । त्यहाँ जग्गा उपलब्ध गराउने हुन्छ । यद्यपी नेपालमा पनि विशेष क्षेत्र त छ । तर, नेपालमा जग्गा किनेर व्यवसाय गर्न एकदमै महँगो परिरहेको छ । भूमी महँगो, ब्याजदर महँगो र अहिलेको सरकारले कर बढाएको अवस्था छ । त्यसपछि दोहोरो, तेहेरो कर स्थानीय र प्रदेश तहले उठाएको कुरा आएको छ । त्यसमाथी कानुनलाई मानेर मात्र भएन, अहिले त व्यक्तिलाई खुशी पार्नुपर्ने अवस्था छ । अनुमति पाउनै दुई वर्ष लाग्ने अवस्था छ । त्यसकारण उद्योगमा लगानी गर्न विकर्षण बढेको छ । यसको अब हामीले समाधान खोज्नुपर्छ ।

आमनागरिकले राज्यसँग अपेक्षा गर्ने अर्को विषय शिक्षा र स्वास्थ्यको हो । सुलभ र गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा दिनुपर्छ भन्ने कुरामा तपाईंहरूको नीतिमा के आउँछ ?
हामीले विद्यालय तहसम्म निःशुल्क शिक्षा दिने भन्यौं । त्यस्तै गाउँमा स्वास्थ्य सुविधा दिने भन्यौं । मूलत हामीले शिक्षकको, डाक्टरको तलब त दिइरहेका छौं । तर, सुविधा दिन सकेका छैनौं । गुणस्तरीय शिक्षाका लागि शिक्षक मात्र भएर पुग्दैन । अरु आवश्यक सामग्री पनि चाहिन्छ । त्यस्तै प्रभावकारी स्वास्थ्य सेवाका लागि डाक्टर मात्र भएर पुग्दैन । त्यहाँ भौतिक पूर्वाधार, उपकरण, औषधिलगायतका धेरै कुरा चाहिन्छ । त्यो नभइ विद्यालय र अस्पतालमा आकर्षण हुँदैन । यो कुरामा पनि ध्यान दिनुपर्ने सुझावहरू आएका छन् ।
समग्रमा उत्पादनको बाहक निजी क्षेत्र, सहकारी र आम जनता हुनुपर्छ भन्ने हामो दृष्टिकोण छ । त्यसमा सबै क्षेत्रबाट समर्थन आएको छ । तर, कृषिमा खासगरी लगानी घटाउनका लागि र जमिनको खन्डीकरण रोक्नका लागि स्वयंसेवी सहकारी र करार खेती (कन्ट्राक्ट फार्मिङ), कुन ठाउँमा के को सम्भावना छ, त्यसको विकास गरिनुपर्छ भन्ने धारणा आएका छन् । त्यसलाई पनि समेट्छौं ।

तपाईंहरूले अब लिने आर्थिक नीतिको मूल आधारचाहीँ के हुन्छ ? उत्पादनको अवस्था दयनीय छ तर, वितरणमा प्रतिस्पर्धा नै देखिन्छ । उत्पादन र वितरणबीच कसरी सन्तुलन मिलाउन सकिन्छ ?
वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादी विचारका तीन वटा खम्बा छन् । विधिको शासन एउटा खम्बा हो । आर्थिक रूपान्तरणको कुरा गर्दा दुईवटा पाटा छन, उत्पादन र वितरण । उत्पादनको नेतृत्व निजी क्षेत्रले लिनुपर्छ र वितरणको नेतृत्व सरकारले लिनुपर्छ । संसारभरी भएका राजनीतिक परीक्षणले त्यही नै निष्कर्ष निकालको छ । नेपालमा नयाँ परीक्षणको जरुरी छैन । संसारमा कम्युनिजम् किन फेल भयो ? राज्यले नै उद्योगव्यवसाय चलाउने, सबै नियन्त्रण गर्न खोज्दा फेल भयो ।

त्यसकारण हामीले त्यही परीक्षण दोहोराएर असफलतातिर जानुछैन । त्यसकारण उत्पादनको नेतृत्व समग्र आमनागरिक, व्यवसायी र निजी क्षेत्रलाई दिनुपर्छ ।

त्यसको प्रतिस्पर्धाको पारदर्शीता सरकारले गर्नुपर्छ । वितरणको नेतृत्व सरकारले गर्नुपर्छ । उत्पादन र वितरणलाई सँगै लैजानुपर्छ ।
करको रूपमा सरकारले केही हिस्सा प्राप्त गर्छ । त्यसलाई कुन वर्ग पछाडि पर्यो त ? भौगोलिक, लैंगिक, सामाजिक, आर्थिक के कारणले पर्यो ? त्यो वर्गसँग शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कुरा सरकारले गर्नुपर्छ । त्यस्तै, सबै पूर्वाधार आयोजनामा निजी क्षेत्र सहभागी हुन चाहँदैन । जहाँ तत्काल प्रतिफल आउँदैन, लामो समय कुर्नुपर्छ त्यहाँ निजी क्षेत्र कुर्दैन । त्यसमा राज्यले ध्यान दिनुपर्छ । विभिन्न क्षेत्रबाट आएका सुझाव, जहाँ समस्या छन् त्यसका आधारमा जानुपर्छ । हामीले लिएको लक्ष्य ठीक छ । एकएक थोपा दूध होइन, एक एक ग्लास दूध भनेर वीपीले भन्नुहुन्थ्यो । त्यसको मतलव उत्पादन बढाउने र वितरण पनि गर भन्ने लक्ष्य हामी समात्छौं । तर, त्यो लक्ष्यमा पुग्ने साधन अर्थात तरीकाका बारेमा भने गतिशीलता देखाएर अघि बढ्छौं ।

वीपीले अघि सारेको प्रजातान्त्रिक समाजवादको बाटो त कांगेसले २०४८ सालमै छाडिसक्यो भनेर आलोचकहरूले भन्ने गर्छन् । त्यस्तै ढुकुटी भर्न सक्ने तर, वितरण गर्न लोभ गर्ने गरेको आरोप पनि कांगे्रसमाथी छ नि ?
त्यो आरोपमा सत्यता छैन । उत्पादन विना वितरणको कुरा गरियो भने त्यो गरिबीको वितरण हुन्छ । हामीले खोजेको यो होइन । समृद्धिको वितरण हामीले खोजेको हो । समृद्धिको वितरण गर्ने हो भने पहिला समृद्धि सिर्जना गर्नुपर्यो । त्यसका लागि उत्पादन बढ्नुपर्यो । उत्पादन बढ्न लगानी बढ्नुपर्यो । उद्योगव्यवसाय विस्तार भएपछि रोजगारी सिर्जना हुन्छ । रोजगारी सिर्जना भएपछि हातहातमा आम्दानी पुग्छ । उत्पादन बढ्यो भने करको दायरा बढ्छ । राजश्व बढछ । राजश्व बढ्यो भने सरकारको हातमा ठूलो बजेट आउँछ । त्यसपछि न वितरण हुन्छ । पुँजी छैन भने के वितरण गर्नुहुन्छ ? त्यसकारण कम्युनिष्ट साथीहरू स्वप्नशील कुरा गर्नुहुन्छ । दिने दिने भन्नुहुन्छ । कहाँबाट पुँजी बढाउने कुरा गर्नुहुन्न । जनताले सुन्दाखेरी दिन्छु भनी राख्या छ । कहाँबाट ल्याएर कसरी दिन्छन् भन्ने थाहा छैन । त्यसकारण कांगेस वीपी कोइरालाकै विचारसँग जोडिएको छ, उत्पादन बढाउने विषयमा । २०४८ सालमा कांगेसले बजेट ल्याउँदा १२ अर्ब राजश्व । त्यसमा ८० करोड रुग्ण उद्योगमा तलब खुवाउन दिन्थ्यो । विदेश ऋणको ब्याज तिर्न नै अर्बौं चाहिने अवस्थामा कर्मचारी, प्रहरीको तलब खुवाउँदा विकास गर्न पैसा नै थिएन । त्यसकारण उत्पादन बढाउन जरुरी थियो । निजी क्षेत्रलाई उत्पादनको बाहक बनाउने, साना उद्यमशीललाई बढाउने नीति कांगेसले लियो । अहिलेसम्म त्यसकै कारण अर्थतन्त्र अडिएको छ । गाउँगाउँमा सडक, शिक्षा, स्वास्थ्य चौकी लाने दृष्टिकोण कांगे्रसले लियो । त्यो वितरणकै अंग हो । गाउँमा पैसा पठाउने काम पनि कांगे्रसले नै गरेको हो । हामीले नगरेको होइन तर हामीले विज्ञापन गर्न जानेनौं । नारा बनाउन जानेनौं । अझ लक्षित बनाएर लान सक्ने ठाउँहरू थिए होलान् । त्यसमा समीक्षा गर्न सकिन्छ । पछिल्लो समय त द्वन्द्वले पनि असर गर्यो ।

