काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रका दुई दर्जनभन्दा बढी स्टार्टअपका युवा उद्यमीसँग आज छलफल गर्नुहुने भएको छ।
अर्थ मन्त्रालयको आयोजनामा ‘बजेट कार्यान्वयन संवाद शृङ्खला’ अन्तर्गत हुन लागेको छलफल अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
छलफलमा सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले बजेटमार्फत अघि सारेका नीति तथा कार्यक्रम, तिनको प्रभावकारी कार्यान्वयन र युवा उद्यमीले गरिरहेका प्रयासबारे छलफल हुने जनाइएको छ। साथै, सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले गर्नुपर्ने नीतिगत तथा व्यावहारिक सहजीकरणका विषयमा पनि छलफल हुनेछ।
कार्यक्रममा अर्थमन्त्री वाग्लेले सूचना प्रविधि क्षेत्रको विकास र प्रवर्द्धनका सम्बन्धमा सरकारको धारणा स्पष्ट पार्नुहुनेछ। त्यस क्रममा युवा उद्यमीहरूले आफ्ना अनुभव, समस्या, सम्भावना तथा सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा मौखिक र लिखित धारणा प्रस्तुत गर्ने अवसरसमेत पाउनेछन्।
सूचना प्रविधि क्षेत्रका स्टार्टअप तथा युवा उद्यमीका समस्या र सुझाव प्रत्यक्ष रूपमा सुनी आगामी दिनमा बजेट तथा नीति कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्यले संवाद आयोजना गरिएको हो।









