काठमाडौँ । सरकारले विपद्सम्बन्धी कार्यलाई व्यवस्थित बनाउन केही नेपाल ऐन संशोधन गर्ने तयारी गरेको छ। यसका लागि गृह मन्त्रालयले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ तयार पारेको छ।
विधेयकमा गम्भीर प्रकृतिको विपद्मा मृत्यु भएका व्यक्तिको शव खोजतलास, भण्डारण तथा परिवारलाई हस्तान्तरण गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। त्यस्तै, विपद्का कारण बेपत्ता हुने व्यक्तिका परिवारलाई उपलब्ध गराउनुपर्ने न्यूनतम राहत र बेपत्ता व्यक्ति फेला नपरेमा मृत्युको न्यायिक घोषणा गर्न सकिने व्यवस्थासमेत समेटिएको छ।

विपद्का घटनापछि बेपत्ता तथा मृतकको पहिचान, शव व्यवस्थापन र पीडित परिवारलाई राहत उपलब्ध गराउने कार्यलाई थप व्यवस्थित र कानुनी आधार प्रदान गर्ने उद्देश्यले विधेयक तयार पारिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले विधेयकका सम्बन्धमा विधायन ऐन, २०८१ बमोजिम सूचना प्रकाशन गरी सर्वसाधारणबाट राय तथा सुझाव माग गरेको छ। सूचना प्रकाशित भएको सात दिनभित्र मन्त्रालयको इमेल legalsectionmoha@gmail.com मा सुझाव पठाउन सकिने जनाइएको छ।