सरकारले सुखी नेपाली, समृद्ध नेपाल भनिरहेको छ । सरकारका कामकारवाही त्यसतर्फ कन्द्रित छ ?
सरकारले कुनै वैकल्पिक दृष्टिकोण दिन सकेको छ । यो दिन्छु, त्यो दिन्छु भनेको छ । उडन्ते कुरा धेरै गरेको छ । यहाँ रेल हुन्छ, घरघरमा ग्यास पाइप जोडिन्छ भन्दिएको छ । कुन जगमा टेकेर उहाँहरू त्यो भन्दै हुनुहुन्छ । कुन नीतिगत, कुन सैद्धान्तिक आधारमा त्यसो भन्दैछ भनेर हेर्दा सरकारको कुनै वैकल्पिक दृष्टिकोण छैन ।

न सरकारले वैकल्पिक दृष्टिकोण दिन सकेको छ न कांग्रेसले अघि सारेको उत्पादनको नेतृत्व निजी क्षेत्र र वितरणको नेतृत्व सरकारले गर्ने दृष्टिकोणको मर्म समातेर अगाडि बढेको छ ।

यो सरकारको चाल न कुखुराको चाल, न हाँसको चाल जस्तो भइरहेको छ । सरकारले अहिले कसरी नियन्त्रण गर्न सकिन्छ भनेर लागिरहेको छ । देश र जनताअनुकूल होइन की आफू र आफ्नो पार्टी अनुकूल, आफ्ना स्वार्थअनुकूल कसरी नियन्त्रण गर्ने भन्ने कुरा भइराखेको छ ।

कम्युनिष्टलाई वितरणमुखी भन्ने कांग्रेस पनि वितरणतिरै केन्द्रीत देखिन्छ । कांग्रेसको अघिल्लो सरकारले गरेका त्यस्तै केही निर्णयका कारण अर्थतन्त्र बिगारेकाले काम गर्न अप्ठ्यारो भयो भनेर अहिलेको सरकारले भनिरहेको छ । समस्या त तपाईंहरूका कारण आएको रहेछ नि ?
यो गरे, त्यो गरेन भन्ने आलोचना र गरे किन गर्यो भनेर आलोचना हुन्छ । वितरणलाई पनि सँगसँगै लानु त पर्छ । किनभने एउटा वर्ग, समूहलाई धेरै पर्ख धेरै पुँजी भएपछि पाउँछौं भनेर कुर्ने र कुराउने अवस्था छैन । हामीले अलिकति लक्षित गर्न सकेका छैनौं । केही प्रशासनिक कमजोरी पनि छन् । कार्यान्वयन ंयन्त्रको कमजोरी पनि छ ।

भत्ताकै कुरा गर्दा जसलाई आवश्यक छैन उसलाई नदिँदा पनि हुनसक्छ । आम्दानीका आधारमा वर्गीकरण गर्नुपर्छ ।

जसलाई आवश्यक छ उसलाई वितरण गर्ने र जसलाई आवश्यक छैन उसलाई तिवरण नगर्ने गर्न सकिन्छ ।
तर, त्यसका लागि हाम्रो अत्यन्त राम्रो डाटावेस चाहिन्छ । हामीले नै राष्ट्रिय परिचयपत्रको नाीति ल्याएका थियौं । त्यसमा आर्थिक, सामाजिकस्तरदेखि सबै समावेश गरेर ल्याउन सकियो भने र सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई लक्षित बनाएर लग्यौं भने सिमित स्रोत साधनले पनि धेरै काम गर्न सक्छौं । चुनावअघि कम्युनिष्ट पार्टीले ५ हजार वृद्ध भत्ता भनेर आश्वासन बाँड्यो । तत्कालिन लाभ हुने यस्ता अल्पकालिन सोच छोड्नुपर्छ । दीर्घकालिन सोच राख्नुपर्छ । सरकारले काम नगर्ने तर उडन्ते कुरा गरिरहेको छ ।

नेपालको अर्थतन्त्रका लागि अहिले व्यापारघाटा ठूलो चुनौती बनिरहेको छ । त्यसलाई कम गर्न के गर्न सकिन्छ ?
ब्यापार घाटा कम गर्न आयात प्रतिस्थापन गर्नुपर्छ । त्यो कसरी हुन सक्छ भने मझौला, साना उद्योग, यहाँका स्रोतसाधनमा आधारित उद्योग, कृषि, जडिबुटीजन्य उद्योगलाई संरक्षण गर्नुपर्छ । फलफूल, चिया, कफी, नगदेबालीमा जोड गर्नुपर्छ । जलविद्युत्मा धेरै सम्भावना छ । अहिले निजी क्षेत्र पनि आइरहेको छ । नेपाललाई पुग्ने उत्पादन भएपछि विदेशी बजार खोज्ने कुरा पनि होला । तर, देशभित्रै यसको खपत बढाउनुपर्छ ।

