१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भवन नहुँदा कामकाजमा समस्या



अ+ अ-

डोटी । दुई नगरपालिका र सात गाउँपालिकासहित नौ स्थानीय तहमा आफ्नो भवन नहुँदा कामकाज गर्न समस्या भएको छ । कार्यालय भवन नहुँदा भाडाका घरमा कार्यालय चलाउनुपर्ने बाध्यता छ ।

दिपायल सिलगढी र शिखर नगरपालिकाको आफ्नो कार्यालय भवन भए पनि अन्य वडामा भवन नहुँदा कर्मचारीले भाडाका घरमा कार्यालय राखेर कामकाज गर्दै आएका छन् । गाउँपालिकाले आफ्नो भवन निर्माण गर्न सकेका छैनन् । आफ्नै भवन नहुँदा स्थानीय तहको कामकाजमा समस्या हुँदै आएको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “भवन बनाउने निर्णय त गरेका छौँ, सबैलाई पायक पर्ने ठाउँमा जमीन नपाउँदा समस्या भएको छ ।”

जिल्लाका सायल, आदर्श, पूर्वीण्चौकी र बडीकेदार गाउँपालिकाले अहिलेसम्म आफ्नो भवन बनाउन सकेका छैनन् भने बोगटान, जोरायल तथा केआइसिंह गाउँपालिकाले तत्कालीन गाउँ विकास समितिकै भवनमा कामकाज चलाउँदै आएका छन् । गाउँपालिका सञ्चालनका लागि ती भवनमा पर्याप्त मात्रामा कोठा नहुँदा कामकाजमा समस्या हुने गरेको जोरायल गाउँपालिका कार्यकारी प्रमुख समिर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “भवन सानो छ, कोठा पर्याप्त नहुँदा कठिनाइ भएको छ ।” यहाँका कतिपय स्थानीय तहका भवन काहाँ राख्ने भन्ने विषयमा स्थानीयवासीबीच विवाद हुँदा भवन निर्माण गर्न समस्या भएको सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनुभयो ।