११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

स्थानीय तहमा बैंकको शाखा विस्तार गरेर मात्रै वित्तीय पहुँच नपुग्ने रहेछः अर्थसचिव उपाध्याय

स्थानीय तहमा बैंकको शाखा विस्तार गरेर मात्रै वित्तीय पहुँच नपुग्ने रहेछः अर्थसचिव उपाध्याय
अ अ+ अ-

काठमाडौं । अर्थसचिव डा. घनश्याम उपाध्यायले स्थानीय तहमा बैंकका शाखा विस्तार हुँदैमा नागरिकमा वास्तविक वित्तीय पहुँच पुगेको मान्न नसकिने बताउनुभएको छ।

बिहीबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले बैंकिङ सेवासँगै बीमा, शेयर बजारलगायतका वित्तीय सेवामा समेत नागरिकको सहज पहुँच सुनिश्चित गर्नुपर्ने बताउनुभयो। सबै स्थानीय तहमा बैंकका शाखा पुगे पनि कतिपय स्थानमा आवश्यकताभन्दा बढी शाखा विस्तार भएको र त्यसले वित्तीय क्षेत्रको लागत बढाइरहेको उहाँको भनाइ थियो।

उहाँले वित्तीय सेवाको लागत अन्ततः सेवाग्राहीले नै व्यहोर्नुपर्ने भएकाले लागत घटाउँदै सेवा सहज र पहुँचयोग्य बनाउनुपर्नेमा जोड दिनुभयो। ऋण लिन नागरिकले विभिन्न प्रकारका कागजात बुझाउनुपर्ने अवस्था रहेकाले पनि वित्तीय पहुँच सहज हुन नसकेको उहाँले उल्लेख गर्नुभयो।

अर्थसचिव उपाध्यायले अब वित्तीय पहुँचलाई बैंकिङ सेवामा मात्र सीमित गर्न नहुने बताउनुभयो। बैंकिङसँगै बीमा, शेयर तथा लघुवित्तसम्बन्धी सेवासमेत सहज रूपमा उपलब्ध गराउनुपर्ने उहाँको भनाइ थियो।

वित्तीय पहुँच र वित्तीय साक्षरताका विषयमा उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिमार्फत थप अध्ययन तथा समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो। अर्थमन्त्रीको अध्यक्षतामा रहेको उक्त समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नरसहित सम्बन्धित निकायका प्रतिनिधि सहभागी छन्।

बैठकमा नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढाले ७ सय ५३ वटै स्थानीय तहमा बैंक पुगे पनि वास्तविक वित्तीय पहुँच विस्तार हुन नसकेको बताउनुभयो। कतिपय स्थानीय तहमा बैंकहरू सामाजिक सुरक्षा भत्ता वितरण र उपभोक्ता समितिसँग सम्बन्धित काममा मात्रै सीमित भएको उहाँको भनाइ थियो।

उहाँले स्थानीय तहमा कर्जा प्रवाह बढाउनुका साथै वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न र दुर्गम तथा पछाडि परेका क्षेत्रमा विशेष प्राथमिकताका साथ वित्तीय पहुँच विस्तार गर्न माग गर्नुभयो।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले माओवादी द्वन्द्वका क्रममा विस्थापित भएका बैंकका शाखाहरू तत्काल सम्बन्धित स्थानमा पुनःस्थापना गर्न समितिले सरकारलाई निर्देशन दिनुपर्ने बताउनुभयो। अन्य क्षेत्रमा वित्तीय पहुँच विस्तार क्रमिक रूपमा गर्न सकिने भए पनि द्वन्द्वका क्रममा विस्थापित भएका बैंकका शाखा पुनःस्थापना तत्काल गर्नुपर्ने उहाँको भनाइ थियो।

बैठकमा अर्थसमितिअन्तर्गतका उपसमितिहरूले तयार पारेका विभिन्न सुझाव तथा अर्थसमितिले सरकारलाई दिनुपर्ने निर्देशनका विषयमा समेत छलफल भएको थियो।