डिजेल र पेट्रोललाई विस्थापन गर्न सक्यौं भने धेरै आयातमा भइरहेको खर्च कम हुन्छ । यसले व्यापार घाटा कम हुन्छ र हाम्रो विदेशी मुद्रा पनि बच्छ ।

त्यसका लागि हाम्रो अर्थतन्त्रलाई पर्यावरणमुखी ‘ग्रिन इकोनोमी’ मा लानुपर्छ । २० वर्षको लक्ष्यराखेर विद्युतीय यातायात प्रणालीमा जानुपर्छ । तत्काल कुकिङ र यातायातमा विद्युत्मा जाने हो भने आयातलाई प्रतिस्थापन गर्छौं । व्यापार घाटा घटाउँछौं र यहिँ आर्थिक गतिविधि बढाउँछौं । धेरै उत्पादन भएपछि जलविद्युत् के गर्ने भन्ने चिन्ता पनि रहँदैन । यसले व्यापारघाटा कम गर्न मद्दत पुराउँछ ।

सरकारले दाहोरो अंकको आर्थिक वृद्धिद्धरको लक्ष्य लिइराखेको छ । तर, अहिले स्वदेशी लगानीकर्ता विश्वस्त देखिँदैनन् । वैदेशिक लगानीकर्ता पनि अन्योलमा छन् । यो अवस्थालाई कसरी हेरेको छ कांग्रेसले ?
यो सरकार बन्दा जनताले अब स्थीर सरकार आयो । अब यहाँ लगानी वृद्धि हुन्छ भन्ने अपेक्षा गरेका थिए । अस्थिरता, द्वन्द्व, भूकम्पलगायतका कारण आर्थिक वृद्धिद्धर कम थियो । त्यसपछि त्यो स्थितिबाट स्थिर वातावरणमा जाँदा आर्थिक वृद्धिदर ह्वात्तै बढ्छ । हाम्रोमा दोहोरो अंकको आर्थिक वृद्धिद्धर त पहिलै वर्षमा हुनुपर्ने हो । दोस्रो वर्षदेखि १२/१३ प्रतिशत हुनुपर्ने । विहारमा १२ प्रतिशत आर्थिक वृद्धिद्धर किन छ भने उनीहरू कमजोर जगबाट स्थिर वातावरण बनाए । तर, यहाँ दुर्भाग्य अहिले उल्टो भइदियो । तथाकथित स्थीर सरकार त आयो । तर, उहाँहरूको कर बढाउने, कृत्रिम रूपमा महँगी बढ्ने, कानुनलाई मानेर नहुने उहाँहरूको व्यक्तिगत स्वार्थलाई सम्बोधन गर्नुपर्ने, ब्याजदर उच्च छ । यी कुराले असर गरेको छ । पहिलो वर्ष विदेशी लगानी ७५ प्रतिशतले घटेको छ । यो दुर्भाग्यपूर्ण कुरा हो । ६ प्रतिशत पनि आर्थिक वृद्धि नहुने कुरा आएको छ । यो निराशाजनक कुरा छ । पानी राम्रो परेकाले, धानको उत्पादन राम्रो भएकाले करिब ६ प्रतिशत हाराहारी पुग्ने देखिन्छ । नत्र त त्यति पनि नहुने रहेछ । विदेशी लगानीकर्ताहरू निराश छन् । विदेशी लगानी घटिरहेको छ भने स्वदेशी पुँजी कि त घरमै राख्ने अवस्था छ कि विदेश पलायन भइरहेको छ । ठूलो नेपाली पुँजी विदेश पलायन हुने अवस्था आएको छ । सरकार हिँडेको बाटोले उत्पादन बढ्ने अवस्था छैन । उत्पादन नभएपछि कहाँबाट वितरण गर्ने । दोहोरो, तेहेरो कर लगाइएको छ । अधिकार तल दिनुपर्नेमा सम्पूर्ण अधिकार प्रधानमन्त्री कार्यालयमा थुपारिएको छ । ५० औं कमिटीको अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ ।

सबै आफैंले गर्छु भन्दा परिणाम आउँदैन । अहिले त अरुलाई जवाफदेही बनाएर काम गराउनुपर्ने अवस्था हो ।

कसैलाई विश्वास नगर्ने परिस्थितिले कर्मचारी प्रशासन पनि हात बाँधेर बसेको छ । प्रशासनिक यन्त्रलाई परिचालन गर्न सकिरहनुभएको छैन । दोष कर्मचारीलाई लगाउनु राजनीतिक नेतृत्वको असफलता हो ।

(कारोबार दैनिकबाट साभार)