काठमाडौँ, भदौ २४: भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूसँग ऐक्यबद्धता जनाउन सम्पूर्ण युलेन्स परिवार एकताबद्ध भएको छ।
युलेन्स एजुकेसन फाउन्डेसन, खुमलटार र बाँसबारीस्थित युलेन्स स्कुल, अभिभावक संस्था ‘एक्सन टिम फर पार्टनरसिप’ (एटीपी), बोर्ड अफ ट्रष्टीज तथा समर्पित शिक्षक, कर्मचारी एवम् सहयोग टोलीको संयुक्त पहलमा ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा २० लाख रुपैयाँ योगदान गरिएको छ।
विपद्का कारण विस्थापित सयौँ परिवार तथा विद्यार्थीहरूलाई तत्काल राहत, खाद्यान्न र अस्थायी बासस्थान व्यवस्थापनमा सहयोग पुगोस् भन्ने हेतुले फाउन्डेसनका संस्थापक अध्यक्ष सोम पनेरुको नेतृत्वमा रहेका प्रतिनिधिहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।
युलेन्स परिवारका लागि यो सहयोग हस्तान्तरण विशेष र संवेदनशील छ। गत वर्ष खुमलटार, बाँसबारी र काभ्रेको नालास्थित आफ्नै विद्यालयका भौतिक संरचनामा पुगेको क्षति र दु:खद घटनाको स्मरण गरिरहेकै दिन यो सहयोग रकम हस्तान्तरण गरिएको हो। स्मृतिको यस विशेष दिनमा आफ्ना दु:खमा मात्र सीमित नरही युलेन्सका विद्यार्थी, शिक्षक, अभिभावक, बोर्ड अफ ट्रष्टीज र कर्मचारीहरूले आफ्ना सम्पूर्ण शक्ति र सान्त्वनालाई संकटमा परेका नागरिकको सहयोगमा समर्पित गर्ने निर्णय गरेका हुन्।
पुनरुत्थानको यस चरणमा पनि संस्थाले सहयोगको हात अघि बढाउनुको औचित्य प्रस्ट्याउँदै युलेन्स एजुकेसन फाउन्डेसनका अध्यक्ष सोम पनेरुले भने, “हाम्रा व्यक्तिगत दु:ख र अप्ठ्याराहरूले केही समय पर्खन सक्छन्; तर यो बाढीले पुऱ्याएको क्षति यति ठूलो छ कि यसले हाम्रा तर्फबाट तत्काल र सामूहिक कदमको माग गर्दछ। विगतका कठिन चुनौतीहरू आफैँले भोगेका हुनाले शून्यबाट पुनः उठ्नुको पीडा र सङ्घर्ष हामी राम्ररी बुझ्छौँ। नेपालका लागि यो कठिन घडीमा दायित्वबोधका साथ नागरिकको सहारा बन्नु हाम्रो कर्तव्य हो। आफ्ना संरचनाहरूलाई सुदृढ बनाउँदै गर्दा हामी देशको पुनःनिर्माण र आशा जगाउने कार्यमा निरन्तर समर्पित भइरहनेछौँ।”
विगत दुई दशकभन्दा बढी समयदेखि युलेन्स एजुकेशन फाउन्डेसनले शिक्षा भनेको कक्षाकोठाको ज्ञान मात्र नभई सामाजिक उत्तरदायित्व, सहानुभूति र अप्ठ्यारो समयमा एक-अर्काको साथ उभिनु हो भन्ने मान्यता राख्दै आएको छ। हाल खुमलटार र बाँसबारीका कक्षाकोठाहरूमा नियमित पठनपाठन पूर्ण रूपमा सञ्चालन भइरहेका छन् भने संस्थाको ध्यान र प्रयास प्रभावित नागरिकहरूलाई पुनः स्थापित गराउनेतर्फ उत्तिकै समर्पित छ।









