९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

गोरु जुधाइ फैलँदै

गोरु जुधाइ फैलँदै
अ अ+ अ-

नुवाकोट । माघे संक्रान्तिको गोरु जुधाइ भन्नासाथ धेरैले सम्झने ठाउँ नुवाकोटको तारुका हो तर, तारुका मात्र नभई जिल्लामा गोरु जुधाइको क्षेत्र फैलँदै गएको छ । तारुकामा व्यवस्थित रुपमा गोरु जुधाउन थालेको पाँच वर्षपछि नुवाकोट र रसुवाको सीमा बेत्रावती ९नुवाकोट पट्टिको भू–भाग० मा गोरु जुधाउन शुरु भएको थियो । तर, अहिले जिल्लामा पञ्चकन्या गाउँपालिकाको पञ्चकन्या, लिखु गाउँपालिकाको कट्टिछाप र शिवपुरी गाउँपालिकाको शेराबगरमा समेत गोरु जुधाउन थालिएकोे छ ।

जिल्लाका विभिन्न स्थानमा गोरु जुधाइने भए पनि तारुका सबैको आकर्षणको क्षेत्र बनेको यहाँ आउने दर्शकको ओइरोले नै पुष्टि गर्ने तारकेश्वर गाउँपालिका–२ का वडाध्यक्ष तथा माघे संक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाका सल्लाहकार समरबहादुर आलेमगरले बताउनुभयो । “तारुकाको सिको गर्दै अन्यत्र पनि गोरु जुधाउने परम्पराको संरक्षण हुनु राम्रो हो,” उहाँले भन्नुभयो – “हामीले व्यवस्थित रुपमा गोरु जुधाइ कार्यक्रम थालेका कारण सबैमा संस्कृतिप्रति मोह बढेको हो ।” तारुकाको विभिन्न टोलमा हुने गोरु जुधाइलाई व्यवस्थित पारी २०६२ सालदेखि एकै थलोमा गर्न थालिएको हो ।

गोरु जुधाइ पश्चिम १ नम्बरको पुरानो परम्परा भएपनि पछिल्लो समय बिर्सन थालिएकामा तारुकाले पुनर्जागृत गरेको तारकेश्वर–४ बुधसिङका वडाध्यक्ष राममणि अधिकारी बताउनुहुन्छ । “हाम्रो भेगमा पहिले पहिले झिल्टुङ, रातमाटे, बधुसिङ, दाङसिङ, तारुकामा माघे संक्रान्तिमा गोरु जुधाउने गरिन्थ्यो, उता थानसिङ, चौघडातिर पनि गोरु जुधाउने गरिएको सुनिन्थ्यो,” उहाँले भन्नुभयो – “पहिलो आ–आफ्नो टोलमा सय÷पचास जनाबीच जुधाउने गरिन्थ्यो । न चर्चा हुन्थ्यो, न प्रचार । सबैतिर परम्परा नै लगभग हराइसकेका बेलामा तारुकाले व्यवस्थित रुपमा मेला नै सञ्चालन ग¥यो ।”

तारकेश्वर गाउँपालिका–२ तारुकाको गोरु जुधाइ मेलालाई गत वर्षदेखि गाउँपालिकाले समेत आफ्नो पालिकाको प्रमुख सांस्कृतिक पर्वको रुपमा मान्यता दिएर सहयोग गर्दैआएको छ । हजारौं दर्शकहरु आउने यो मेलालाई अझै व्यवस्थित गर्न गाउँपालिकाले ध्यान दिएको अध्यक्ष रमेश वस्तीले बताउनुभयो ।

यो वर्ष तारुकामा मात्र २३ हल गोरु जुधाउने तयारी भएको छ । गोरु जुधाउन ४६ जना किसानले नाम दर्ता गराएको संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीले बताउनुभयो । गोरु जुधाइ मेला सञ्चालनको तयारी पूरा भएको छ । मेला स्थलसम्म आउन सडकको मर्मत, पार्किङ स्थलको निर्माण, शौचालय, पिउने पानीको व्यवस्थासमेत गरिएको छ ।

गोरु जुधाइ मेलाको प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्ड, राष्ट्रिय खेलकूद परिषद्ले समेत सहयोग गरेको छ । मेलामा विजेता गोरु धनीलाई रु ६ हजार नगद र प्रमाणपत्र तथा उपविजेतालाई रु ४ हजार पुरस्कार दिइने छ । तारुकाको विभिन्न स्थानमा गोरु जुधाएर मनोरञ्जन लिने परम्परालाई २०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा सारिएको हो ।

पवित्र धार्मिक क्षेत्र तथा ऐतिहासिक थलो बेत्रावतीमा पनि गोरु जुधाउने तयारी पूरा भएको छ । यो वर्ष बेत्रावतीमा सात हल गोरु जुधाइने भएको आयोजक गोसाइकुण्ड युवा क्लबले जनाएको छ ।

बेत्रावतीमा नौ वर्षदेखि व्यवस्थित रुपमा हरेक वर्ष मकर संक्रान्तिमा गोरु जुधाइँदै आइएको छ । विदुर नपा–१० बेत्रावतीमा सञ्चालन हुने गोरु जुधाइमा नुवाकोट र रसुवाका किसानहरुसमेत आ–आफ्ना गोरु लिएर आउने भएका छन् । विजेता गोरुधनीलाई ३ हजार र उपविजेतालाई २ हजार ५०० प्रदान गरिने छ भने सहभागी गोरुधनीलाई एक हजार ५०० रुपैयाँ दिइने छ ।

बेत्रावतीमा २०६७ सालदेखि व्यवस्थित रुपमा गोरु जुधाउन थालिएको हो । परम्परागत रुपमा सयौं वर्ष अघिदेखि जुधाउने गरिएको भएपनि पछिल्लो समय यहाँका युवाले यसमा पहलकदमी लिएको हो ।

नयाँ स्थानमा पनि गोरु जुधाइ

पछिल्ला वर्षहरुमा जिल्लामा नयाँ नयाँ स्थानमा गोरु जुधाउने कार्यक्रम सञ्चालन हुन थालेको छ । केही वर्ष अघिदेखि पञ्चकन्याको घलेभञ्ज्याङमा शुरु भएको गोरु जुधाइ मेलाले यो वर्ष पनि निरन्तरता पाउने भएको छ । यो वर्ष आठ हल गोरु जुधाइने आयोजक नवप्रतिभा युवा समाजका अध्यक्ष शिवहरि विष्टले जानकारी दिनुभयो । “गोरु जुधाइको साथमा स्थानीय सांस्कृतिक कार्यक्रम र कृषि उपजको प्रदर्शनी समेतलाई स्थान दिइनेछ,” अध्यक्ष विष्टले भन्नुभयो – ‘माघे संक्रान्तिमा गोरु जुधाउने परम्परा पुरानै हो यहाँ पनि । पछिल्लो समय हराउँदै गएको परम्परालाई फेरि निरन्तरता दिइएको हो ।” प्रतियोगितामा पहिलो हुने गोरुधनीलाई रु १५ हजार, दोस्रो हुनेलाई रु १० हजार र सान्त्वना रु ५ हजार नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

पछिल्लो तीन वर्षदेखि घलेभञ्ज्याङमा गोरु जुधाइ कार्यक्रम सञ्चालन हुँदैआएको छ । घलेभञ्ज्याङमा गोरु जुधाइ परम्पराले निरन्तरता पाउँदा आन्तरिक तथा बाह्य पर्यटनमा समेत प्रबद्र्धन भएको जिल्ला खेलकूद विकास समितिका पूर्व अध्यक्ष राम थापाले बताउनुभयो । घलेभञ्ज्याङको गोरु जुधाइ कार्यक्रममा नेपाल पर्यटन बोर्डको समेत सहयोग छ ।

यो वर्षदेखि लिखु गाउँपालिकामा पनि गोरु जुधाइ शुरु हुने भएको छ । लिखु गाउँपालिका–३ कट्टिछापमा यो वर्ष सात हल गोरु जुधाउने तयारी भएको आयोजक नेपाल मगर सङ्घ लिखुका अध्यक्ष दिनेश आलेमगरले जानकारी दिनुभयो । उहाँका अनुसार यो भेगको थानसिङ क्षेत्रमा गोरु जुधाउने पराम्परा पुरानो हो तर, अचेल गोरु जुधाउन छाडिएको छ । स्थानीय झाँकी, मगर संस्कृतिको प्रदर्शनीसमेत गरेर गोरु जुधाइ कार्यक्रमलाई भव्य बनाउने योजना आयोजकको छ ।

