काठमाडौँ। लिबियाको राष्ट्रिय तेल निगम (एनओसी) ले पश्चिमी लिबियास्थित जाविया तेल प्रशोधन केन्द्रको एक इन्धन ट्याङ्कीमा प्रत्यक्ष आक्रमण भएको जनाएको छ ।
उक्त आक्रमणका कारण ट्याङ्कीमा भीषण आगलागी हुनुका साथै संरचना पूर्ण रूपमा ध्वस्त भएको निगमले उल्लेख गरेको छ ।
एनओसीको सहायक कम्पनी ‘ब्रेगा पेट्रोलियम मार्केटिङ कम्पनी’ द्वारा सञ्चालित ‘४०२–टी’ नामक उक्त ट्याङ्कीमा करिब ४५ लाख लिटर पेट्रोल भण्डारण गरिएको थियो ।
आगलागी नियन्त्रण गर्न र अन्य प्लान्ट तथा भौतिक संरचनामा क्षति पुग्न नदिन प्रशोधन केन्द्र, मार्केटिङ कम्पनी र छिमेकी तेल कम्पनीका अग्निनियन्त्रक तथा सुरक्षा टोलीहरू परिचालन गरिएको विज्ञप्तिमा जनाइएको छ ।
निगमकाअनुसार जाविया सहरमा तेल पूर्वाधार र सुविधाहरूलाई लक्षित गरी भइरहेका श्रृङ्खलावद्ध आक्रमणहरूमध्ये यो पछिल्लो घटना हो ।
यसअघि स्थानीय सञ्चारमाध्यमहरूले इन्धन ट्याङ्कीभित्र विष्फोट भएको र आकाशमा आगोको ज्वाला तथा धुवाँको बाक्लो मुस्लो देखिएको रिपोर्ट सार्वजनिक गरेका थिए ।
प्रारम्भिक विवरणहरूले ट्याङ्कीमाथि आत्मघाती ड्रोनमार्फत आक्रमण गरिएको सङ्केत गरे पनि विष्फोटको यकिन कारण र मानवीय क्षतिको आधिकारिक पुष्टि हुन बाँकी छ ।
सरकारी स्वामित्वको जाविया आयल रिफाइनिङ कम्पनीले सञ्चालन गर्ने यो प्रशोधन केन्द्र लिबियाको प्रमुख तेल प्रशोधन सुविधाहरूमध्ये एक मानिन्छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल











