१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

डुब्दै अलैँची किसान

डुब्दै अलैँची किसान
अ अ+ अ-


ताप्लेजुङ ।  अलैँचीको मूल्य बढेर प्रतिमन १ लाख २० हजार रुपैयाँमा कारोबार हुन थालेपछि ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङका कृषक रनबहादुर सार्की हौसिनुभयो । झण्डै सात लाख रुपैयाँ लगानी थपेर उहाँले अलैँची खेती विस्तार पनि गर्नुभयो । साहुबाट महङ्गो ब्याज दरमा ऋण लिनुभएका सार्कीले ६ लाख रुपैयाँ जति त सिँचाइ पाइप खरिद मै खर्चिनुभयो । बाँकी रकमले बिरुवा किनेर धान उत्पादन हुने खेतमा अलैँची लगाउनुभयो तर, सोचे जस्तो भएन । 

सधैं २५ मुरी भन्दा बढी धान फल्ने खेतमा अलैँची रोपेपछि उहाँ चामल खरिद गर्न थाल्नुभयो । अलैँची फल्छ, अनि बेचेरै साहुको ऋण तिरौँला भनेर दिनरात खट्नुभएका सार्कीलाई त्यही अलैँची खेतीले बसाइँ हिँडायो । अहिले उहाँ नुवाकोटमा गएर गुजारा चलाउँदै आउनुभएको छ । “न अलैँची राम्रो फल्यो, न त मूल्य नै राम्रो भयो, दिनानुदिन ऋण माथि ऋण थपिँदै गएपछि विकल्प खोज्न परिवारसहित नुवाकोटमा गएर काम गरिरहेको छु,” सार्कीले भन्नुभयो । 

उहाँले थप्नुभयो – “उसबेला साहुबाट लिएको ऋणको साँवा र ब्याज हिसाब गर्दा झण्डै १५ लाख पुगेछ । यसपालि बल्लतल्ल डेढ मन अलैँची फलेछ । अहिलेको भाउ अनुसार ५० हजार पनि आउँदैन । के ले ऋण तिर्ने ? होश उडिसक्यो ।” 

त्यही ठाउँका राजकुमार भट्टराईलाई खेत मासेर अलैँची खेती गरे यता दिनरात पिरलो छ । वर्षभर पुग्ने अन्नपात उब्जने खेतमा राम्रो आम्दानी हुने सपना देखेर अलैँची रोपे तर, भाउ नहुँदा र उत्पादन समेत नहुँदा उहाँलाई पिरलो भएको हो । “झण्डै तीन लाख रुपैयाँ ऋण गरेर सिँचाइको व्यवस्था गरेँ, अलैँची राम्रो फलेन, भाउ पनि फेदैमा पुग्यो, अलैँची खेती निल्नु न ओकल्नु भयो,” भट्टराई भन्नुहुन्छ । भाउ बढेकै बेला किसान यसको खेतीमा आकर्षित हुन थाले पछि फुङलिङ नगरपालिका बस्दै आउनुभएका भिङ्मारे लिम्बुमा बिरुवा बेचेरै आम्दानी गर्ने सोच पलायो र अलैँची नर्सरी गर्न थाल्नुभयो । पछिल्लो समयमा गरेको लगानी त्यसै खेर जाने भए पछि उहाँमा पनि चिन्ता थपियो । यी त सीमित क्षेत्रका किसानका मात्रै कथा हुन् । जिल्लाभरकै अलैँची किसानको कथाव्यथा उस्तै उस्तै छ । केही वर्ष अघि प्रतिमन १ लाख २० हजार रुपैयाँसम्म मूल्य आउँदा हौसिएर अलैँची खेतीमा लगानी गरेका किसानको काँधमा ऋणको पोको झुण्डिन पुगेको छ । वर्षभर खान पुग्ने अन्नपात उब्जाउ हुने खेतबारी अलैँची र जङ्गलले ढाकिएका छन् । खेतबारी नै मासेर बसेका किसानका घरमा झापादेखिका व्यापारीले धान लगेर बेच्न थालेका छन् । कुनै समय तिनै किसान आफैंले उत्पादन गरेको धान बेचेरै गुजारा चलाउँथे । एक्कासि मूल्य बढेर क्रमशः ओरालो लागेपछि आफूहरु मारमा परेको कृषकहरु बताउँछन् । प्रतिमन एक लाख २० हजार रुपैयाँको हिसाब गरेर लगानी गरेका उनीहरुमाथि समस्याको पहाड आइलागेकोे छ – मूल्य ओरालो लाग्दै गएर २५–३० हजार रुपैयाँमा झरेपछि । 


