११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री दिल्लीमा, इपिजीबारे मौन



अ+ अ-

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले १९५० को सन्धि परिमार्जनको सिफारिस गर्दै रिपोर्ट तयार गरेको पाँच महिनापछि भारतले दुई देशबीचको विशेष सम्बन्धको मजबुत आधार नै १९५० को सन्धि भएको जनाएको छ । विदेश मन्त्रालयले गत नोभेम्बरमा तयार गरेको प्रतिवेदनमा १९५० को सन्धिले दुई देशबीच विशेष सम्बन्धको आधार तयार गरेको उल्लेख छ । 

‘सन् १९५० को भारत–नेपाल शान्ति तथा मैत्री सन्धिले भारत र नेपालबीच कायम रहेको विशेष सम्बन्धको मजबुत आधार तयार गरेको छ । सन्धिअनुसार नेपाली नागरिकले भारतीय नागरिकसरह यहाँ (भारतमा) सुविधा र अवसर पाउँछन् । करिब ६० लाख नेपाली नागरिक भारतमा बस्छन् र काम गर्छन्,’ १२ बुँदामा समेटिएको विदेश मन्त्रालयको प्रतिवेदनको दोस्रो अनुच्छेदमा सन्धिको व्याख्या गरिएको छ । 

इपिजीले १९५० को सन्धि परिमार्जन र खुला सीमा व्यवस्थापनको सिफारिससहित गत असारमै प्रतिवेदन तयार गरे पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समय नमिलेको भन्दै बुझेका छैनन् । 

परराष्ट्रमन्त्री दिल्लीमा, इपिजीबारे मौन
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार दिल्ली पुगेर समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् । लगत्तै रायसिना डायलगलाई सम्बोधन गरेका छन् । भेटवार्ताबारे नेपाल र भारतले सार्वजनिक गरेको प्रेस नोटमा इपिजीको प्रतिवेदनबारे केही उल्लेख छैन । रायसिना डायलगमा पनि परराष्ट्रमन्त्री ज्ञवालीले भारतसँग सम्बन्ध सुदृढ भएको बताएका छन्, तर इपिजीबारे उल्लेख गरेका छैनन् । 

मन्त्रीस्तरीय आयोगको बैठक काठमाडौंमा, स्वराज आउने
ज्ञवाली–स्वराज वार्तामा परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक शीघ्र काठमाडौंमा बस्ने सहमति भएको छ । त्यसका लागि परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय समकक्षीलाई निमन्त्रणा गरेका छन् । 

११ कात्तिक ०७३ मा दिल्लीमा मन्त्रीस्तरीय बैठक बसेको थियो । बैठकमा नेपाल र भारतबीच राजनीतिक सुरक्षा र सीमा, आर्थिक सहयोग तथा पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत, संस्कृति तथा शिक्षा गरी पाँच विषयमा छलफल हुने गरेको छ । परराष्ट्र स्रोतका अनुसार पाँचौँ बैठक अघिल्लो महिना तय भए पनि भारतीय विदेशमन्त्री स्वराजको व्यस्तताका कारण भारतीय विदेश मन्त्रालयले पछि सार्ने प्रस्ताव गरेको थियो । 

‘परराष्ट्रमन्त्री ज्ञवालीले अर्को संयुक्त बैठकको सहअध्यक्षताका लागि विदेशमन्त्री स्वराजलाई निमन्त्रणा गर्नुभएको छ,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ, ‘विदेशमन्त्रीले निमन्त्रणा स्वीकार गर्नुभएको छ र दुवै मन्त्री चाँडै काठमाडौंमा बैठक बस्ने निर्णयमा पुग्नुभएको छ ।’ बिहीबारको बैठकमा कृषि, रेल्वे र इन्ल्यान्ड वाटरवेजसँग सम्बन्धित परियोजनाबारे छलफल भएको भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । यीबाहेक सीमापार रेलमार्ग परियोजना, हुलाकी सडक, जलविद्युत्, पूर्वाधारलगायत जारी परियोजना कार्यान्वयनको पछिल्लो अवस्थाबारे छलफल भएको थियो ।

