१६ असार २०८३, मंगलवार
,
Latest
विद्यार्थी सङ्गठनका संरचना हटाउने पत्रप्रति स्ववियू सभापतिहरूको आपत्ति, विश्वविद्यालयको स्वायत्तता जोगाउन माग भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त लायन्स क्लब अफ विराटनगरको अध्यक्षमा चाँद ईराकी चयन भन्सार विभागको नेतृत्व फेरियो, भरतमणि पाण्डे बने निमित्त महानिर्देशक सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल मधेसबाहेक देशभर वर्षा, कञ्चनपुरमा २४ घण्टामै १४७.४ मिमी वर्षा इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दूधेबच्चा काखी च्यापेर खाद्य डिपो पुगेका स्थानीयले चामल पाएनन्



अ+ अ-

दसैं आउनै लाग्दा गाउँमा खाद्य संकट, डिपोमा छैन चामल 

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–२ कोटी गाउँकी ललिता बोहरा १० महिनाकी छोरी काखी च्यापेर दुई दिन हिँडेपछि कवाडी डिपो पुगिन् । तर, डिपोले चामल छैन भनेपछि उनको अनुहार अमिलियो ।

‘घरमा श्रीमान् छैनन्, गाईबस्तु लिएर लेकतिर गएका छन् । नौजनाको परिवार मेरो जिम्मामा छ,’ ललिताले व्यथा सुनाइन्, ‘गाउँको सहकारीबाट ऋण गरेर चामल किन्न आएँ, तर डिपोमा रहेनछ ।’ स्थानीय बजारबाट प्रतिकेजी ८५ रुपैयाँका दरले थोरै चामल किनेर ललिता घर फर्किइन् ।

कवाडी डिपोमा दुई महिनायता चामल नहुँदा गाउँमा खाद्य संकट नै भएको छ । ललिताकी छिमेकी कोपिला बोहरा पनि डेढ वर्षकी छोरी बोकेर चामल किन्न पुगिन् । तर, डिपोमा चामल नपाउँदा उनी निराशसँगै आक्रोशित पनि थिइन् । गाउँका पुरुष कोही कामका लागि भारत त कोही गाईबस्तु लिएर लेकतिर गएपछि महिला नै चामलको खोजीमा कवाडी डिपो पुग्छन् । तर, चामल नपाइने गरेको हिमाली गाउँपालिका–३ का अध्यक्ष ध्यानबहादुर रोकायाले बताए ।

यो बाजुराको सबैभन्दा बढी खाद्य संकट हुने र सडकभन्दा टाढा रहेको हिमाली गाउँपालिका हो । अघिल्लो वर्ष यस डिपोमा पाँच हजार क्विन्टल चामल आएको थियो । तर, असारयता चामल नआएपछि गाउँमा खाद्य संकट भएको स्थानीय पर्वलाल बुडथापाले बताए । दसैंसम्म चामल नआए चरम खाद्य संकट हुने उनको भनाइ छ । ‘बालबच्चा बोकेरै वर्षात्को समयमा जोखिम मोलेर चामल किन्न डिपोमा पुग्यौँ, तर चामल छैन,’ स्थानीय नानी बोहराले भनिन्, ‘सरकारले नै नहेरेपछि जनताको वास्ता कसले गर्छ ?’

हिमाली गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा चार हजार जनसंख्या छ । यी वडाका सबै घरमा खाद्य संकट भएको अर्जुन रोकायाले बताए । स्थानीय उत्पादनले वर्षमा दुई महिना पनि खान नपुग्ने उनले बताए । हिमाली गाउँपालिकाका दुर्गम गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्छ ।

खाद्य संस्थान भन्छ– टेन्डर भइसकेको छ
खाद्य संस्थान बाजुरा शाखा प्रमुख मेखराज ओझाले भने कवाडी डिपोका लागि ३५ सय क्विन्टल चामलका लागि टेन्डर भइसकेको बताए । उनले केही दिनमा सम्झौता भएर चामल जाने बताए ।

सुर्खेत खाद्य संस्थानबाट नौ सय, धनगढी संस्थानबाट नौ सय, मार्तडीबाट नौ सय र कोल्टी डिपोबाट आठ सय क्विन्टल चामल ढुवानीका लागि टेन्डर गरिएको उनले बताए । डिपोबाट एक व्यक्तिका लागि एकपटकमा १० केजीका दरले चामल वितरण गरिने ओझाको भनाई छ । , समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।




भर्खरै