व्यापारीलाई पनि चिन्ता 

अलैँचीको मूल्यमा हुने उतारचढावले किसान मात्रै हैन अलैँची व्यापारी समेत हैरान छन् । छोटो छोटो अवधिमा मूल्यमा आउने उतारचढावले उनीहरु समस्यामा परेका हुन् । मूल्य स्थिर नहुँदा खरिद बिक्री गर्न नै समस्या हुने गरेको अलैँची व्यापारी बुद्ध दाहालले बताउनुभयो । “किसानबाट एउटा मूल्यमा लिएको अलैँची कहिले घाटामा कहिले नाफामा बेच्नु पर्छ, प्रायः नाफा भन्दा घाटा धेरै हुन्छ,” दाहाल भन्नुहुन्छ । अलैँचीको मूल्य बढ्दा किसानलाई दिएको ऋण उठाउनै पर्ने बाध्यताले पनि घाटा सहेर कारोबार गर्नुपरेको व्यापारीहरु बताउँछन् । अलैँची कै कारोबारले टाट पल्टिएर व्यवसायबाटै पलायन हुनेदेखि ठूला शहरमा घर बनाउनेसम्मका व्यापारी छन् । मूल्यमा आउने उतारचढावले किसानलाई मानसिक समस्यामा पारेको छ भने व्यापारीलाई आर्थिक रुपमै डुबाउने र उकास्ने गरेको छ । ठूला व्यापारी सिधै भारतका व्यापारीसँग कारोबार गर्छन् भने साना व्यापारी बिर्तामोडका व्यापारीसँग । भारत, बिर्तामोड जता लगे पनि नेपाली अलैँचीको बजार भारत मात्रै हो । साना ठूला दुवै व्यापारी भारतीय व्यापारीकै भर हुन्छन् । अलैँची व्यवसायी महासङ्घ ताप्लेजुङका अध्यक्ष बालमणि बरालले भन्नुभयो “भारतीय व्यापारीले जे भन्यो त्यही ठिक हुन्छ । आज एउटा मूल्य भन्या छ, अर्को दिन तुरुन्तै फेरिन्छ । उनीहरुसम्म अलैँची पु¥याएर कारोबार गर्न सहज छैन ।” भारतकै मात्र भर पर्नुपर्ने भएकाले पनि नेपालका अलैँची व्यवसायीलाई यसको कारोबारमा समस्या हुने गरेको छ । 

यता, पछिल्लो समयमा ताप्लेजुङमा अलैँचीको कारोबार घटेको व्यवसायीहरु बताउँछन् । केही दिन यता कारोबार प्रायः ठप्प बनेको अध्यक्ष बरालले बताउनुभयो । उहाँले भन्नुभयो – “बिर्तामोडका साहुले लिँदैनन् । सबै व्यापारीको गोदाम अलैँचीले भरिएको छ । हामीले किसानसँग हाताहाती कारोबार गर्नुपर्छ । किसानबाट लिँदालिँदै भएको पैसा सकियो । के ले कारोबार गर्ने ?” उहाँका अनुसार भारततर्फ निकासी कमै भइरहेकाले नेपालको अलैँची गोदाम मै थन्किरहेको हो । निकासीमा समस्या भएको व्यापारीहरुको भनाइ छ । कतिपय व्यापारीले भने पछिल्लो समयमा मूल्य निरन्तर ओरालो लागिरहेकाले घाटामा पर्ने डरले किन्नै छाडेका छन् । पछिल्लो तीन साता यता मूल्य निरन्तर घटिरहेको छ । मङ्सिरमा प्रतिमन २९ हजारमा कारोबार भएको अलैँचीको मूल्य अहिले आएर २६–२७ हजार रुपैयाँमा झरेको छ । 

नेपाल बाहेक अन्य मुलुकहरुमा समेत अलैँची उत्पादन हुन थालेपछि नेपाली अलैँचीको अन्तर्राष्ट्रिय बजार खुम्चिएको बताइन्छ । यो वर्ष अलैँची किन्न भारतका व्यापारी पनि कमै आएका छन् । 


सरकारसँग गुनासो 

नेपालको अर्थतन्त्रमा ठूलो योगदान रहेको अलैँचीको बजारीकरणमा राज्यले पर्याप्त चासो नदिएको व्यवासायीहरु बताउँछन् । अध्यक्ष बालमणि बरालले भन्नुभयो – “अलैँचीको नेपालको अर्थतन्त्रमा ठूलै हिस्सा रहे पनि यसको बजारीकरणमा भने राज्यले आँखा चिम्लिदिएको छ ।” उहाँले थप्नुभयो – “भारत बाहेकका तेस्रो मुलुकसम्म नेपाली व्यापारीको पहुँच छैन । भारतका व्यापारीले जे मूल्य तोक्छन् त्यही अनुसार नेपालमा मूल्य निर्धारण हुने गरेको छ ।” 

राज्यले अलैँची खेती प्रर्वद्धनका लागि स्पष्ट नीति नबनाइदिएकाले समस्या भएको उहाँको ठम्याइ छ । सरकारले अन्तर्राष्ट्रिय स्तरसम्म अलैँचीको बजारीकरण गरिदिन सहयोग गर्नुपर्नेमा व्यवसायीको जोड छ । 

अलैँची खेतीको प्रर्वद्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट ठूलै लगानी हुने गरेको तर बजारीकरणमा भने गम्भीर नभएको व्यवसायीको गुनासो छ । भारत बाहेकका तेस्रो मुलुकमा समेत अलैँचीको कारोबार हुने वातावरण मिलाउन सके भारतका व्यापारीको मनोमानीबाट मुक्ति मिल्ने विश्वास व्यवसायीको छ । किसानले गरेको लगानी र व्यवसायीले मोलेको खतरालाई राज्यले गम्भीर रुपमा नलिएकामा उनीहरुको दुःखेसो छ । 

पहाडी भेगबाट झापाको बिर्तामोड हुँदै भारतीय बजारसम्म अलैँची पु¥याइन्छ । नेपालमा उत्पादित ९० प्रतिशत अलैँची भारत निर्यात हुने गरेको छ । मसला बनाउन प्रयोग गरिने अलैँचीको खास बजार भने खाडी मुलुक हो । भारतको नयाँ दिल्ली हुँदै दुबई, साउदी अरब, कतार, बहराइन जस्ता खाडी मुलकमा पठाइन्छ । केही परिमाण पाकिस्तान पनि जान्छ । नेपालमा यसको बजार छैन । नेपाली व्यापारीहरु तेस्रो मुलुकमा निर्यात गर्ने सामथ्र्य राख्दैनन् । नेपालमै प्रशोधनको कुनै उपाय पनि खोजिएको छैन । आफ्नै देशमा प्रशोधन नहुँदा यो उपज सस्तोमा बेच्नुपर्ने बाध्यता छ ।