२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वार्थ रक्षाका लागि कुटनीतिक मर्यादाभन्दा नतिजा मुख्य हुन्छः डा. प्रकाशशरण महत



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालको राष्ट्रिय स्वार्थ रक्षाका लागि कूटनीतिक मर्यादा वा पदभन्दा प्रभावकारी संवाद, शक्ति सन्तुलन र राष्ट्रिय हित संरक्षण गर्ने क्षमता महत्वपूर्ण हुने बताउनुभएको छ ।

नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्रनीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै डा. महतले कूटनीतिको मुख्य उद्देश्य राष्ट्रिय स्वार्थको संरक्षण हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपाल अहिले असहज र संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै आन्तरिक रूपमा बलियो नभई मुलुकलाई बाह्य रूपमा पनि बलियो बनाउन नसकिने बताउनुभयो ।

वि.सं. २०३३ सालमा बीपी कोइरालाले अवलम्बन गर्नुभएको राष्ट्रिय मेलमिलापको नीति स्मरण गर्दै डा. महतले राष्ट्रियता र लोकतन्त्र एकअर्काका पूरक भएको बताउनुभयो । उहाँले पछिल्ला घटनाक्रमले मुलुकभित्रै कमजोरी बढ्दै गएको संकेत गरेको टिप्पणी गर्नुभयो ।

गत वर्ष भदौ २३ र २४ गते भएका घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उहाँले जेन–जी पुस्ताले सुशासन र इन्टरनेटको अधिकारलगायत विषयमा आवाज उठाउँदा नेतृत्वले समयमै त्यसलाई गम्भीरतापूर्वक सम्बोधन गर्न नसकेको बताउनुभयो ।

“भदौ २३ र २४ गतेको घटनालाई केवल आन्तरिक असन्तुष्टिका रूपमा बुझेर पुग्दैन । जेन–जी पुस्ताका युवाले इन्टरनेट बन्द किन गरियो, सुशासन किन भएन भन्ने प्रश्न उठाएका थिए । उनीहरूको आवाजलाई समयमै गम्भीरतापूर्वक सुनिएन,” उहाँले भन्नुभयो ।

डा. महतले आन्तरिक अवस्था सुधार नगरेसम्म देशलाई बलियो बनाउन नसकिने र समस्याहरू थप जटिल बन्दै जाने बताउनुभयो ।

कूटनीतिक सम्बन्धमा औपचारिक पद र मर्यादाको बराबरीभन्दा वास्तविक शक्ति र प्रभावलाई बुझ्नु महत्वपूर्ण हुने उहाँको भनाइ थियो । चीनका नेता देङ स्याओपिङको उदाहरण दिँदै उहाँले औपचारिक पदमा नरहेको अवस्थामा पनि विश्वका शक्तिशाली मुलुकहरूले उहाँसँग संवाद गर्न खोजेको स्मरण गर्नुभयो ।

“कूटनीतिमा तपाईं कुन तह वा पदमा हुनुहुन्छ भन्ने मात्र महत्वपूर्ण हुँदैन । महत्वपूर्ण कुरा भनेको पावर कहाँ छ भन्ने हो,” डा. महतले भन्नुभयो, “राष्ट्रिय स्वार्थ संरक्षण गर्ने हो भने जुन तहमा गएर भए पनि त्यसलाई संरक्षण गर्न सक्ने क्षमता र इच्छाशक्ति आवश्यक हुन्छ ।”

उहाँले आफू कुन पदमा छु भन्ने अहंकार राखेर कूटनीति सञ्चालन गर्न नसकिने बताउँदै राष्ट्रिय हितका लागि आवश्यक पर्दा लचिलो हुनुपर्ने धारणा राख्नुभयो ।

“म तिमीसरहको पदमा छु, त्यसैले मलाई पनि त्यही रूपमा हेर भनेर मात्र कूटनीति चल्दैन । अन्ततः महत्वपूर्ण कुरा भनेको राष्ट्रिय स्वार्थको संरक्षण हो,” उहाँले भन्नुभयो ।

डा. महतले कूटनीतिमा अहंकारभन्दा राष्ट्रहितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै प्रभावकारी संवाद र शक्ति सन्तुलनमार्फत नेपालको राष्ट्रिय स्वार्थ संरक्षण गर्नुपर्ने बताउनुभयो ।