काठमाडौं । न्यायाधीश समाजले पूर्व प्रधान न्यायाधीशजस्तो सम्मानित व्यक्तिलाई रातारात प्रहरी नियन्त्रणमा लिइने कार्यले न्याय परिवारका अरुलाई पनि आतंकित तुल्याउने कार्य भएको जनाएको छ ।
समाजका अध्यक्ष तिलप्रसाद श्रेष्ठले प्रेस विज्ञप्ती जारी गर्दे सुरक्षा खतराको जुन कारण देखाएर पूर्व प्रधान न्यायाधीशलाई प्रहरी नियन्त्रणमा लिने काम स्वाभाविक र विधिसम्मत नभएको जनाउनु भएको छ ।
बिज्ञप्तिमा भनिएको छ -२०८३ साल असोज ११ गते नेपालका सम्माननीय पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.लाई प्रहरी नियन्त्रणमा लिइएको विषयमा यस न्यायाधीश समाज, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ।
बिज्ञप्ति भनिएको छ – कुनै पूर्वपदाधिकारीलाई सुरक्षा खतरा रहेको भए त्यस्तो खतराबाट सुरक्षा दिनु राज्यको कर्तव्य भित्रकै कुरा भए पनि सुरक्षा खतराको कारण देखाएर जुन ढङ्गबाट नियन्त्रणमा लिने काम गरियो, त्यो तरिका उपयुक्त र प्रचलित कानूनको मान्यता अनुरूप रहेको देखिँदैन। कसैलाई सुरक्षा खतरा रहेको भए निजकै निवासमा थप सुरक्षा बल उपलब्ध गराउने वा निजले रोजेको स्थानमा सुरक्षाका साथ राखिनु पर्नेमा जबरजस्ती प्रहरी कार्यालयमा ल्याउने र त्यो पनि अपराध अनुसन्धान कार्यालयमा ल्याउने कुरा युक्तिसंगत मान्न सकिँदैन। त्यसमा पनि पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज।ब।रा।ज्यू त राज्यले नै उपलब्ध गराएको सुरक्षा बल सहित आफ्नै निवासमा रहनु भएको अवस्था थियो। सुरक्षाबलको कमि महसुस गरिएको भए सुरक्षाबल थप गर्न सकिने अवस्था रहेको देखिन्छ। वहाँको सुरक्षामा कोबाट कस्तो किसिमको सुरक्षा खतरा थियो भन्ने कुराको पनि कुनै स्पष्ट भनाइहरु आउन सकेको देखिँदैन। सुरक्षामा खतरा पुऱ्याउने व्यक्तिहरुलाई के कस्तो कारबाही गरियो भन्ने कुराको पनि स्पष्ट जानकारी आउन सकेको देखिँदैन। यो स्थितिले गर्दा वहाँलाई नियन्त्रणमा लिने कार्यको पछाडि कुनै अरु नै उद्देश्य त थिएन भन्ने आशङ्का गर्नु पर्ने भएको छ। बिना मनासिब कारण र औचित्य सुरक्षा खतराको नाममा पूर्व प्रधान न्यायाधीशजस्तो सम्मानित व्यक्तिलाई यसरी रातारात प्रहरी नियन्त्रणमा लिइने कार्यले न्याय परिवारका अरुलाई पनि आतंकित तुल्याउँछ भन्ने यस समाजको मान्यता रहेको छ। त्यसैले राज्यका तर्फबाट गरिने सुरक्षा व्यवस्थामा यो तथ्यतर्फ पनि ध्यान पुगोस् भनी सम्बन्धित राज्य निकाय र पदाधिकारीज्यूहरूमा यो न्यायाधीश समाज हार्दिक अपिल गर्न चाहन्छ।









