७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

नदेख्नु, नबोल्नु, नलेख्नु

नदेख्नु, नबोल्नु, नलेख्नु
अ+ अ-
सिंगो शासन प्रणालीलाई मुलुक र जनताको पक्षमा क्रियाशील हुनै नदिने अड्चनमाथि समग्र नेपाली समाज, बौद्धिक जमात र   आमसञ्चार  माध्यममा बहस नहुने अवस्थामा मुलुक कसरी पुग्यो ? देश समाचार शून्य छ । मुलुकमा समाचार माध्यम नभएका होइनन् । राष्ट्रिय स्तरकै तीन दर्जन ठूला भनिएका दैनिक छन् । त्यति नै संख्यामा टेलिभिजन च्यानल छन् । सयौं रेडियो स्टेसन र हजारौं अनलाइन समाचार पोर्टलहरू छन् । तर उनीहरू विरलैमात्र समाचार लेख्छन् ।नेताका भाषण, तिनका, गतिविधि र त्यसमाथिका प्रतिक्रिया । कुनै घटना, त्यसमाथिको प्रतिक्रिया, टिप्पणी वा प्रतिक्रियात्मक सम्पादकीय आदि । तर ती क्रिया–प्रतिक्रियाका कारकसम्मको खोज, अनुसन्धान र समाचार प्रस्तुतिको ऊर्जा, जाँगर र आवश्यकता नेपाली सञ्चार माध्यमले देखेका छैनन् ।
समाचारको तटस्थताको परिभाषा बदलिदिएको छ । माध्यम आफै निष्पक्ष बसेर समाचार दिनेभन्दा दुवै पक्षका केही उद्धरण हालिदिएपछि समाचार सन्तुलित हुन्छभन्ने परम्परा बनेको छ । सबै सञ्चार माध्यममा आउने खबरहरू एउटै समाचारका फोटोकपी जस्ता हुन्छन्, हरेक क्षण हरेक दिन । मानौं, त्यही सत्ता वरिपरिका गतिविधिको जानकारी मुलुक रूपान्तरणको मूलबाटो हो । नेपालमा नागरिक समाज र स्वतन्त्र बौद्धिकहरूको उपस्थिति छैन । भएका सञ्चार माध्यमको यो प्रवृत्तिले मुलुकका अहम् मुद्दाहरूमाथि आवश्यक बहसको दायरालाई साँघुर्‍याएको छ ।
अढाई दशकअघि एफएम रेडियोहरूलाई समाचारसम्म प्रसारण गर्न पाउनेगरी लाइसेन्स दिने सन्दर्भमा उच्च राजनीतिक वृत्तमा भएको एउटा छलफलको स्मरण हुन्छ । यस्तो अनुमतिको विपक्षमा रहेका केही प्रभावशाली नेताहरूको तर्क थियो, ‘यसरी सयौं रेडियोबाट समाचार प्रसारण हुने भएपछि उनीहरूबीच नयाँ समाचार दिने तीव्र प्रतिस्पर्धा हुन्छ र राजनीतिकर्मीका हरेक गतिविधिलाई समेटेर समाचार बन्छन् । कामै गर्न पाइँदैन ।’ तर ती नेताका आशंका सत्य सावित भएनन् ।
यी सबै सञ्चार माध्यमले नेताले चाहे अनुसारका मात्र समाचार दिने जुन परम्परा बसाले, त्यसले मुलुकको शासकीय निर्णयमा हस्तक्षेप गर्ने हैसियत राख्ने राजनीतिज्ञ, कर्मचारी, सुरक्षा अधिकारी वा व्यापारीहरूलाई बडो हाइसञ्चो भएको छ । कुनै पत्रकारले खोजमूलक ‘स्कुप’ मार्ला र अनेकौंमध्ये केही नेपाली ‘वाटरगेट’ काण्ड उदाङ्गिएलान् भन्ने रत्तिभर भय स्वार्थहरूको लेनदेनमा सत्ता चलाउने यी साझेदारहरूले लिनुपरेको छैन ।
प्रस्ट देखिएको जानकारी पनि बौद्धिक बहसमा ल्याउनुहुन्न, समाचारमा लेख्नुहुन्न भन्ने मान्यता बन्दै गएको छ । यस्ता बहस मूल मुद्दालाई ढाकछोप गर्न र जानी–नजानी दोषीलाई सहयोग पुग्ने प्रकारले प्रस्तुत हुन्छन् । उदाहरणार्थ, यतिखेर निर्मला पन्तको हत्यारा पत्ता नलागेको मुद्दा चर्चामा छ । सबै सञ्चार माध्यममा दोषी पत्ता लगाउन ‘नसकेको’मा सरकारको आलोचना छ, पत्ता लगाउन ‘नचाहेको’मा छैन ।

