७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाल्यो संवाद नेपाली स्याटेलाइटले



अ+ अ-

ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

काठमाडौं । नेपालको पहिलो भू–उपग्रह (स्याटेलाइट) ‘नेपाली स्याट–१’ ले नियमितरूपमा ग्राउन्ड स्टेसनसँग सम्पर्क गर्न थालेको छ। स्याट–१ ले पठाएको सूचना, तथ्यांक र अन्य विवरण स्टेसनले नियमित रेकर्ड गर्न थालेको हो । स्याटेलाइटमा जडान भएको ब्याट्रीको अवस्था, पृथ्वीलाई फन्को लगाउन लाग्ने समयावधि, पृथ्वीसँगको दूरी, सो उपकरण रहने स्थान आसपासको तापक्रमजस्ता सूचना ग्राउन्ड स्टेसनले प्राप्त गरिरहेको छ।

ग्राउन्ड स्टेसन ललितपुरको खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा स्थापना गरिएको छ।स्याट–१ ले डेढ घण्टामा पृथ्वीलाई एक फन्को लगाउने गरेको र एक दिनमा १६ पटक पृथ्वीलाई चक्कर लगाइरहेको विवरण स्टेसनलाई प्राप्त भइरहेको नास्टका प्रविधि संकाय प्रमुख डा. रवीन्द्र ढकालले बताए ।

‘गत बिहीबारयता उसको गतिविधि नियमितरूपमा नियालिरहेका छौं, एक सेकेन्डमा सात किलोमिटरको गतिमा स्याटेलाइट घुमिरहेको पाइएको छ’, उनले भने– ‘अहिलेसम्म कुनै प्राविधिक गडबडी देखिएको छैन।’

ढकालका अनुसार पृथ्वीबाट (सबैभन्दा नजिकको दूरी) ४ सय २० किलोमिटर उचाइमा स्याट–१ ले फन्को लगाइरहेको छ। शनिबार बिहान ४ बजेर ४० मिनेट हाराहारीमा पूर्वी नेपालको भू–भाग हुँदै बाहिरिएको स्याट–१ आइतबार राति ८ बजेर ३५ मिनेटमा नेपालकै सुदूरपश्चिमी भेगको अन्तरिक्षलाई छोएर बाहिरिएको छ।

ग्राउन्ड स्टेसनका कार्यक्रम प्रमुख रोशन पाण्डेका अनुसार स्याटेलाइटको प्रस्ट संकेत आइतबार राति आठ बजेर ४० मिनेट आसपासमा देखिएको छ। उनले प्रस्ट्याउँदै भने– ‘नेपालको भूगोल र आसपासबाट स्याट–१ ले फन्को लगायो भने सूचना लिन सजिलो हुन्छ, अहिलेसम्मको अवस्था हेर्दा दुई दिनमा नेपाल नजिक भएर स्याट–१ चलिरहेको छ।’

नेपालको पहिलो भू–उपग्रह गत वैशाख ५ गते अमेरिकाको भर्जिनियाको वल्लोप्स द्वीपबाट अमेरिकी अन्तरिक्ष संस्था नासाको सहयोगमा अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो। सोही दिन श्रीलंकाको रावन–१ र जापानको युगुसु भू–उपग्रह पनि अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो ।नेपाल, श्रीलंका र जापानका स्याटेलाइट सँगसँगै रहेका र एकआपसमा तीनवटैको दूरी १ हजार किमिका हाराहारीमा रहेको ढकालले बताए ।

करिब दुई महिना अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहेको स्याट–१ ले गत असार ४ गतेपछि मात्रै पृथ्वीलाई विचरण गर्न थालेको थियो। ग्राउन्ड स्टेसनले दिने निर्देशनका आधारमा स्याट–१ ले तस्वीर खिच्ने, पृथ्वीले निकाल्ने विद्युतीय र चुम्बकीय तरंग, मौसम, प्रकोप र जलवायुमा देखिने विविधताको अध्ययन गर्न सघाउने उनले जानकारी दिए ।

केही तस्वीर, प्रकोप र जलवायुबारेको एक–दुई दिनको तथ्यांक र सूचनाले समग्र नतिजा प्राप्त नहुने भएकाले नियमित अध्ययन जरुरी रहेको ढकालको भनाई छ। जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) विश्वविद्यालयसँगको सहकार्यमा तीनवटै देशका विद्यार्थीले बड्र्स परियोजनाअन्तर्गतको छात्रवृत्तिमा नानो भू–उपग्रह निर्माण गरेका हुन् ।

क्युटेकबाटै न्यानो स्याटेलाइट टेक्नोलोजीमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के र सोही विषयमा स्नातकोत्तर अध्ययनरत नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठले नेपाली स्याट–१ तयार गरेको हो । बड्र्स प्रोजेक्ट संयुक्त राष्ट्रसंघीय लगानीमा सञ्चालित परियोजना हो, विश्वभरबाट धेरै स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गर्ने उच्च सूचीमा सो परियोजना सूचीकृत छ।

नेपालसहित भुटान, श्रीलंका, थाइल्यान्ड, जापान, फिलिपिन्स, मंगोलिया, नाइजेरिया, घाना, पानामा, ताइवानजस्ता मुलुक बड्र्स प्रोजेक्टमा आबद्ध छन्। नेपालको स्याटेलाइट क्युटेकले पनि अनुगमन गरिरहेको छ । स्याट–१ लाई अन्तरिक्षमा प्रक्षेपण गर्न सरकारले १ करोड ४२ लाख रुपियाँको बजेट उपलब्ध गराएको थियो भने ग्राउन्ड स्टेसनका लागि २० लाख रुपियाँ हाराहारीको बजेट खर्च भएको नास्टले जनाएको छ । जापानी प्राविधिक र वैज्ञानिकसँगको ईमेल सम्पर्क र भिडियो वार्तापश्चात नेपालकै जनशक्तिले ग्राउन्ड स्टेसन तयार गरेका हुन् ।

स्याट–१ को आयु तीन वर्ष हाराहारीको रहने ठहर गरिएको छ। यो अवधिमा नेपालका जनशक्तिको क्षमता अभिवृद्धि गर्ने, अध्ययन अनुसन्धानको दायरालाई फराकिलो बनाउने र राष्ट्रिय अन्तरिक्ष अनुसन्धान केन्द्रको अवधारणालाई मूर्त रुप दिन पहल गर्ने ढकाल बताउनुहुन्छ। केन्द्रको खाका नास्टले यसअघि नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई बुझाइसकेको छ ।, समाचार आजको नेपाल समाचारपत्र दैनिकामा प्रकाशित छ ।