३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास

स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास
अ+ अ-

काठमाडौं  । नेपालमा सवारीसाधन भित्रिएको इतिहास एक शताब्दीभन्दा लामो भइसकेको छ। आजभन्दा १ सय २४ वर्षअघि नेपालमा गाडी भित्रिँदा त्यो केवल नयाँ प्रविधिको आगमन थिएन, नेपालका लागि एउटा असाधारण घटना थियो। सडक र यातायातको पूर्वाधार विकास नभइसकेको त्यो समयमा गाडीलाई मानिसहरूले काँधमा बोकेर काठमाडौं ल्याउनुपरेको इतिहास छ। तर, त्यही नेपाल अहिले विश्वका चर्चित र प्रिमियम अटोमोबाइल ब्रान्डका लागि आकर्षक बजारका रूपमा स्थापित हुँदै गएको छ।

एक शताब्दीभन्दा लामो अवधिमा नेपालको सवारीसाधन बजारले ठूलो परिवर्तन भोगेको छ। कुनै समय सीमित व्यक्ति, पहुँचवाला र सौखिन वर्गको विलासी वस्तु मानिने गाडी अहिले मध्यम वर्गीय परिवारसम्मको आवश्यकता बन्दै गएको छ। सहरमा मात्र सीमित रहेको सवारीसाधनको पहुँच अहिले देशका ग्रामीण क्षेत्रसम्म विस्तार भएको छ। व्यक्तिगत आवागमनदेखि व्यापार–व्यवसाय, पर्यटन, कृषि तथा दैनिक जीवनका विभिन्न गतिविधिमा सवारीसाधनको भूमिका बढ्दै गएको छ।

नेपालमा सडक सञ्जालको विस्तार, सहरीकरण, आर्थिक गतिविधिको वृद्धि र नागरिकको आयस्तरमा भएको परिवर्तनसँगै निजी सवारीसाधन प्रयोग गर्ने वर्ग पनि विस्तार भएको छ। त्यसको प्रभाव अटोमोबाइल बजारमा देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा नाम कमाएका विभिन्न ब्रान्डका कार, जिप, मोटरसाइकल, व्यावसायिक सवारीसाधन तथा पछिल्लो समय विद्युतीय सवारीसाधनसमेत आधिकारिक वितरकमाफर्त नेपाली बजारमा भित्रिरहेका छन्।

बजार विस्तारसँगै नेपाली उपभोक्ताका लागि सवारीसाधन रोज्ने विकल्प पनि बढेको छ। कुनै समय एउटा गाडी पाउनसमेत कठिन हुने अवस्थाबाट अहिले विभिन्न मूल्य, डिजाइन, प्रविधि, क्षमता र सुविधाका दर्जनौँ ब्रान्ड उपलब्ध हुने अवस्थामा नेपाल आइपुगेको छ। प्रिमियम ब्रान्डका महँगा सवारीसाधनसमेत नेपाली बजारमा बिक्री भइरहेका छन्। यसले नेपाली अटोमोबाइल बजारको आकार र सम्भावना दुवै बढ्दै गएको संकेत गर्छ।

यही परिवर्तनसँगै नेपालमा अटोमोबाइल व्यवसायलाई संस्थागत गर्ने प्रयास पनि अघि बढ्यो। सवारीसाधन आयातकर्ता तथा व्यवसायीको हकहितमा काम गर्ने उद्देश्यले वि.सं. २०३२ सालमा अटोमोबाइल एशोसिएसन अफ नेपालको स्थापना भयो। पछि वि.सं. २०७२ सालमा संस्थाको नाम परिवर्तन गरी नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल बनाइयो। स्थापनाको पाँच दशक पूरा गरेको नाडा अहिले नेपाली अटोमोबाइल क्षेत्रको प्रमुख छाता संगठनका रूपमा स्थापित भएको छ।

नाडाको यात्रा केवल व्यवसायीको संगठन निर्माणमा मात्र सीमित रहेन। नेपाली अटोमोबाइल बजारलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउने तथा नयाँ प्रविधि र ब्रान्डलाई उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले अटो शोको अवधारणा अघि बढ्यो। सन् १९९८ मा पहिलोपटक अटो शो आयोजना भयो। सुरुवातमा ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसले इभेन्टका रूपमा अटो मेला आयोजना गरेको थियो। दोस्रो संस्करण पनि सोही संस्थाले निरन्तरता दिएको थियो।

पहिलो र दोस्रो अटो शोपछि रोहिणी थपलिया नाडाको अध्यक्ष रहेका बेला नाडाले अटो शोको स्वामित्व ग्रहण गरेको थियो। नाडाले अपनत्व लिएपछि अटो शोको आकार र सहभागिता विस्तार हुँदै गयो। व्यवसायीले आफ्ना ब्रान्ड र नयाँ मोडल प्रदर्शन गर्ने तथा उपभोक्ताले एकै स्थानमा विभिन्न सवारीसाधनबारे जानकारी र तुलना गर्ने अवसर पाउन थाले।

