काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी आन्दोलन र निर्वाचनबाट बनेको सरकारप्रति युवाको आशा बढे पनि सरकारले अपेक्षाअनुसार काम गर्न नसक्दा उनीहरू पुनः निराश बन्न थालेको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले रोजगारी सिर्जना, सुशासन कायम तथा विदेशिएका युवालाई स्वदेश फर्काउने विषयमा सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका हुन्।
उनले देशमै स्वरोजगारको प्रयास गरिरहेका युवा गणेश नेपालीदेखि विवेक मण्डलसम्मले गरेको आत्मदाहका घटनालाई युवामा बढ्दो निराशाको गम्भीर संकेतका रूपमा प्रस्तुत गरेका छन्।
आङ्देम्बेले सरकारसँग प्रश्न गर्दै भनेका छन्, “जेन–जीले खोजेको रोजगारी कहाँ सिर्जना भयो ? उनीहरूले चाहेको सुशासन कहाँ छ ? विदेशिन बाध्य युवालाई स्वदेश फर्काउने योजना कहाँ छ ?”
निर्वाचनअघि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विदेशिएका नेपालीलाई स्वदेश फर्काउने र देशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै उनले सरकार गठन भएको साढे चार महिना बितिसक्दा पनि त्यसअनुसार परिणाम नदेखिएको बताए।
लामिछानेले चुनावअघि अमेरिका, क्यानडा र युरोपका विभिन्न देशमा पुगेर सरकार बनेको १०० दिनभित्र विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने अभियान सञ्चालन गर्ने घोषणा गरेको स्मरण गर्दै आङ्देम्बेले उक्त प्रतिबद्धता युवाले अझै नबिर्सिएको उल्लेख गरेका छन्।
उनका अनुसार युवालाई केवल निर्वाचनमा मतदान गर्ने समूहका रूपमा नभई राष्ट्र निर्माणको नेतृत्व गर्न सक्ने शक्तिका रूपमा राज्यले हेर्न आवश्यक छ।
विदेशबाट फर्किएका युवाको ज्ञान, सीप, प्रविधि र पुँजीलाई देशको आर्थिक विकासमा उपयोग गर्न ‘रिटर्नी युवा उद्यमशीलता’सम्बन्धी स्पष्ट र प्रभावकारी नीति ल्याउनुपर्नेमा पनि आङ्देम्बेले जोड दिएका छन्।
उनले युवाको अपेक्षा सम्बोधन गर्न सरकारले तत्काल रोजगारी, उद्यमशीलता र सुशासनका क्षेत्रमा ठोस परिणाम देखाउनुपर्ने बताएका छन्।











