काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले नेपाल भित्रने तरकारी तथा फलफुलमा विषादी परीक्षण गर्ने निर्णयबाट पछि हट्नुमा सचिवहरु जिम्मेवार रहेको आरोप लगाएका छन् ।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले पूर्वाधार भए नभएको नहेरी भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको भन्दै माफी मागेका छन् । उनले सचिवहरुले आफूलाई डुबाएको आरोप समेत लगाए ।
उनले भने, ‘प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार सचिवले मलाई डुबाए, निर्णय गर्ने बेला मलाई गुमराहमा राखे ।’यद्यपि प्रधानमन्त्री वा अरु कसैको पत्र वा दबावमा निर्णय फिर्ता नलिएको उनको स्पष्टीकरण छ ।
निर्णय गर्ने बेलामा सचिवहरुले विषादी परीक्षणबारे नेपालको क्षमताबारे भन्दै नभनेको मन्त्री यादवले बताए । ‘अरु सचिवले थाहा पाएनन् तर प्रधानमन्त्री कार्यालयका सचिवले यो कुरा बुझ्नुपर्थ्यो ’ उनले भने ।
मन्त्री यादवले पूर्वाधार नभई निर्णय गर्नु आफ्नो गल्ती भएको भन्दै सबै जिम्मा आफैं लिने बताए । ‘सचिवहरुले मलाई भन्दै भनेनन् । पूर्वाधार नभई निर्णय गर्नु मेरो गल्ती थियो । सबै जिम्मा म लिन्छु । पूर्वाधार बनाएपछि विषादी परीक्षण सुरु हुन्छ’ उनले भने ।
मन्त्री यादवले भने पूर्वाधार नभइ निर्णय गर्नु मेरो गल्ती थियो । सबै जिम्मा म लिन्छु’ उनले भने, ‘म जनतालाई विषादी खान दिने छैन । अहिलेलाई गल्ती भयो । माफी माग्छु । अब मलाई थप्पड हानेर तपाईंहरुलाई सन्तोष मिल्छ भने हान्नुस् ।’