सुरुवाती समयमा अटो शो दुई–दुई वर्षमा आयोजना हुन्थ्यो। तर नेपालको अटोमोबाइल बजार तीव्र रूपमा विस्तार हुँदै गएपछि सन् २०११ बाट नाडाले हरेक वर्ष अटो शो आयोजना गर्ने निर्णय गर्‍यो। त्यसपछि नाडा अटो शो नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा महत्वपूर्ण वार्षिक कार्यक्रममध्ये एक बनेको छ।

सन् १९९८ जनवरी १२ देखि १६ सम्म भृकुटीमण्डपमा आयोजना भएको पहिलो अटो शोमा २६ सहभागी थिए। सन् २००० मा भएको दोस्रो संस्करणमा सहभागी संख्या ३१ पुग्यो। त्यसपछि सन् २००४ मा ६२, सन् २००७ मा २०, सन् २००९ मा ३२ र सन् २०११ मा ३८ सहभागी थिए। सन् २०१२ मा ५५, सन् २०१३ मा ४०, सन् २०१४ मा ५० र सन् २०१५ मा ६५ सहभागी पुगे।

सन् २०१६ मा ७४ र सन् २०१७ मा ८३ सहभागी पुगेको अटो शोमा सन् २०१८ मा चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधनका विभिन्न ब्रान्ड सहभागी भएका थिए। सन् २०१९ को संस्करणमा सहभागी संख्या ९५ पुगेको थियो। कोरोना महामारीका कारण अटो शोको नियमिततालाई केही समय असर परे पनि त्यसपछि पुनः यसको विस्तारको क्रम सुरु भयो। सन् २०२३ को संस्करणमा १२० सहभागी पुगेका थिए।

सन् २०२४ को नाडा अटो शोमा ५५ वटा सवारीसाधन ब्रान्ड सहभागी भएका थिए। त्यसैगरी सन् २०२५ अगस्ट १९ देखि २४ सम्म आयोजना भएको १७औँ नाडा अटो शोमा ३६ वटा सवारीसाधन ब्रान्डको सहभागिता थियो। सहभागी संख्या वर्षअनुसार फरक भए पनि अटो शोको महत्व भने निरन्तर बढिरहेको छ।

विशेषगरी नाडा अटो शो आयोजना हुने भदौ महिनापछि दसैँ, तिहारलगायतका प्रमुख चाडपर्वको मौसम सुरु हुने भएकाले यो समय अटोमोबाइल व्यवसायीका लागि निकै महत्वपूर्ण मानिन्छ। अटो शोमा नयाँ गाडी हेर्ने, मूल्य र सुविधाबारे जानकारी लिने तथा विभिन्न ब्रान्डबीच तुलना गर्ने ग्राहकको संख्या उल्लेख्य हुने गर्छ। त्यसैले नाडा अटो शो अटोमोबाइल व्यवसायीका लागि ब्रान्ड प्रदर्शन गर्ने ठाउँ मात्र नभई बिक्रीको दृष्टिले समेत महत्वपूर्ण ‘फेस्टिभ सिजन’को सुरुवाती मञ्चका रूपमा स्थापित भएको छ।

पाँच दशकको संस्थागत यात्रामा नाडाको नेतृत्व पनि विभिन्न व्यक्तित्वले सम्हालेका छन्। वि.सं. २०५३ सालपछि नाडाको नेतृत्व क्रमशः किरण वैद्य, श्रीनिवास वीरसिंह, लोकमान्य गोल्छा, रोहिणी थपलिया, हिक्मतबहादुर माली, सुनिल खेतान, सूर्य राणा, सौरभ ज्योति, शेखर गोल्छा, अञ्जन श्रेष्ठ, शम्भुप्रसाद दाहाल, कृष्णप्रसाद दुलाल, ध्रुव थापा र करण चौधरीले गरेका छन्। हाल नाडाको नेतृत्व सुरेन्द्रकुमार उप्रेतीले गरिरहेका छन्।

यही पाँच दशक लामो यात्राको स्वर्ण उत्सव मनाउँदै नाडाले यस वर्ष १८औँ संस्करणको अटो शो आयोजना गर्दैछ। आज  (भदौ ९ गते) देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने अटो शोमा २०० भन्दा बढी स्टल रहने बताइएको छ। मेलामा २३ वटा चारपाङ्ग्रे यात्रुवाहक ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक सवारीसाधन ब्रान्ड र १३ वटा दुईपाङ्ग्रे ब्रान्डको प्रत्यक्ष सहभागिता रहनेछ।

पाँच दशकअघि सीमित सवारीसाधन आयातकर्ता र व्यवसायीलाई समेटेर सुरु भएको संस्थाको यात्रा अहिले सयौँ स्टल र दर्जनौँ अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी हुने अटो शोसम्म आइपुगेको छ। त्यसैले यस वर्षको नाडा अटो शो अटोमोबाइलको प्रदर्शनी मात्र नभई नेपाली अटोमोबाइल क्षेत्रले तय गरेको पाँच दशकको यात्राको उत्सवका रूपमा समेत हेरिएको छ।