काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन तथा मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारले वैज्ञानिक तथा प्राविधिक विश्लेषणका विधि प्रयोगमा ल्याएको बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री साहले इन्धन आपूर्ति प्रणाली सुधारका लागि ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ जस्ता वैज्ञानिक उपकरण प्रयोग गरिएको जानकारी दिनुभयो ।
राष्ट्रिय सभा सदस्य रुक्मिणी कोइरालाले पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि तथा खाना पकाउने ग्यासको अभावका कारण नागरिकले सास्ती भोग्नुपरेको भन्दै सरकारको तत्कालीन र दीर्घकालीन योजनाबारे प्रश्न गर्नुभएको थियो ।
जवाफमा मन्त्री साहले इन्धन अभावलाई कुनै एक कारणको परिणामका रूपमा नहेरी आपूर्ति प्रणाली, पूर्वाधार, नीतिगत व्यवस्था र अन्तर्राष्ट्रिय प्रभावको संयुक्त परिणामका रूपमा विश्लेषण गरिएको बताउनुभयो ।
उहाँका अनुसार ‘फिसबोन डायग्राम’मार्फत गरिएको विश्लेषणले पेट्रोलियम पदार्थको आयातमा अत्यधिक निर्भरता, भण्डारण क्षमतासम्बन्धी समस्या, डिलर तथा वितरण प्रणालीमा असमानता र विभिन्न निकायबीचको समन्वय अभावलाई प्रमुख चुनौतीका रूपमा पहिचान गरेको छ ।
‘हामीले यसलाई केवल सिलिन्डरको संख्यामा मात्र सीमित नराखी ढुवानीदेखि भान्सासम्मको सम्पूर्ण आपूर्ति शृंखलालाई वैज्ञानिक बनाउने काम गरिरहेका छौँ,’ मन्त्री साहले भन्नुभयो ।
मन्त्री साहले हाल पेट्रोल, डिजेल र हवाई इन्धनको अभाव नरहेको दाबी गर्नुभयो । खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन अर्थ, गृह र परराष्ट्र मन्त्रालयसँग समन्वय गरी कूटनीतिक पहलसमेत अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी, मूल्य स्थिरीकरण कोषको प्रभावकारी परिचालन तथा अनावश्यक प्रशासनिक खर्च कटौती गर्दै उपभोक्तालाई राहत पुग्ने गरी नेपाल आयल निगमको लागत संरचनालाई पारदर्शी बनाउने प्रतिबद्धता मन्त्री साहले व्यक्त गर्नुभयो ।