काठमाडौं । ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ पुस्तकका लेखक वीणा जोशी (राजभण्डारी)लाई २०८२ सालको मदन पुरस्कार प्रदान गरिएको छ । त्यसैगरी, गीतकार किरण खरेललाई जगदम्बा–श्री पुरस्कार प्रदान गरिएको छ ।
विराटनगरमा जन्मिएर काठमाडौंमा हुर्किनुभएकी जोशी नृत्य कलाविद् हुनुहुन्छ । उहाँद्वारा लिखित ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ पुस्तक २०८३ जेठ ३ गते विमोचन भएको थियो । करिब १ हजार ४ सय पृष्ठको यस पुस्तकमा १७ वटा खण्ड रहेका छन् ।
पुस्तकमा काठमाडौं उपत्यकाभित्र प्रचलनमा रहेका लोपोन्मुख तान्त्रिक तथा परम्परागत देवीदेवताका मुकुण्डो नाच (ख्वपाः प्याखं) र तिनका गुरुहरूको इतिहास समेटिएको छ । नेवार समुदायको मौलिक सांस्कृतिक परम्परा, नृत्यकला र ऐतिहासिक सम्पदाको अभिलेखीकरणमा पुस्तकले महत्त्वपूर्ण योगदान पुर्याएको छ ।
त्यसैगरी, छ दशकभन्दा लामो समयदेखि नेपाली गीत लेखनमा समर्पित रहँदै नेपाली भाषा, साहित्य र वाङ्मयको श्रीवृद्धिमा योगदान पुर्याउनुभएका गीतकार खरेललाई जगदम्बा–श्री पुरस्कार प्रदान गरिएको हो ।
जोशीको सांस्कृतिक अध्ययन तथा अभिलेखीकरण र खरेलको नेपाली गीतसंगीत तथा वाङ्मयमा रहेको योगदानको कदर गर्दै दुवै स्रष्टालाई प्रतिष्ठित पुरस्कार प्रदान गरिएको हो ।
– न्युज एजेन्सी नेपाल








