काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संविधान संशोधन गरेर मृत्युदण्ड दिने नियम/कानून बनाउन माग गरेका छन् ।
संघीय संसदको राज्य व्यवस्था तथा सूशासन समितिमा मंगलबार बोल्दै सांसद सुवालले ३८ क्वीन्टल सुन तस्करीदेखि प्रधानमन्त्रीको निवास बालुवाटारस्थित सरकारी जग्गा बेच्नेसम्मलाई मृत्युदण्ड दिनुपर्ने बताएका हुन् ।
‘दैनिक सामाजिक अपराध र भ्रष्टाचार बढिरहेका छन्। ३८ क्वीन्टल सुन, वाइडबडी भ्रष्टाचार, एनसेलको कर प्रकरण, ललिता निवासको जग्गा विक्रीका सबै अपराधीलाई संविधान संशोधन गरेर मृत्युदण्ड दिनुपर्छ’, सुवालले भने, ‘राज्य व्यवस्था समितिले सरकारलाई, प्रधानमन्त्रीलाई भनेर मृत्युदण्डको संवैधानिक व्यवस्था गराओस।’