१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ र काभ्रेका सीडीओ फेरिए



अ+ अ-

काठमाडौं । बाढी पहिरो र डुवानमा परेकाहरुको उद्दारमा ढिलाइ गरेको र सरकारी निकायहरुबीच समन्वय गर्न नसकेको भन्दै आलोचना भएपछि सरकारले धादिङ र काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु परिवर्तन गरेको छ ।

धादिङमा गृह मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई र काभ्रेमा उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।

यसअघि धादिङमा राजेन्द्रदेव पाण्डे र काभ्रेमा सूर्य प्रसाद सेढाइँ प्रमुख जिल्ला अधिकारी थिए । उनीहरुलाई गृहमन्त्रालयमा तानिएको छ ।

मनसुन सक्रिय भएसँगै जोखिमको पूर्वसूचना हुँदाहुँदै सवारी साधन सन्चालनमा प्रशासनले रोक नलगाउँदा धेरै क्षति भएको गृहमन्त्रालयको निष्कर्ष छ ।

मौसम पूर्वानुमान महाशाखाले बेलैमा गराएको सचेतना र सञ्चारमाध्यमबाट त्यसको व्यापक प्रचार प्रसार हुँदाहुँदै सयौँ सवारीसाधन र यात्रुलाई राजमार्गमा निस्किन अनुमति दिँदा मानवीय क्षति धेरै भएको थियो ।

नेपाल प्रहरीका अनुसार आइतबार साँझसम्म नौबिसे–नागढुंगा सडक खण्डको झ्याप्ले खोलानेर पहिरोले सवारी साधनसहित पुर्दा ३५ जनाको मृत्यु भइसकेको छ । काभ्रेमा ५० जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्यांक छ ।

यसैगरी धादिङ–काठमाडौं सडकखण्ड र काभ्रेतर्फ बीपी राजमार्ग खण्डमा क्षति पुग्दा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।