यस्तै, जिल्लाको शिवपुरीको शेरा बगरमा पनि यो वर्ष गोरु जुधाइ तथा कृषि मेला आयोजना गरिएको छ । स्थानीयवासी दामोदर आचार्यका अनुसार यहाँ यो वर्ष दुई हल गोरु जुधाइने छ ।

नुवाकोटको तारुकासँग सिमाना जोडिएको साविकको खाल्डे गाविस हाल नीलकण्ठ नपा–५ को फ्याक्सेमा पनि केही वर्षदेखि गोरु जुधाउने कार्यक्रम सञ्चालन हुँदैआएको छ । तारुकाले व्यवस्थित रुपमा गरेको गोरु जुधाइको लोकप्रियता देखेपछि खाल्लेका युवा पनि गोरु जुधाइ मेला सञ्चालन गर्न हौसिएका हुन् । फ्याक्सेमा पाँच वर्षअघिदेखि गोरु जुधाउन थालिएको हो ।

गोरु पाल्न किसानलाई सकस

ठूलो बारीको पाटामा जुरे गोरु सिंगौरी खेल्दै जुधेको हेर्दा सबैलाई मज्जा आउछ तर, यी गोरु किसानले कसरी पालेर यसरी जुरे बनाए भनेर कमैले मात्र सोच्ने गर्छन् । आफ्नो गोरुले जितेमा पनि बढीमा रु ८/१० हजार रुपैयाँ मात्र पुरस्कार प्राप्त गर्ने किसानहरुले माघे संक्रान्तिका लागि जुधाउन कै लागि भनेर पाल्दा रु ३० हजार भन्दा बढी खर्च गर्छन् ।

पछिल्लो १२ वर्षदेखि निरन्तर गोरु जुधाउँदै आएका तारकेश्वर–२ आपचौरमा मदन श्रेष्ठका अनुसार जुधाउने गोरु तयार पार्न रु ३० हजार रुपैयाँ भन्दा बढी खर्च हुन्छ । जोत्न समेत प्रयोग हुने गोरुलाई वर्षभरि नै नियमित स्याहार त गरिन्छ नै । जुधाउने गोरुका लागि भने कात्तिक–मंसिर लागेपछि विशेष स्याहार गर्न शुरु गरिन्छ ।

जुधाउने गोरुलाई चामल, अण्डा, चना, मास, कोदो खुराकी दिइने तारुकाकै अर्का गोरुपालक किसान चुडाबहादुर बखरेल बताउनुहुन्छ । यो वर्ष जुधाउने गोरुका लागि उहाँले गोरुलाई मङ्सिरदेखि खुराकी दिँदै आउनु भएको छ । यो खुराकीमा दैनिक चार माना चामल, १२ मान ढूटोपिठो, एउटा अण्डा, तोरीको तेल सातामा एक लिटर, मास दैनिक एक पाउ, चना र पकाएको कोदो दैनिक दुई माना पर्छ । यसका अलावा पोषिलो घाँस त छँदैछ । टाँकीको घाँस, अझ विशेष गरी टाँकीको टाटो, वनमा पाइने अर्खु घाँस नियमित खुवाउनु पर्छ । घाँसपानी र सरसफाइमा विशेष ध्यान दिनुपर्छ । जुधाउने गोरुका थलो समेत अरु वस्तुको भन्दा बढी सफा चाहिन्छ । गोरुको जीउमा गोबरको फोहर नलागोस् भनेर बिहानदेखि बेलुकासम्म चनाखो भइरहनु पर्छ । फोहर भएमा पनि गोरुको ज्यान नबन्ने किसानहरुको भनाइ छ । जुधाउने गोरुलाई बलियो बनाउन नौनीसमेत खुवाइन्छ ।

आगामी दिन गोरु जुधाइमा मात्र सीमित नगरी स्थानीय उपजको प्रदर्शन समेत गरेर मेलामा विविधता थप्ने र त्यसबाट आयोजकलाई आम्दानीको बाटोसमेत खुल्ने वडाअध्यक्ष आलेमगरले बताउनुभयो ।

तारुकाको गोरु जुधाइ कार्यक्रममा सहआयोजक भएर तारकेश्वर गाउँपालिकाले सहयोग गर्दैआएको छ । बेत्रावतीमा गोरु जुधाइ कार्यक्रमलाई विदुर नगरपालिकाले रु १ लाख सहयोग गरेको छ । प्राप्त पछिल्लो जानकारीअनुसार नुवाकोटमा यो वर्ष जम्माजम्मी ४८ हल गोरु जुधाइँदैछ ।