काठमाडौँ। अमेरिकी केन्द्रिय कमान्ड (सेन्टकम) ले इरानका बन्दरगाहहरूमा लगाइएको नाकाबन्दी उल्लंघन गर्न खोजेको भन्दै पानामाको झण्डावाहक एक मालवाहक जहाजको स्टेयरिङ प्रणालीलाई निष्क्रिय पारिदिएको छ ।
सेन्टकमले मंगलवार जारी गरेको विज्ञप्ति अनुसार, ‘एम–भी भेला नोभा’ नामक उक्त मालवाहक जहाज ओमानको खाडी हुँदै इरानी बन्दरगाहतर्फ जान खोजेपछि सो कारबाही गरिएको हो ।
अमेरिकी नौसेनाको एमएच–६० हेलिकप्टरले जहाजको इन्जिन कक्षलाई लक्षित गरी दुईवटा मिसाइल प्रहार गरेको कमान्डले जनाएको छ ।
सामुन्द्रिक सुरक्षासम्बन्धी कम्पनी भ्यानगार्डले आफ्नो प्रारम्भिक प्रतिवेदनमा मिसाइल प्रहारका कारण जहाजमा आगलागी भएको र पछि उक्त आगोलाई नियन्त्रणमा लिइएको उल्लेख गरेको छ ।
सेन्टकमकाअनुसार अगस्ट ११ सम्मको तथ्यांक हेर्दा अमेरिकी सेनाले नाकाबन्दी तोड्न खोज्ने ५५ वटा व्यापारिक जहाजहरूको मार्ग परिवर्तन गराएको छ ।
त्यस्तै, आदेश पालना नगर्ने तीनवटा जहाजलाई निष्क्रिय बनाइएको र दुईवटा जहाजमा सैनिकहरू प्रवेश गरी खानतलासी गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल











