८ पुष २०८२, मंगलवार
,
Latest
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर अध्यक्ष थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुभारम्भ नहुँदै घरबासमा आन्तरिक पर्यटक



अ+ अ-

दमौली । औपचारिक शुभारम्भ नहुँदै तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीस्थित घरबास (होमस्टे) मा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ ।

घरबाससम्बन्धी तालीम लिएर बसेका स्थानीय आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेपछि खुशी भएका छन् । फागुनभित्रै औपचारिक रुपमा उद्घाटन गर्ने तयारी गरिएको घरबासमा देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक आउन थालेको पाथर्दी घरबास व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले बताए ।

“तालीमसमेत सम्पन्न भई औपचारिक उद्घाटनको तयारीमा रहेका छौँ”, उनले भने, “तर यतिबेला देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक यहाँ आउन थालिसक्नुभएको छ ।” सञ्चारमाध्यमबाट प्रचारप्रसार भएपछि झापादेखिका आन्तरिक पर्यटक केही दिनअघि मात्रै आएर घरबासमा रात बिताएको आलेले जानकारी दिए । उनका अनुसार झापाका विभिन्न पाँच वटा सहकारीका सदस्यले एक रात घरबासमा बिताएका थिए ।

त्यस्तै धादिङ, स्याङ्जा र तनहुँकै विभिन्न ठाउँबाट समेत पर्यटक घरबासमा आउने गरेका छन् । आलेका अनुसार विदेशीको एक टोलीले समेत यहाँ बास बसिसकेको छ । त्रिभुवन विश्वविद्यालयबाट वन विज्ञान अध्ययनरत विद्यार्थीको एक टोली एक हप्ताको लागि यहाँ आउने तयारी गरेको आलेले जानकारी दिए ।

यहाँको १० घरमा घरबासको व्यवस्था गरिएको छ । घरबासमा आउने पर्यटकलाई स्वागत सत्कारदेखि खानाको परिकार बनाउनेलगायतका तालीम स्थानीयले लिइसकेका छन् । केही दिनअघि मात्रै खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले समेत खाद्य स्वच्छतासम्बन्धी तालीम सम्पन्न गरिसकेको छ ।

यस ठाउँमा एकै दिनमा ३० सम्मले बास बस्न सक्ने क्षमता छ । यहाँ आउने पर्यटकलाई प्राङ्गारिक खाना खुवाउने गरिएको छ । अध्यक्ष आलेका अनुसार पर्यटकलाई भट्ट, कोदोको रोटी, ढिडो, लोकल कुखुरा, निउरोलगायतका खानेकुरा दिइन्छ । एक छाक सादा खाना र एक छाक मासु खाना र बास बसेको रु एक हजार २०० लिइने उहाँले बताउनुभयो । पर्यटकलाई रातको समयमा स्थानीयले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गर्ने गरेका छन् ।

भिमाद नगरपालिका–९ का वडाध्यक्ष इमान थापाले वडालाई पर्यटन र कृषिबाट समृद्ध बनाउने गरी योजना बनाइएको जानकारी दिए । यस ठाउँमा रहेका सिद्धगुफा, चुलिडाँडा, इन्द्र झरनालगायतलाई एउटै मार्गमा जोड्दै पर्यटन पूर्वाधारको लागि अध्ययनसमेत गरिएको छ । त्रिभुवन विश्वविद्यालयका वन्यजन्तुविद् डा हरि शर्मा र वनस्पति एवं जडीबुटी विज्ञ डा रिपु कुँवरको नेतृत्वमा यहाँ अध्ययन गरिएको थियो ।

सोही ठाउँमा रहेको इन्द्र झरनामा व्यावसायिक क्यानोनिङ सञ्चालनका लागिसमेत तालीमको आयोजना गर्न लागिएको छ । घरबास व्यवस्थापन समितिका अध्यक्ष आलेका अनुसार नेपालभरिका प्रशिक्षक बोलाएर यहाँ तालीम गर्ने तयारी गरिएको छ ।