आज साउन ८ गते भीमसेन थापा (बि.सं. १८३२–१८९६) ले आत्महत्याका लागि बन्दी अवस्थामै सेरिएको दिन । वर्ष फरक भए पनि नेपालका तीन महान हस्तीहरू बीपी, पुष्पलाल र भीमसेन, क्रमशः साउन ६, ७ र ८ गते महाप्रस्थान गरेको समय सन्दर्भ ।
मुख्तियार (प्राइमिनिस्टर) भीमसेन थापा…..बि.सं. १८६० देखि नेपालको शासनमा हर्ताकर्ता भएर बि.सं. १८६३ मा सबै अरिअनिष्ट पन्छाएर आफैं सर्वेसर्वा बनेर शासन चलाउँदै आएका थिए । १८७१–७२ को अँग्रेजसँगको युद्धमा हार खाएपछि उनको पतन हुने निश्चय थियो…। सत्तामा आफ्नो पकड बलियो बनाउने भोक बोकेका भीमसेनले बि.सं.१८९२ मा सेनाको कमान्डर इन–चिफ पनि आफैं बने । यिनका पालामा भएको शासकीय अत्याचारको कथा बेग्लै छ । तर दरबारमा राजारानीले यिनीमाथि विश्वास गर्न छोडिसकेका थिए । यस्तैमा १८९४ साउन ११ गते राजा राजेन्द्र बिक्रमका जेठी रानीपट्टिका ६ महिनाका कान्छा छोरा देवेन्द्रबिक्रमको कालगतिले भएको मृत्युलाई भीमसेन थापाले विष खुवाएर मारेको फत्तुर उनीमाथि लाग्यो । यसैलाई निहुँ बनाएर उनलाई शासन सत्ताबाट च्यूत गराइयो ।
भीमसेन काठमाडौँको लामो बसाई छोडेर आफ्नो पुख्र्यौली गाउँ गोरखाको बोर्लाङ्गमा गएर बसेका थिए ।….१८९६ बैशाखमा उनलाई फेरि काठमाडौँ झिकाइयो । तर यसपटक पुरानो विष मुद्दा बल्झाइयो । कीर्ते कागज खडा गरी उनलाई ज्यानमारा करार गरियो र बन्दी बनाइयो । राजाबाट न्याय नपाउने भएपछि भीमसेनले उपरोक्त अभिव्यक्ति दिएको इतिहासकार ज्ञानमणि नेपालको पुस्तकमा पाइन्छ ।
१८९६ साउन ८ गते राती अँध्यारो छिंडी कोठामा खुकुरीले आफैंले आफ्नो घाँटी सेरे ।….उनले पूरा गला रेट्न सकेनन् र अलिकति काटेर लडे, रगतको धारो लाग्यो । यसरी ढलेका भीमसेन थापा पीप रगत फोहोरमा मुछिएर घ्यारघ्यार गरी ९ दिनसम्म बचेर कन्तविजोगसँग प्राणमुक्त भए ।
राजा रानीसमेत सबै आएर उनको लास हेरे, तर दाहसंस्कार गर्न अनुमति दिइएन । डोरीले बाँधेर टुँडिखेलबाट घिसार्दै लगेर विष्णुमतिपारी पु¥याएर फाल्न लाइयो, दाहसंस्कार होला भनेर पालेपहरा राखेर नकुहुन्जेल रुङ्न लाइयो । हाडखोडचाहिँ यत्रतत्र लागे, अर्थात खप्पर (ब्रिटिश) रेजिडेन्टद्वारा बेलायत पुर्याइयो र दाँत र हातका हाडचाहिँ चौतारिया फत्यजंगको घरमा राखियो….।
उनका जेठी र माइली मुखिनीलाई बोर्लाङ् देखि नांंगो पयर हिँडाएर ल्याएर प्यादा लगाई हेलम्बुमा निर्वासित गरियो भने कान्छी मुखिनी र धर्मपुत्र शेरजंग थापालाई सास्तीसाथ कैदमा राखियो ।
(ज्ञानमणि नेपालद्वारा लिखित इतिहासको पुस्तक ‘नेपालको महाभारत’ को पृ. १०३ र १११ का आधारमा)
यो जानकारीमूलक सामग्री चन्द्रमणी गौतमले तयार पार्नु भएको हो ।