नेपाल कुनै सैन्य गठबन्धनमा जाँदैन : परराष्ट्रमन्त्री
भारतीय विदेश मन्त्रालय र अब्जरबर रिसर्च फाउन्डेसनद्वारा आयोजित रायसिना डायलगलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने स्पष्ट पारेका छन् । ‘नेपाल शान्तिप्रिय देश हो र कुनै पनि प्रकारको सैन्य गठबन्धनमा सहभागी हुन अस्वीकार गर्दछ,’ ज्ञवालीले भनेका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग ३ पुसमा र बुधबार जापानका विदेशमन्त्री तारो कोनोसँग क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरेका ज्ञवालीले नेपालको धारणा स्पष्ट पारेका हुन् । 

ज्ञवालीले क्षेत्रीय सहकार्यमा नेपालले निरन्तर जोड दिँदै आएको उल्लेख गरेका छन् । ‘हामी सार्क र बिमस्टेकको थप सबलीकरणका पक्षमा छौँ, बिबिआइएन उपक्षेत्रीय सहकार्यको एजेन्डा कार्यान्वयनका पक्षमा छौँ,’ ज्ञवालीले भने । 

ज्ञवालीले नेपाल सधैँ नियममा आधारित तथा साना राष्ट्रको फाइदा हुने बहुपक्षीय विश्वप्रणालीको पक्षमा रहेको उल्लेख गरेका छन् । उनले संसार अहिले शान्तिपूर्ण हुँदै गएको, तर ठूला देशहरूको विकासभन्दा सैन्य खर्च बढ्दै गएकोमा पनि चिन्ता व्यक्त गरेका छन् । ‘भूराजनीतिक विवादमा संलग्न हुने स्रोत र क्षमता साना मुलुकहरूसँग छैन,’ ज्ञवालीले भने, ‘नेपालजस्ता साना देश सधैँ नियममा आधारित प्रणालीको पक्षमा छौँ जहाँ हाम्रा आवाज सुनियोस्, समस्या र चुनौती आत्मसात् गर्दै सहयोग प्राप्त हुने अवस्था होस् ।’ उनले वर्तमान यथार्थ झल्किने गरी संयुक्त राष्ट्रसंघजस्ता बहुपक्षीय संस्थाहरूको पुनर्संरचना हुनुपर्नेमा पनि जोड दिएका छन् ।

भारत–चीन सम्बन्ध राम्रो होस्, त्रिपक्षीय सहकार्य गरौँ
परराष्ट्रमन्त्रीले नेपालका छिमेकीद्वय भारत र चीनबीच सम्बन्ध सुमधुर हुँदा नेपालसहित एसियालाई नै फाइदा हुने बताएका छन् । उनले नेपाल, भारत र चीनबीच त्रिपक्षीय साझेदारी हुनुपर्ने र यसबाट सबैलाई फाइदा पुग्ने पनि उल्लेख गरे । 

‘जब यी दुई (भारत र चीन) एकैसाथ माथि उठ्नेछन्, एसियालाई नै माथि उठ्नबाट कसैले रोक्न सक्नेछैन,’ ज्ञवालीले भने । उनले गत वर्ष चीनको वुहानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको अनौपचारिक वार्तापछि सम्बन्ध सुदृढ हुँदै गएको पृष्ठभूमिसमेत उल्लेख गर्दै एउटाको प्रगतिलाई अर्काले खतरा मान्न नहुने बताए । 

‘हामी छिमेकमा साझा हित र समृद्धिका लागि सँगै काम गर्न सक्छौँ । हामीले तीन मुलुक (नेपाल भारत र चीन)बीच त्रिपक्षीय साझेदारीमा जोड दिँदै आएका छौँ,’ ज्ञवालीले भने, ‘यस्तो साझेदारीले हामीलाई थप भौतिक कनेक्टिभिटी, आर्थिक सहकार्य तथा जनस्तरको सम्पर्क वृद्धिमा सामेल गराउनेछ ।’  (नयाँपत्रिकामा लेखिएकाे छ)