३१ श्रावण २०८३, आईतवार
,
Latest
देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रश्तावित प्रधानन्यायाधीशको सुनुवाई प्रक्रिया अध्ययनका लागि समय उपलब्ध गराउन एमाले नेता दंगालको माग



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) राष्ट्रिय सभाका संसदीय दलका नेता प्रेमप्रसाद दंगालले प्रश्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाई प्रक्रियामा हतार नगर्न र अध्ययनका लागि पर्याप्त समय उपलब्ध गराउन माग गर्नुभएको छ ।

मङ्गलवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो धारणा राख्दै नेता दंगालले गम्भीर संवैधानिक विषयमा पर्याप्त तयारी र विश्लेषण बिना अगाडि बढ्दा सुनुवाइको गरिमा कायम नहुने उल्लेख गर्नुभयो । बैठकमा समिति सभापतिद्वारा प्रश्तुत कार्यतालिकाप्रति असहमति जनाउँदै दंगालले कार्यतालिका अत्यन्तै व्यस्त र हतारपूर्ण भएको बताउनु भयो ।

नेता दंगालकाअनुसार प्रश्तावित प्रधानन्यायाधीशका विरुद्ध प्राप्त भएका १६ वटा उजुरीहरू विस्तृत र गहन प्रकृतिका रहेका छन् । इमेल र भौतिक रूपमा दर्ता भएका ती उजुरीहरूका साथै प्रश्तावित प्रधानन्यायाधीशले प्रश्तुत गर्नुभएको कार्ययोजनाको सुक्ष्म अध्ययन र विश्लेषणका लागि समितिका सदस्यहरूलाई समय आवश्यक पर्ने उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, ‘बैठकको समय पटक–पटक परिवर्तन गरी हतारमा प्रक्रिया अगाडि बढाइएको छ । उजुरीकर्ताहरूलाई छलफलका लागि बोलाउने र लगत्तै प्रश्तावित प्रधानन्यायाधीशको सुनुवाइ गर्ने कार्यतालिकाले विषयको गम्भीरतालाई न्याय गर्न सक्दैन । यी उजुरीहरू र कार्ययोजनाको विस्तृत अध्ययन नगरी सुनुवाइमा जानु हतारो मात्र हुनेछ, यसलाई व्यवस्थित बनाउन आवश्यक छ । आजको दिन अध्ययनका लागि समय प्रदान गरियोस्, हामी भोलि बिहानैदेखि सुनुवाइको प्रक्रियामा सहभागी हुन तयार छौँ ।’

उहाँले उजुरीका लागि १० दिनको समय दिइएको सन्दर्भ उल्लेख गर्दै अध्ययनका लागि भने समय संकुचित गरिएकोमा आपत्ति जनाउनु भयो । कम्तीमा एक दिनको समय अध्ययनका लागि छुट्याउन आग्रह गर्नुभयो । समितिका सदस्यहरूले सबै दस्ताबेज अध्ययन गर्न कम्तीमा दुई दिनको समय आवश्यक पर्ने भएपनि न्युनतम एक दिनको समय उपलब्ध गराउन नेता दंगालले समितिको ध्यानाकर्षण गराउनुभएको छ ।