९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने



अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराहक्षेत्रलाई जोगाउन सरकारले विस्तृत अध्ययन गरी चरणबद्ध रूपमा नदी नियन्त्रण तथा संरक्षणका कार्यक्रम अघि बढाउने बताउनुभएको छ।

कोशी र मधेस प्रदेशमा ऊर्जा तथा जलस्रोतका आयोजना निरीक्षण तथा स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्ने क्रममा बराहक्षेत्र पुग्नुभएका मन्त्री श्रेष्ठले मन्दिरका पुजारी, जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीयवासीसँगको छलफलमा बराहक्षेत्र संरक्षण सरकारको प्राथमिकतामा रहेको बताउनुभयो।

मन्त्री श्रेष्ठले वर्षेनी कोशी नदीको कटान र नदीसँगै बगेर आउने गेग्रानका कारण बराहक्षेत्र धाम जोखिममा पर्दै गएको भन्दै संरक्षणका लागि आवश्यक प्राविधिक अध्ययन तत्काल अघि बढाउने जानकारी दिनुभयो।

‘बराहक्षेत्र धार्मिक आस्थाको महत्वपूर्ण धरोहर हो। यसलाई कोशीको कटानबाट जोगाउन सरकार गम्भीर छ,’ उहाँले भन्नुभयो, ‘मन्दिर व्यवस्थापन समितिले यसअघि गरेको अध्ययनलाई मन्त्रालयका विज्ञ तथा प्राविधिक टोलीबाट अध्ययन गराएर त्यसैका आधारमा काम गर्न सकिने भए तत्काल कार्य अघि बढाइनेछ। थप अध्ययन आवश्यक देखिए त्यसलाई समेत छिटो पूरा गरी नदी नियन्त्रणको कार्ययोजना कार्यान्वयनमा लगिनेछ।’

मन्त्री श्रेष्ठका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत सञ्चालित नदी नियन्त्रण तथा तटबन्ध कार्यक्रममार्फत बराहक्षेत्र संरक्षणका लागि आवश्यक संरचना निर्माण तथा नदी व्यवस्थापनका काम अघि बढाइनेछ।

छलफलमा सुनसरीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य सिर्जना श्रेष्ठले कोशी नदीको कटान तथा बाढीसँगै आउने गेग्रानका कारण बराह धाम, चतरा लगायतका क्षेत्रमा वर्षेनी क्षति भइरहेको भन्दै नदी नियन्त्रणलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गर्नुभयो।

त्यस्तै, मन्त्रालयका सचिव सरिता दवाडीले कोशी नदीको कटान नियन्त्रणका लागि सरकारले विभिन्न प्रयास गरिरहेको उल्लेख गर्दै बराहक्षेत्रको संरक्षणका लागि पनि योजनाबद्ध कार्यक्रम अघि बढाइने बताउनुभयो।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक डा. महेश्वर श्रेष्ठले मन्दिर व्यवस्थापन समितिले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) विभागले अध्ययन गर्ने जानकारी दिनुभयो। प्राविधिक अध्ययनबाट थप काम आवश्यक देखिए त्यसअनुसार नयाँ अध्ययन गरी बराहक्षेत्र संरक्षणका लागि तटबन्ध तथा नदी नियन्त्रणका संरचना निर्माण गरिने उहाँले बताउनुभयो।

कोशी र कोका नदीको संगममा अवस्थित बराहक्षेत्र नेपालको प्राचीन धार्मिक तथा सांस्कृतिक तीर्थस्थलमध्ये एक हो। भगवान् विष्णुले बराह अवतार धारण गरी पृथ्वीको उद्धार गरेको धार्मिक विश्वाससँग जोडिएको यस क्षेत्रको महिमा विभिन्न पुराण तथा धार्मिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ।

बराहक्षेत्रमा वर्षभरि देश तथा विदेशबाट श्रद्धालुहरू पूजाआजा तथा स्नानका लागि आउने गर्छन्। धार्मिक तथा पौराणिक महत्वसँगै सप्तकोशीको प्राकृतिक सौन्दर्यका कारण बराहक्षेत्र धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण गन्तव्यका रूपमा रहेको छ।