१४ आश्विन २०८१, सोमबार
,
Latest
तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध धादिङ र काभ्रेका सीडीओ फेरिए अमेरिका भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम परिवर्तन, अघिल्लो वर्षको तुलनामा यो वर्ष छिट्टै चिसो बढ्यो



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको मापन गरिएको छ । दसैंलगत्तै तापक्रम घटेका कारण उपत्यकासहित देशभर नै चिसोको प्रभाव बढेकोे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अघिल्लो वर्षको तुलनामा छिट्टै चिसो बढेको हो । मौसमविद् मीनकुमार अर्यालले वायुमण्डलको प्रभावका कारण चिसो बढेको बताए । ‘धुवाँधुलोका कारण पनि वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको हो,’ उनले भने ।

अघिल्लो वर्ष ३ कात्तिकमा काठमाडौंको न्यूनतम तापक्रम १७ डिग्री सेल्सियस रहेकामा यसपटक १४ डिग्रीमा झरेको छ । ‘सिजनल इफेक्ट’ले न्यूनतम तापक्रममा तलमाथि भइरहेको हो,’ उनले भने, ‘तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ, दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुनेछ ।’ ‘अबको केही समयमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरे तुवाँलोले दृश्यता कमजोर हुनेछ,’ मौसमविद् अर्यालले राजधानीलाई बताए ।

केही दिनयता उपत्यकासहित देशभरको तापक्रम घट्दो रूपमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार र मंगलबार थोरै समयका लागि मात्र घाम देखिने महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताए । नेपालबाट मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव बढेको र न्यूनतम तापक्रम घट्ने क्रममा रहेको उनले बताए । ‘अरब सागरबाट नेपाल बहने पश्चिमी जलवाष्पयुक्त हावाले तत्काल ठूलो वर्षाको सम्भावना भने छैन,’ उनले भने ।

आइतबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव ७ मापन गरिएको थियो । विराटनगको न्यूनतम १८ डिग्री मापन गरिएको थियो । वीरेन्द्रनगर, सिमरा, दाङ, धनकुटा र पोखरामा पनि न्यूनतम तापक्रम घटेको महाशाखाले जनाएको छ ।

आइतबारको न्यूनतम जुम्लाः ०.७ डिग्री सेल्सियस (सबैभन्दा कम)
विराटनगरः १८ डिग्री सेल्सियस (सबैभन्दा बढी)
काठमाडौंः १४ डिग्री सेल्सियस

आइतबार बिहानैदेखि मुलुकभर सामान्यदेखि पूर्ण बदली रही देशका थोरै स्थानमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार मुलुकको मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली हुनेछ । मध्य र पूर्वी पहाडका एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ ।

मंगलबार पनि मुलुकको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ । पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली आएकाले देशका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राजधानी दैनिकबाट