१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी

प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी
अ अ+ अ-

काठमाडौँ : गत शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको आरशालामा लोकप्रिय गायक विधान श्रेष्ठको पलेँटी सम्पन्न भएको छ ।

हरेक अंग्रेजी महिनाको सप्ताहान्तमा आयोजना हुँदै आएको यो कार्यक्रम विगत २१ वर्षदेखि सञ्चालन भइरहेको छ । विशेषगरी नेपाली संगीतका मुर्धन्य व्यक्तित्वहरूलाई प्रस्तुत गर्दै आएको पलेँटीले बेलाबखत नयाँ पुस्तालाई पनि समेट्ने गरेको छ ।

विधान श्रेष्ठले आजभन्दा नौ वर्षअघि पनि पलेँटी कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए ।

लामो अन्तरालपछि पलेँटीमा पुनः सांगीतिक प्रस्तुति दिएका विधानले झण्डै डेढ दर्जन गीतहरु प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेका अधिकांश गीतहरु उनका पिता गीतकार तथा संगीतकार विजय श्रेष्ठले सृजना गरेका शब्द, संगीत रहेका थिए।

कार्यक्रमको थालनी विजय श्रेष्ठको शब्द र दीप श्रेष्ठको स्वर, संगीतमा प्रसिद्ध बनेको गीत ‘म पत्थरको देवता होइन’ बाट भएको थियो ।

कार्यक्रमको पहिलो चरणमा प्रस्तुत गीतहरूमा सेन्टिमेन्टल गीतहरूको प्रधानता रहेको थियो । जसमा ‘बुहारी झार झैँ’, ‘तिमीलाई साथ’, ‘बिर्सुँ भनेर चोट’, ‘जाँदैछु टाढा’, र ‘जलन छातीको’ शीर्षकका गीतहरू रहेका थिए ।

अन्तरमुखी स्वभावका गायक विधानको गायन शैली भने बोल्ड र खुलस्त सुनिन्थ्यो ।

कार्यक्रमको दोस्रो चरणमा रोमान्टिक गीतहरूको पालो परेको थियो । जसमा ‘आज नाच्छे मेरी गौरी’, ‘हिँड लौ मायालु’ र ‘तारा जून’ शीर्षकका गीतहरू रहेका थिए ।

कार्यक्रमको तेस्रो चरणमा विजय श्रेष्ठ बाहेक अन्य रचनाकारका गीत समेटिएको थियो । यस चरणको पहिलो प्रस्तुतिमा दार्जिलिङका प्रसिद्ध गीतकार तथा संगीतकार पारस गजमेरको रचना ‘ती रमाइला याद’ रहेको थियो ।

यसैक्रमको दोस्रो प्रस्तुति ‘सोल्टिनी भनी बोलाको’ बोलको गीत रहेको थियो । यो गीतलाई हङकङको कुनै बेलाको चर्चित ब्यान्ड ‘संगम’ ले सृजना गरेको थियो । पछिल्लो चरणमा भने विधान श्रेष्ठले नै यस गीतलाई दर्शक, श्रोतामाझ प्रस्तुत गर्दै आएका छन् ।

यसपछि केही लोकगीतहरूको प्रस्तुति रहेको थियो । लोकगीत प्रस्तुत गर्ने क्रममा विधानले आफ्ना अग्रज सुन्दर श्रेष्ठ र तीर्थकुमारीले कुनैबेला रेडियोमा गाएको गीत ‘भक्तपुरे दही’ बोलको गीतलाई छानेका थिए । लोकपाराकै गीत प्रस्तुत गर्ने क्रममा अर्को गीत ‘कान्छीको अल्लारे जोवन’ प्रस्तुत भएको थियो । यस गीतलाई ध्रुव बस्नेतले सङ्कलन गरेका थिए ।

कार्यक्रममा गायक प्रेमध्वजको स्वरमा प्रसिद्ध बनेको ‘यो नानीको सिरैमा इन्द्र कमल फूल फुल्यो’ पनि प्रस्तुत भएको थियो। यस गीतलाई प्रसिद्ध लोक कलाकार झलकमान गन्धर्वले संकलन गरेका हुन् ।

कार्यक्रमको अन्तिम चरणमा देशभक्तिपूर्ण गीतहरूको प्रस्तुति रहेको थियो । जसमा ‘ज्ञानबहादुर छोरो’ बोलको काव्यात्मक गीतका साथै ‘एकता नै बल हो’ र ‘माछी मार्न जाउन दाजै कालापानीमा’ जस्ता चर्चित गीतहरू रहेका थिए ।

शुक्रबारको कार्यक्रमको अन्त्यमा प्रस्तुत भएको ‘माछी मार्न जाउँ न दाजै कालापानीमा’ गीतपछि दर्शकहरूले विधानलाई ‘स्ट्यान्डिङ ओवेसन’ दिएका थिए ।

पहिलोपल्ट पलेँटी हेर्न आएको बताउँदै दर्शक काशिका राणा भन्दै हुन्छिन्- ‘म इन्डियाबाट आएकी हुँ । विवाह भएर उतै बस्छु । आज बाबालाई पनि साथमा लिएर पलेँटी हेर्न आउने मौका जुर्‍यो । साह्रै रमाइलो अनुभव भयो । विधानको गायन र पलेँटीको प्याकेजिङ र प्रस्तुति सबै एकदमै आकर्षक लाग्यो ।’

आयोजकले आगामी महिनाको पलेँटीमा सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ र उनका सुपुत्र कलाकार यमन श्रेष्ठलाई प्रस्तुत गरिने जानकारी दिएका थिए ।

यसपालिको पलेँटीमा वाद्यवादनतर्फ किबोर्डमा दिनेशराज रेग्मी, बाँसुरीमा मिलन घिमिरे, लिड र रिदम गिटारमा प्रवीण पुलामी मगर, बेस गिटारमा आशिष श्रेष्ठ, रिदम सेक्सनमा सुन्दर कुमार महर्जन र पारसमणि सुवेदीको सहभागिता रहेको थियो ।