१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसले लिङ्गकै कारण सिंहासनमा बस्न पाउँदिनन् !



अ+ अ-

जापानी सम्राटकी छोरी राजकुमारी आइको बुधबार २० वर्ष पुगेपछि औपचारिक रूपमा वयस्क हुने जापान टाइम्सले जनाएको छ। रोयल सेन्ट्रलका अनुसार सम्राट नारुहितो र उहाँकी पत्नी साम्राज्ञी मासाकोका एक मात्र सन्तान आइको हाल टोकियोको गाकुशुइन विश्वविद्यालयमा जापानी साहित्य अध्ययन गरिरहेकी छिन् ।

उनको जन्मदिन स्कूले साताको बीचमा परेकोले परम्परागत आगमनको उमेर समारोह आइतबार हुनेछ । जापानी अनलाइन म्यागजिन निप्पोन डटकमका अनुसार आइकोले जापानमा हालको नागरिक संहिताअन्तर्गत २० वर्षको उमेरमा हुने वयस्कताका बारेमा आगामी मार्च २०२२ मा पत्रकार सम्मेलन आयोजना गर्नेछिन् । 

शाही परिवारले जन्मोत्सव मनाउने तयारी गरिरहेका बेलामा आइकोको वयस्कतामा जाने अवस्थाले एउटा मुख्य मुद्दालाई सम्झना गराउनसक्छ जसलाई जापानको शाही परिवारले झेलिरहेको छ । अक्टोबर २६ मा आइकोकी काकाकी छोरी माकोको विवाहका बेला जापानको शाही परिवारले उसको आधुनिक इतिहासमा सम्भवतः सबैभन्दा धेरै छानबिनको सामना गर्नुपर्यो । माकोका पति केई कोमुरोसँगको सम्बन्धलाई विवादास्पदका रुपमा हेरिएको थियो किनकी उनकी आमा पूर्व पार्टनरसँग वित्तीय विवादमा संलग्न थिइन् । न्यूयोर्क टाइम्सका अनुसार सो मामिलाले उनी सुन खन्ने मानिस थिए भन्ने जनतामाझ आक्षेप लागेको थियो । 

इम्पेरियल रोयल हाउस अहिले पनि पुरुष वरियता भएको ज्येष्ठाधिकार प्रणालीअन्तर्गत सञ्चालित छ । जसको अर्थ पुरुष उत्तराधिकारी मात्र सिंहासनमा बस्न पाउँछ । त्यसको ठीक विपरीत जापानमा शाही परिवारका महिलाहरूले देशको १९४७ इम्पेरियल हाउस कानूनअन्तर्गत ‘सामान्य व्यक्तिहहरुसँग’ विवाह गर्दा परिवारमा आफ्नो पद र हैसियतलाई पूर्णरूपमा त्याग्नु पर्दछ । 

दोस्रो विश्वयुद्धदेखि यता शाही परिवारका सदस्यहरूको सङ्ख्या ६७ बाट घटेर १७ मात्र भयो । अहिले उत्तराधिकारीको लाइनमा तीन जना मात्र बाँकी छन् : माकोका बुबा राजकुमार फुमिहितो (५५), उनका छोरा राजकुमार हिसाहितो (१५) र वर्तमान सम्राटका काका राजकुमार हिताची (८५) । 

सेन्सु विश्वविद्यालयका प्राध्यापक कुमितो नेमोतोका अनुसार यो प्रणालीले शाही घरानाको भविष्यलाई खतरामा पारिरहेको छ र यो सङ्कट रूढिवादीहरू र साम्राज्यवादी प्रणालीलाई ‘राष्ट्रिय पहिचानको एक महत्वपूर्ण भाग’ का रूपमा हेर्नेहरूले महसुस गरेका छन् । नेमोतोले भन्नुभयो, ‘यो अटुट पुरुष रक्तरेखा जापानको शाही व्यवस्थाको केन्द्रविन्दुमा रहेको छ, जुन जापानी परिवार र समाजमा पितृसत्ताको आदर्शको निर्विवाद महत्वको प्रतीक हो ।’ 

नेमोतोका अनुसार जापानी शाही परिवारका महिला सदस्यहरुले ‘पति, पिता र राष्ट्रलगायत पुरुष अधिकारको सेवा गर्दै’ महिला, अधीनता र संयमतापूर्ण व्यवहार गरुन् भन्ने अपेक्षा गरिएको छ । उहाँले भन्नुभयो, ‘शाही परिवारका महिलाहरुले अझै पनि श्रीमती र आमाको परम्परागत बाटो लिने अपेक्षा गरिएको छ ।’

तर यदि आइकोले यस्तो मार्ग अनुसरण गरिन् भने उनी शाही परिवारबाहिर त्यस्तो गर्न बाध्य हुनेछिन् । ‘वर्तमान नियमहरुअन्तर्गत उनले आफ्नो उपाधि र स्थान गुमाउनेछिन्’, नेमोतोले भन्नुभयो । न्यूयोर्क टाइम्सका अनुसार अन्य आठ जापानी राजकुमारीहरुमध्येकी माकोले विवाहपछि परिवारमा आफ्नो स्थान गुमाइन् । 

क्योडो समाचारका अनुसार जबसम्म जापानी शाही काूननमा नाटकीय परिवर्तन आउँदैन तबसम्म आइकोको भाग्य बन्द हुनेछ । यसअघि जापानी जनताको दबाब वा सरकारको नेतृत्वमा भएको पहलमा गठित सल्लाहकार समितिले उत्तराधिकारीको लाइनमा महिलालाई समावेश गर्ने र उनीहरुलाई विवाहपछि उपाधि कायमै राख्न अनुमति दिनेबारे छलफल गरेको थियो । 

‘यदि जापानमा लैङ्गिक समानता बढ्यो भने शाही परिवारप्रतिको जनताको दृष्टिकोण र अपेक्षा धेरै लोकतान्त्रिक हुनसक्छ’, नेमोतोले भन्नुभयो ।