१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीः काभ्रेका ४१ अझै सम्पर्कविहीन, आठ जना परिवारको सम्पर्कमा खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे शिक्षक हत्याः आरोपितको नामावली सार्वजनिक कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ



अ+ अ-

काठमाडौं । ललितपुरस्थित द प्लाजामा २०८३ भदौ १४ गतेको साँझ अरू साँझझैँ थिएन। हल खचाखच थियो, तर त्यहाँ उत्सवको उल्लास थिएन। देश शोकमा डुबेको बेला बाढीपहिरोमा ज्यान गुमाएका, आफन्त गुमाएका र अझै बेपत्ता रहेकाहरूको पीडाले वातावरण भावुक बनेको थियो। त्यही पीडाबीच जीवन, मृत्यु, भय, तनाव र मानव अस्तित्वबारे चिन्तन गर्न सद्गुरुको उपस्थितिमा आयोजना गरिएको कार्यक्रम शोकसभा र आध्यात्मिक संवादजस्तै बनेको थियो।

नेपालमा आएको विनाशकारी बाढीपहिरोका कारण देश शोकमा रहेका बेला सद्गुरुको आगमनले कार्यक्रममा उपस्थित धेरैलाई आफ्ना पीडा र बेचैनीलाई केही समय भए पनि आत्मसात् गर्ने अवसर दिएको अनुभूति हुन्थ्यो। जीवनदर्शन र जीवन जिउने कला सिकाउने व्यक्तित्वका रूपमा सद्गुरुको उपस्थितिमा मानिसहरू जीवन र मृत्युको रहस्य, मानसिक अशान्ति, तनाव र मानवीय संवेदनाबारे गहिरो कुरा सुन्न भेला भएका थिए।

हरेक मानिसको जीवनमा कुनै न कुनै प्रकारको तनाव हुन्छ। कसैलाई धनको चिन्ता, कसैलाई प्रेमको, कसैलाई भविष्यको त कसैलाई आफ्नो अस्तित्व र सम्बन्धको। तनाव र मानसिक अशान्ति मानवीय जीवनको अभिन्न हिस्सा जस्तै बन्दै गएको अवस्थामा सद्गुरुले जीवनलाई फरक दृष्टिकोणबाट हेर्न आग्रह गरे।

कार्यक्रमको सुरुवातमै केही दिनअघि नेपालमा गएको भीषण बाढीको प्रसंग उठेपछि हलमा सन्नाटा छाएको थियो। जलवायु परिवर्तनका कारण नेपाललगायत हिमाली मुलुकहरूमा आगामी दिनमा यस्ता विपद्का घटना अझ बढ्न सक्ने संकेत गर्दै उनले यसको सामना गर्न एउटा देशको मात्र प्रयास पर्याप्त नहुने र बहुदेशीय संयन्त्र तथा सहकार्य आवश्यक रहेको बताए।

त्यसपछि सुरु भएको प्रश्नोत्तर सत्र झन् भावुक बन्यो। मनिषा कोइरालालगायत सहभागीले जीवन, मृत्यु, भय, मानसिक अशान्ति, युवा पुस्तामा बढ्दो तनाव र मृगतृष्णाजस्ता विषयमा गहिरा प्रश्न राखे। सद्गुरुले सहज शैलीमा उत्तर दिँदै जीवनका यथार्थलाई स्वीकार गर्न आग्रह गरे। कतिपय क्षणमा उनको आँखामा समेत आँसु देखिन्थ्यो।

उनको एउटा भनाइ—‘म तपाईंहरूलाई राम्रो लाग्ने कुरा बोल्दिनँ, तर जीवनको यथार्थ सत्य जे हो, त्यही बोल्छु’कार्यक्रमको गम्भीरतालाई झन् गहिरो बनाउने वाक्य बन्यो।

‘यो जेनेरेसन र त्यो जेनेरेसन’ भन्दा हामी सबै एउटै पुस्ता

जेन–जी पुस्तामा भय, तनाव र मानसिक पीडा किन बढ्दै गएको भन्ने प्रश्नमा सद्गुरुले पुस्तालाई छुट्याएर हेर्ने प्रवृत्तिमाथि प्रश्न उठाए। उनका अनुसार संसारमा अहिले जीवित रहेका सबै मानिस मूलतः एउटै पुस्ताका सदस्य हुन्। आफूलाई अरूभन्दा फरक, असल वा विशेष सावित गर्ने होडले मानिसलाई थप अशान्त बनाइरहेको उनको भनाइ थियो।

मानसिक अशान्ति बाहिरबाट मात्र आउने कुरा नभई धेरै हदसम्म मानिसकै सोच र व्यवहारबाट उत्पन्न हुने उनको तर्क थियो।

संसारका सबै भौतिक तत्व नाशवान् छन्, आत्मा अमर छ भन्ने आध्यात्मिक दृष्टिकोण प्रस्तुत गर्दै उनले मानिसले भविष्यको स्वर्ग खोज्ने क्रममा वर्तमान जीवनलाई नै स्वर्ग बनाउने अवसर गुमाइरहेको बताए।