प्रहरीले दिएको जानकारी प्रचार गर्नु बाहेक कुनै पनि सञ्चार माध्यमले वास्तविक घटना कसरी भएको थियो र प्रमाण नष्ट गर्ने यस्तो ठूलो उद्यम कसको निर्देशन, योजना र स्वार्थमा गरिएको थियो भन्ने ‘समाचार’ खोज्ने आवश्यकतै ठानेन् । मानाैं, यो कुनै समाचार होइन । यसबाट सरकार र खासगरी अपराधी संरक्षण गरिरहेको राजनीतिक शक्तिलाई ठूलो राहत भएको छ ।

आम जानकारीको विषय हो, यतिखेर केपी ओली नेतृत्वको सत्ता चलाउने मुख्य निर्णायकमा आधा दजर्न दलाल व्यवसायी छन्, जो दैनिक बालुवाटार पुग्छन् । त्यसमा ओली निकटस्थ तीन मन्त्री र केही सल्लाहकार सामेल हुन्छन् । मुलुकका सबै ठूला निर्णय उनीहरू नै गर्छन् । यसमा ओलीलाई मात्रै दोष दिनु अन्याय हुनेछ । किनभने छमध्ये तीन व्यवसायी त यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि प्रधानमन्त्री निवासमा यसरी नै अड्डा जमाउँथे । यसले राज्य कसरी जनसरोकार विमुख भएर निर्णय गर्छ भन्ने समग्र चित्र दिन्छ ।

अर्को उदारहण, यो जमात नेपाल वायुसेवा निगमजस्तो संस्थामा दुइटा कार्यकारी प्रमुख राख्नमात्र सफल भएको छैन । नयाँ प्रमुखमार्फत अहिले विवादमा रहेका दुइटा वाइड बडी जहाजलाई ‘निगमले चलाउनै सक्दैन’ भन्ने प्रमाणित गरेर एउटा निजी कम्पनीलाई सस्तोमा भाडामा दिने प्रपञ्च छिट्टै सफल हुने प्रतीक्षामा पनि छन्, उनीहरू ।

‘सरकारले काम गर्न सकेन’ भन्ने मलुवा वाक्य घुसारेपछि त्यो मर्यादित वा बौद्धिक देखिन्छ भन्ने भ्रम छ । यस्तो शब्दजाल खडा गरिदिएपछि यी सबै दृश्य नदेखेभैंm गर्न सजिलो जो हुन्छ । यिनै वाइड बडी जहाज खरिदमा अनियमितता भएको कथाको गुह्य पनि खासै फरक छैन । सबैले जानेको विषय हो, जहाज किन्दा कमिसन आउँछ नै ।

बिक्रेताले दिने त्यस्तो कमिसन धेरै देशका कानुन अनुसार पूर्णत: वैध हो । यदि त्यस्तो कमिसन लिएकै कारण अनियमितता भएको मान्ने हो भने त जहाज नै किन्न भएन । किनभने, कारोबारको प्रकृति हेरी बिक्रेताले कुल मूल्यको डेढदेखि आठ प्रतिशतसम्म कमिसन दिनैपर्छ । खरिदकर्ता इमानदार भए प्रस्टसँग भन्न सक्नुपर्छ– यस्तो वैध कमिसन यति प्रतिशत तय भएको थियो र त्यति बराबरको रकम मूल्यमा नै कम गरेर खरिद भएको छ । तर अहिलेसम्म त्यो जानकारी सार्वजनिक भएको थाहा छैन ।

त्यसैले अनियमितता भएकै हो भनेर छानबिन अगाडि बढाउने र कमिसन खाएकै छैन भनेर खरिदको निर्णयकर्ता अधिकारीका अड्डी दुवै आडम्बरमात्र हुन् । यथार्थ होइनन् । वास्तविकता के हो ? जनताले जानकारी पाउने क्रियाशील माध्यम छैन ।

ठिक दस वर्षअघि ३ खर्ब ६५ अर्बको आयात हुँदा नेपालले करिब ६२ अर्ब रुपैयाँ बराबरको निर्यात गरेको थियो । अथवा निर्यात आयातको १७ प्रतिशतजति थियो । गत आर्थिक वर्ष १२ खर्ब ४३ अर्बको आयात हुँदा निर्यात केवल ८१ अर्ब रुपैयाँको मात्र भयो । निर्यात आयातको ६ दसमलव ५ प्रतिशतमा झर्‍यो । यतिखेर अर्थतन्त्रका बाह्य क्षेत्रसम्बद्ध सबै सूचकांकहरू जोखिम उन्मुख छन् ।

यिनका कारणहरूमाथि कतै बहस, चर्चा र विश्लेषण हुँदैन । तर जब अर्थमन्त्री यस्तो व्यापार घाटा चिन्ताको विषय होइन भन्छन्, त्योचाहिँ सबै माध्यमबाट प्रचार हुन्छ । नेपालको औद्योगिक, व्यापार र रोजगार नीति निर्माणमा हावी झाराटराइ र तिनको कार्यान्वयनको दुर्दशाका कारणबारे बहस हुने कुनै प्राज्ञिक मञ्च छैन । सरुवा, बढुवा सहितका सबै निर्णयमा अर्थ मन्त्रलायको ठाडो हस्तक्षेपले केन्द्रीय बैंकको स्वयत्तता जोखिममा परेको अनौपचारिक चर्चा बाक्लै छ ।

अर्थमन्त्रीको राष्ट्र बैंक पनि आफैं चलाउने नियत र राष्ट्र बैंकका गभर्नरको प्रतिरोधरहित आज्ञाकारिताका कारण ठूलो कसरतपछि २०५८ को ऐनले दिलाएको यो स्वयत्तता मासिंँदैछ । मुलुकका लागि यो दुर्भाग्य हो । तर यो कुरा बोल्न जानकार बौद्धिकहरूलाई आवश्यक लागेको छैन ।

आजभोलि अक्सर सुनिन थालेको छ, संघीयता नचल्ने भयो । किनभने, स्थानीय सरकारहरूले बजेट बनाउन र खर्च गर्न सकेनन् । प्रदेशहरूले आवधिक योजना बनाउन सकेनन् । संघीय सरकारको पुँजीगत खर्च आर्थिक वर्षको पहिलो त्रैमासमा ६ प्रतिशत पनि नाघ्न सकेन । आदि । सबै तहमा निर्वाचित प्रतिनिधि आए । कर्मचारी पनि ढिलो–चाँडो पुग्लान् । बजेट गएकै छ । खर्च हुन नसक्नु बेग्लै समस्या हो ।

तर पनि संघीय प्रणाली अपेक्षा अनुरुप चलायमान भएन । यथार्थ हो, यसरी संघीयता चल्दैन । यसमा आश्चर्य केही छैन । किनभने जबसम्म संघीय प्रणाली सञ्चालनका विशिष्ट अवयवहरूलाई राज्य सञ्चालनमा आन्तरिकीकरण (इन्टरनलाइज) गरिंँदैन, राजनीतिक नेतृत्व, कर्मचारी र बजेटको उपस्थितिले मात्रै संघीयता चल्दैन । तर मुलुकको बौद्धिक बहस यो दिशातर्फ फर्कनै चाहेको छैन ।

एकैचोटी सबै कुरा कहाँ भनेजस्तो छिटो हुन्छ ? सरकारमा बस्नेहरूको यो सर्वाधिक प्रयुक्त प्रतिरक्षात्मक भनाइ हो । यसभित्र मुलुकको आसन्न जोखिम लुकेको छ । अलि–अलि सिक्दै र घिस्रिंँदै यो प्रणालीलाई ‘अब चल्यो’ भन्नेसम्मको बनाउन सकिएला । तर फेरि उही घिस्रेर अघि बढ्ने गतिले मुलुकलाई वास्तविक समृद्धिको लक्ष्यमा विलकुलै पुर्‍याउन सक्दैन । त्यो जोखिमको चर्चा यतिखेर हामी गरिरहेका छैनौं ।

यस्ता अनगिन्ती विषय छन् । धर्म निरपेक्ष राष्ट्रको प्रधानमन्त्री इसाई धर्म प्रचारको अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्न नगई नहुने अदृश्य कारण के हो ? सत्य निरुपणलाई टुङ्गोमा पुग्नै नदिनेषड्यन्त्रकारी को हो ? माओवादीले लडाकुका नाममा लगेको अर्बौंको रकमको बेरुजु फस्र्योट भइसक्यो ? मुलुकमा प्रतिपक्षी दल पनि छ ।

तर यस्ता विषयमा प्रतिपक्ष पनि किन आवाजै उठाउन नसक्ने भएको छ ? यी आदि सिङ्गो शासन प्रणालीलाई मुलुक र जनताको पक्षमा क्रियाशील हुनै नदिने अड्चनहरूमाथि समग्र नेपाली समाज, बौद्धिक भनिएको जमात र आमसञ्चार माध्यममा समेत बहस नै नहुने अवस्थामा मुलुक कसरी पुग्यो ? यी विषयमा लेख्ने कुरा त परकै भयो, बोल्नसम्म पनि ‘सेल्फ सेन्सरसिप’को कसरत गर्नुपर्ने नेपाली गणतन्त्र अलौकिक नमुना त बन्दै छैन ?
(कान्तिपुर दैनिकबाट साभार)