बुवा यो के हो ?
छोरा यो डोजर हो ?
डोजरले के गर्छ बुवा ?
राज्यको विकास गर्छ
अनि तिमी हामी जस्ताको उठिबास लगाउँछ ।
किन बुवा हामी राज्यका मानिस होइनौ ?
हुन त हौं बाबु……
तर राज्य आफ्नो भन्नलाई हामीसँग एकधरो जमिन छैन
हो राज्य आफ्नो भन्नलाई हामीसँग एकधरो आकाश छैन ।
यो राज्य मेरो मन मुटुमा छ
मेरो रगतमा छ
तर भुगोलमा म यो राज्यको हुन सकेको छुइन ।
म जन्मेको धरती मेरो होइन
म खेलेको धरती मेरो होइन
मैले पसिना बगाएको धरती मेरो होइन
मैले पुजेको आकाश मेरो होईन
भोली म मरेपछि मेरो खरानी बगाउने वा
मलाई गाड्ने धरती पनि हाम्रो होइन ।
मर्नु अगाडी मैले ६ फिट जमिन जोड्न सकिन भने
बाबु, तैले मेरो लाश खोलामा बगाईदिनु
म बग्दै अनन्त सागरमा पुग्नेछु
कतै त्यहाँ पो छ की मेरो धरती ?
होइन भने मेरो लाश डढाई दिनु
धुँवा बनेर अनन्त ब्रह्माण्डमा पुग्नेछु
कतै त्यहाँ पो छ की मेरो आकाश ?
न म नाम अनुसार स्वर्गको राजा ईन्द्र हुन सके
न म बलियो बाँङ्गो बहादुर नै हुन सके
म राई हुँ……
भुमिपुत्र हाम्रो पहिचान हो छोरा
तर म भुमिपुत्रसँग भुमि छैन ।
भुमिहिन सुकुमबासी हौं हामी
त्यसैले यो खोला किनारमा छौ,
र आज तँ जन्मिएको
अनि मैले पसिना बगाएको
यो घर अगाडी
डोजर आईपुगेको छ बाबु ।
यो डोजर हो
यसले राज्यको विकास गर्छ
अनि तिमि हामी जस्ताको उठिबास लगाउँछ ।
“तर म घर भत्काएको हेर्न सक्दिन।”
२०८३ वैशाख २० गते
विजय पौडेल











