२८ श्रावण २०८३, बिहीबार
,
Latest
ग्यास वितरण सहज बनाउन काठमाडौं उपत्यकामा सादा पोसाकका प्रहरी परिचालन योगेश भट्टराईको प्रश्न : ‘नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र त भएकाे छैन्?’ स्वदेश फर्किए पूर्वप्रधानमन्त्री देउवा,विमानस्थलमा कार्यकर्ताको भीड सिंहदरबारमा खाद्य व्यवस्था कम्पनीको सुलभ मूल्य बिक्री कक्ष सञ्चालन महाकाली करिडोरः डेढ दशकमा छ किलोमिटर कालोपत्र झापाको कनकाईका थप १३ परिवारले पाए जग्गाधनी पुर्जा यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गरिनु प्रेस स्वतन्त्रताविपरीत : नेपाल मिडिया सोसाइटी ‘नेपालको परराष्ट्र नीतिमा राष्ट्रिय सहमति र आन्तरिक सबलीकरण अनिवार्य’–पूर्वमुख्यसचिवहरू परराष्ट्र नीतिमा साझा दृष्टिकोण र राजदुत नियुक्तिमा विज्ञता आवश्यकः पूर्वमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपालको परराष्ट्र नीतिमा राष्ट्रिय सहमति र आन्तरिक सबलीकरण अनिवार्य’–पूर्वमुख्यसचिवहरू



अ+ अ-

काठमाडाैँ  । सरकारका तीन पूर्वमुख्यसचिवहरूले नेपालको परराष्ट्र नीतिमा राष्ट्रिय सहमतिको अभाव तथा आन्तरिक क्षमता अभिवृद्धि नगरी अन्तर्राष्ट्रिय संघ–संस्थाको सदस्यता र वैदेशिक परियोजनामा निर्भर हुने प्रवृत्तिले मुलुकलाई थप जोखिममा पार्न सक्ने बताउनुभएको छ ।

नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्रनीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक कार्यक्रममा पूर्वमुख्यसचिवहरू लिलामणि पौड्याल, शंकरदास वैरागी र एकनारायण अर्यालले नेपालको परराष्ट्र नीतिमा असंलग्नताको सान्दर्भिकता, सीमा व्यवस्थापन, विकास कूटनीति र राष्ट्रिय सहमतिका विषयमा स्पष्ट दृष्टिकोण आवश्यक रहेकोमा जोड दिनुभयो ।

पूर्वमुख्यसचिव लिलामणि पौड्यालले पछिल्लो समय चर्चामा आएको ‘बहु–संलग्नता’ अवधारणाप्रति संशय व्यक्त गर्दै नेपालको परराष्ट्र नीतिमा राष्ट्रिय हित, सुरक्षा र रणनीतिक स्वायत्ततालाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो । उहाँले नेपाल–भारत खुला सीमाबाट उत्पन्न चुनौतीलाई छिमेकीको प्रतिक्रिया के होला भन्नेभन्दा पनि राष्ट्रिय हित र व्यावहारिक आवश्यकताका आधारमा सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले विकास कूटनीतिलाई विकास सहायता प्राप्तिमा मात्र सीमित गर्न नहुने बताउँदै अन्तर्राष्ट्रिय सम्बन्धका सबै आयामलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सके मात्र विकास कूटनीति सफल हुने उल्लेख गर्नुभयो । असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकता अझै कायम रहेको भन्दै उहाँले ‘बहु–संरेखण’को अवधारणा के हो, यसको सीमा र आधार के हुन् भन्ने विषय स्पष्ट हुनुपर्ने बताउनुभयो ।

पूर्वमुख्यसचिव शंकरदास वैरागीले राष्ट्रिय क्षमता विकास नगरी अन्तर्राष्ट्रिय संघ–संस्थाको सदस्यता लिँदैमा मुलुक विकसित नहुने बताउनुभयो । उहाँले विश्व व्यापार संगठन (डब्लुटिओ) को सदस्य बनेपछि नेपालको आर्थिक कायापलट हुने अपेक्षा गरिए पनि आन्तरिक प्रतिस्पर्धात्मक क्षमता कमजोर हुँदा त्यसअनुसारको व्यापारिक उपलब्धि हासिल हुन नसकेको उदाहरण प्रस्तुत गर्नुभयो ।

वैरागीले मानव पुँजीको तीव्र पलायन र रोजगारी सिर्जना गर्न नसक्नु नेपालको प्रमुख चुनौती भएको बताउनुभयो । वैदेशिक सहायता तथा ठूला परियोजनाका प्रस्ताव आउँदा तिनको रणनीतिक प्रभाव र राष्ट्रिय हितबारे पर्याप्त विश्लेषण गर्ने परम्परा कमजोर रहेको उहाँको भनाइ थियो ।

एमसीसी र बीआरआईजस्ता परियोजनालाई नेपालले अत्यधिक राजनीतिकरण गरेको उल्लेख गर्दै उहाँले आफ्नै राष्ट्रिय दृष्टिकोण र कथ्य निर्माण गर्नुभन्दा अरूका एजेण्डा पछ्याउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयो । परराष्ट्र नीतिको सफलताका लागि आन्तरिक सबलीकरण, सामाजिक सद्भाव र राष्ट्रिय एकता अनिवार्य रहेको उहाँको भनाइ थियो ।

पूर्वमुख्यसचिव एकनारायण अर्यालले नेपालको परराष्ट्र नीतिमा राजनीतिक दलहरूबीच साझा सहमतिको अभाव रहेको बताउनुभयो । एमसीसी, बीआरआई र तिब्बतजस्ता संवेदनशील विषयमा राजनीतिक नेतृत्वबाट फरक–फरक तथा विरोधाभासपूर्ण धारणा आउने गरेको उल्लेख गर्दै उहाँले यसले मुलुकमा भूराजनीतिक हस्तक्षेपको जोखिम बढाएको बताउनुभयो ।

सरकार परिवर्तनसँगै वैदेशिक सम्बन्धका प्राथमिकता पनि परिवर्तन हुने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिँदै अर्यालले सरकार र प्रधानमन्त्री परिवर्तन हुनु स्वाभाविक भए पनि राष्ट्रिय परराष्ट्र नीतिका आधारभूत पक्ष परिवर्तन हुन नहुने बताउनुभयो ।

छिमेकी मुलुकका भ्रमणलाई समेत राजनीतिक दृष्टिले फरक–फरक रूपमा व्याख्या गर्ने प्रवृत्तिले नेपालको परराष्ट्र नीतिमा स्पष्टता र स्थायित्वको कमी देखाएको उहाँको भनाइ थियो । परराष्ट्र नीतिलाई राष्ट्रिय सहमतिको दस्तावेज बनाउनुपर्ने र सबै राजनीतिक दलले राष्ट्रिय हितमा आधारित एउटै आधारभूत नीति स्वीकार गर्नुपर्ने उहाँले बताउनुभयो ।

पूर्वमुख्यसचिवहरूले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर सरकार, राजनीतिक दल र नागरिक समाजबीच साझा समझदारी निर्माण गर्नुपर्ने तथा परराष्ट्र नीति सञ्चालनका लागि प्रभावकारी र साझा कूटनीतिक संयन्त्र आवश्यक रहेकोमा जोड दिनुभयो ।