काठमाडौं । प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ औपचारिक रूपमा पेश भएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विधेयक पेश गर्नुभएको हो । डिप्लोमा इन्जिनियरिङ पेसालाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन परिषद् स्थापना गर्ने उद्देश्यले विधेयक ल्याइएको मन्त्री लम्सालले बताउनुभयो ।
प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १०५ बमोजिम विधेयक पेश गर्न कुनै पनि सदस्यबाट विरोधको सूचना नपरेपछि सभामुखले विधेयक प्रस्तुत गर्न अनुमति दिनुभएको थियो ।
विधेयक पेश गर्दै मन्त्री लम्सालले डिप्लोमा इन्जिनियरिङ क्षेत्रमा व्यावसायिक उत्तरदायित्व, गुणस्तर र पारदर्शिता कायम गर्न परिषद्को आवश्यकता रहेको बताउनुभयो । उहाँले डिप्लोमा इन्जिनियरहरूको दक्षता मापन, योग्यता अनुसार नाम दर्ता, आचारसंहिताको कार्यान्वयन तथा प्राविधिक जनशक्तिको अभिलेख व्यवस्थापनका लागि विधेयक महत्वपूर्ण हुने बताउनुभयो ।
विधेयकले डिप्लोमा इन्जिनियरिङ पेसाको नियमनका लागि वैज्ञानिक प्रणाली विकास गर्ने तथा पेशागत दक्षता र आचारसंहितालाई व्यवस्थित गर्ने लक्ष्य राखेको छ ।
विधेयक प्रतिनिधि सभामा पेश भएसँगै अब यसमाथि दफावार छलफल र संशोधनको प्रक्रिया अघि बढ्नेछ । संसदबाट विधेयक पारित भएर कानुन बनेमा डिप्लोमा इन्जिनियरहरूको पेसागत दर्ता, नियमन तथा अनुगमनका लागि छुट्टै स्वायत्त संरचना निर्माण हुने बाटो खुल्नेछ ।








