११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

बाँझो जग्गा सदुपयोग गर्न सूर्यमुखी खेती

बाँझो जग्गा सदुपयोग गर्न सूर्यमुखी खेती
अ अ+ अ-

– खेमराज गौतम

गलकोट । कुनै समय घरआँगनमा सोखका रूपमा लगाइने सूर्यमुखी फूलको खेती बागलुङ जिल्लामा व्यावसायिकरूपमा गर्न थालिएको छ । बागलुङ नगरपालिका–१० भुकण्डे गलुवास्थित एक वृद्धले जमीन बाँझो हुन थालेपछि व्यावसायिकरूपमा सूर्यमुखी खेती शुरु गर्नुभएको छ । नेपाली सेनाका पूर्व जमदार ७५ वर्षीय बमबहादुर खत्रीले जनशक्ति अभावका कारण बाली लगाउन नसक्दा जमीन बाँझो हुनलागेको भन्दै सूर्यमुखी खेती गर्नुभएको हो ।

विसं २०२० सालमा नेपाली सेनामा भर्ती भएर २०४३ सालमा अवकाश प्राप्त खत्री अहिले निरन्तर कृषि पेशामै सक्रिय हुनुहुन्छ । खत्रीले पहिलोपटक झण्डै १५ रोपनी जग्गामा सूर्यमुखी खेती गर्नुभएको छ । गत वैशाख महिनामा छर्नुभएको सूर्यमुखी अहिले पाक्ने बेला भएको छ । समुद्री सतहदेखि करीब तीन हजार फिटको उचाइमा रहेको यस क्षेत्रमा खत्रीले अहिले पहिलोपटक परीक्षणका लागि सूर्यमुखी खेती गर्नुभएको हो । यसअघि परम्परागत ढङ्गबाट मकै तथा तरकारी खेती गर्दा धेरै दुःख गर्नुपरेको भन्दै सहजताका लागिसमेत सूर्यमुखी खेती गर्नुभएको हो । “उमेरले नेटो काट्यो, छोराबुहारीले गाउँ छाडे,” खत्रीले भन्नुभयो, “काम गर्ने मानिस पाइन छाडे, त्यसैले सजिलोका लागि सूर्यमुखीको व्यावसायिक खेतीमा लागेँ ।”

उहाँले गत वैशाखमा प्रतिकेजी रु। एक हजार २०० मा सूर्यमुखीको बीउ किनेर छरेको बताउँदै साउनमा सूर्यमुखी पाक्ने बताउनुभयो । पहिलोपटक परीक्षणका लागि लगाएको सूर्यमुखी फूलेको देख्दा आफू यो व्यवसायमा सफल हुने खत्रीले बताउनुभयो । सूर्यमुखी खेती एक वर्षमा दुईपटक गर्न सकिने छ । “पहिलोपटक सूर्यमुखी लगाउँदा कुनै प्राविधिकको सल्लाह नलिई शुरु गरेँ”, उहाँले भन्नुभयो, “सूर्यमुखी खेती गर्न निकै सहज रहेछ, यसैपटक पाँच मुरी सूर्यमुखीका दाना उत्पादन गर्ने अनुमान गरेको छु ।”

खत्रीले उत्पादन अगावै २५ लिटरभन्दा बढी तेल र २० केजी बीउको माग भइसकेकाले बजारीकरणका लागि समस्या नहुने बताउनुभयो । लगानी कम लाग्ने, उत्पादन छिटो दिने, तोरी पेल्ने मेसिनमा पेल्न मिल्ने र अन्य बालीको तुलनामा यसमा मेहनत कम लाग्ने भएकाले यसलाई विस्तार गर्दे लैजाने योजना खत्रीको छ । “अर्को वर्ष २५ रोपनी जग्गामै सूर्यमुखी खेती गर्छु”, उहाँले भन्नुभयो, “बागलुङका अन्य कृषकहरुलाई समेत सूर्यमुखी व्यवसायतर्फ आकर्षण गर्ने योजनामा छु ।” खत्रीका दुई छोराबुहारी जापानमा छन् । गाउँमा खत्री दम्पती मात्रै बस्दै आएका छन् । घरबारी धेरै भएपनि काम गर्ने मानिस नभएपछि मकै, कोदो लगाउन समस्या भएपछि सजिलो पेशामा लागेको खत्रीले बताउनुभयो । मकै, गहुँ र कोदो जस्तो मेहनत गर्न नपरे पनि सिँचाइ, गोडमेल तथा प्रशस्त मल आवश्यक रहेको खत्रीको अनुभव छ । अहिलेसम्म उहाँले सूर्यमुखी खेतीका लागि जम्मा रु.४० हजार लगानी गर्नुभएको छ ।

बागलुङ जिल्लाका होचो भू–भागमा सूर्यमुखी खेती फस्टाउने राम्रो संभावना रहेको भन्दै स्थानीय सरकारले यसलाई प्रवद्र्धन गर्नुपर्ने खत्रीको भनाइ छ । बसाइँसराइ तथा विदेश जाँदा अधिकांश जमीन बाँझो हुनगएको भन्दै बाँझो जग्गाको सदुपयोग सूर्यमुखी खेतीले गर्ने उहाँले बताउनुभयो । कृषि ज्ञान केन्द्र पर्वतमा प्राविधिक सल्लाह तथा सहयोग माग गर्न गएपनि सुनुवाइ नभएको खत्रीले गुनासो गर्नुभयो ।

स्वास्थ्यका हिसाबले पनि सूर्यमुखीबाट उत्पादन हुने तेल निकै फाइदाजनक मानिने चिकित्सकको भनाइ छ । कोलस्ट्रोल तथा मुटु रोगीलाई सूर्यमुखी तेल निकै हितकर मानिने हुँदा यसको माग निकै रहेको छ । तराईका जिल्लामा हुँदै आएको सूर्यमुखी खेती पहाडमा समेत गर्न सकिने भन्दै खत्रीले पहिलोपटक सूर्यमुखी खेती थाल्नुभएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा समेत केही जग्गामा परीक्षणका लागि सूर्यमुखी खेती थालिएको छ ।