मृत्यु शाश्वत सत्य हो

कार्यक्रमको सबैभन्दा भावुक क्षण त्यतिबेला आयो, जब एक सहभागीले आफ्नी बहिनी गुमाएको र साना बालबालिकाले आमा गुमाएको पीडा सुनाउँदै मृत्यु यति निर्दयी किन हुन्छ भन्ने प्रश्न गरे।

त्यो प्रश्नले हलको वातावरण स्तब्ध बनायो।

सद्गुरुको उत्तरको सार थियो—मृत्युबाट कोही पनि उम्कन सक्दैन। आफूलाई जति नै शक्तिशाली, तपस्वी, साधु वा आध्यात्मिक व्यक्तित्व ठाने पनि मृत्यु सबैका लागि समान सत्य हो।

उनले उदाहरण दिँदै भने, बाढी २४ घण्टा पछि आएको भए आफू पनि त्यसको चपेटामा पर्न सक्ने थिएँ। राजा होस् वा रंक, धनी होस् वा गरिब, साधु होस् वा सामान्य व्यक्ति—मृत्युले कसैलाई भेदभाव गर्दैन।

त्यसैले घमण्ड किन गर्ने? झगडा किन गर्ने? अरूको चित्त किन दुखाउने? भन्ने प्रश्न उनले उपस्थित सबैसामु राखे।

रूप, पद र प्रतिष्ठा सबै क्षणिक

मानिस आफ्नो रूप, पद, प्रतिष्ठा र सम्पत्तिमा गर्व गर्छ। तर यी सबै क्षणिक रहेको स्मरण गराउँदै सद्गुरुले जीवनको वास्तविक मूल्य कर्म, प्रेम, करुणा र मानवीय व्यवहारमा रहेको सन्देश दिए।

भगवान् कृष्णको ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ भन्ने शिक्षालाई स्मरण गर्दै कर्ममा केन्द्रित हुनुपर्ने उनको धारणा थियो।

उनका अनुसार जीवन जिउने प्रमुख आधार क्षमा, दया, माया र करुणा हुन्। अरूप्रति प्रेम र सहयोगको भावना राखेर बाँच्न सके जीवनको तनाव र अशान्ति धेरै हदसम्म कम गर्न सकिन्छ।

धर्मभन्दा महत्वपूर्ण धार्मिक आचरण

सद्गुरुले धर्मलाई केवल पूजा, जप वा धार्मिक कर्मकाण्डमा सीमित नगर्न आग्रह गरे। भगवान्को नाम जपेर मात्र नहुने भन्दै उनले धार्मिक आचरण, संस्कार र व्यवहारमा त्यसको प्रभाव देखिनुपर्ने बताए।

मानिस संसारमा खाली हात आउँछ र खाली हात नै जान्छ। त्यसैले जीवनको यात्रामा प्रेम बाँड्ने, खुसी साट्ने र सबैसँग मिलेर बाँच्ने प्रयास गर्नुपर्ने उनको सन्देश थियो।

गुरुको वाणी सुनेर केही समय भावुक हुने, आँसु झार्ने र आफूले जीवनको तत्वज्ञान पाएँ भन्ने अनुभूति गर्ने तर कार्यक्रमबाट बाहिरिएपछि फेरि उही आसक्ति, क्लेश, दुर्भावना र अनैतिक आचरणमा फर्किने हो भने वास्तविक परिवर्तन सम्भव नहुने उनको संकेत थियो।

‘डरबाट होइन, चुनौतीसँग लडेर बाँचौँ’

कार्यक्रमको अन्त्यतिर सद्गुरुको एउटा प्रतिबद्धताले धेरैको ध्यान खिच्यो—‘I promise to face such challenges again and again.’

मानसरोवर २१ पटक पुगेको र अझै जाने इच्छा रहेको प्रसंग जोड्दै उनले कठिनाइ र चुनौतीबाट भाग्ने होइन, त्यसको सामना गर्दै अघि बढ्नुपर्ने भाव व्यक्त गरे।

सायद द प्लाजाको त्यो भावुक साँझको मूल सन्देश पनि यही थियो—जीवन क्षणिक छ, मृत्यु शाश्वत छ; त्यसैले भय, घृणा, ईर्ष्या र अहंकारमा होइन, प्रेम, करुणा, क्षमा र मानवीयतामा जीवन बाँचौँ।

देश विपत्तिमा परेको बेला आँसु र पीडाबीच सम्पन्न त्यो साँझले उपस्थित धेरैलाई केही समय आफ्नै जीवन, मृत्यु र व्यवहारतर्फ फर्केर हेर्न बाध्य बनायो।

द प्लाजाको त्यो साँझ केवल एउटा कार्यक्रम थिएन; त्यो शोक, संवेदना, जीवनदर्शन र आत्मचिन्तनको भावुक संगम थियो।