बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री साहले पेट्रोलियम पदार्थको दीर्घकालीन आपूर्ति सुनिश्चित गर्न अमलेखगञ्ज–चितवन र सिलगुढी–चारआली पेट्रोलियम पाइपलाइन निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।
उहाँले कर्णाली प्रदेशमा चालु आर्थिक वर्षभित्रै पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तार गर्ने तयारी भइरहेको बताउनुभयो । यस्तै, सर्लाहीमा एलपीजी ग्यास पाइपलाइन तथा भण्डारण स्थल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको उहाँले सदनलाई जानकारी गराउनुभयो ।
दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिबारे सांसद कृष्णप्रसाद अधिकारीले उठाउनुभएको प्रश्नको जवाफ दिँदै मन्त्री साहले अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्र बनाइएको बताउनुभयो । व्यवसायीलाई मूल्य घटाउन निर्देशन दिइएको र त्यसको प्रभावस्वरूप बजारमा केही वस्तुको मूल्य घटेको उहाँको भनाइ थियो ।

मन्त्री साहले भन्नुभयो, “खाद्यान्नमा भएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न हामीले खुद्रा व्यवसायी र वितरकहरूसँग छलफल गरी मूल्य १० देखि १५ प्रतिशत घटाउन निर्देशन दिएका थियौँ, जसको फलस्वरूप बजारमा १० प्रतिशतले मूल्य घटेको छ ।”
उहाँका अनुसार हाल चिनीको मूल्य प्रतिकेजी ११० रुपैयाँ कायम गरिएको छ । सरकारले भारतबाट २५ हजार मेट्रिक टन चिनी आयात गर्नुका साथै स्वदेशी उत्पादनबाट थप २० हजार मेट्रिक टन खरिद गरी साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत वितरण गरिरहेको छ ।
बाढी तथा पहिरोका कारण आपूर्ति प्रणालीमा अवरोध उत्पन्न भए पनि अत्यावश्यक वस्तुको सहज आपूर्तिका लागि सरकारले विशेष प्रयास गरिरहेको मन्त्री साहले बताउनुभयो ।
कानुनविपरीत कृत्रिम अभाव सिर्जना गर्ने तथा उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई तत्काल कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउँदै उहाँले उपभोक्ताको अधिकार संरक्षणका लागि बजार अनुगमनको दायरा थप फराकिलो बनाइने बताउनुभयो । तीनै तहका सरकारबीच समन्वय गरी बजार अनुगमन संयन्त्रलाई थप प्रभावकारी बनाउने उहाँको भनाइ थियो।







