काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले जलवायु परिवर्तन र विपद् न्यूनीकरणजस्तो संवेदनशील विषयमा एउटै प्रकृतिका दोहोरो समिति गठन गर्ने तयारीप्रति असन्तुष्टि जनाउनुभएको छ ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विकले संघीय संसद्का दुवै सदनको अपनत्व हुने गरी संयुक्त विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विपद्का विषयमा अध्ययन गर्न यसअघि नै संघीय संसद्को संयुक्त समिति गठनको प्रस्ताव गरिएको स्मरण गराउनुभयो । तर, सत्तापक्षको असहमतिका कारण त्यतिबेला संयुक्त समिति गठन हुन नसकेको उहाँको भनाइ थियो ।
राष्ट्रिय सभामा समेत उस्तै प्रकृतिको समिति गठन हुन लागेकोतर्फ संकेत गर्दै सांसद विकले एउटै उद्देश्य र कार्यक्षेत्रका लागि छुट्टाछुट्टै समिति बनाउनु राज्यकोषमाथि अनावश्यक भार पर्ने बताउनुभयो ।
“एउटै उद्देश्य र कार्यक्षेत्रका लागि दोहोरो समिति बनाउनु राज्यको ढुकुटीको दुरुपयोग हो,” उहाँले भन्नुभयो, “संघीय संसद्का दुवै सदनको प्रतिनिधित्व र अस्तित्वलाई स्वीकार गर्दै एकै प्रकारको उद्देश्यका लागि संयुक्त विशेष समिति बनाउन म पुनः माग गर्दछु।”
एउटै कामका लागि दोहोरो खर्च र जनशक्ति परिचालन गर्नु जिम्मेवार संसद्को अभ्यास हुन नसक्ने भन्दै उहाँले साझा बुझाइका साथ अघि बढ्न सत्तापक्षलाई आग्रह गर्नुभयो । संसद्को गरिमा र कार्यसम्पादनको प्रभावकारिता कायम गर्न पनि एउटै विषयमा दोहोरो समिति गठन गर्ने अभ्यास रोक्नुपर्ने उहाँको भनाइ थियो ।








