इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडसँग बराबरी खेल्दै अंक बाडेको छ । आइतबार राति भएको खेलमा नव प्रवेशी क्लब सेफिल्डसँग ३–३ गोलको बराबरी युनाइटेडले खेलेको हो । सेफिल्डको मैदानमा युनाइटेडका लागि ब्राण्डन विलियम्स, मासुन ग्रीनवुड र मार्कोस राष्फोर्डले एक एक गोल गरेका थिए ।
सेफिल्डका लागि जोन फ्लेक,लेस मोसेट र ओलिभर म्याकब्रुनीले एक एक गोल गरेका हुन् । निकै रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता भने सेफिल्डले बनाएको थियो । जोनले खेलको १९ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा मोसेटले गोल गर्दा सेफिल्ड २–० ले अघि रह्यो । विलियम्सले खेलको ७२ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने कोशिस गरे ।
७७ औं मिनेटमा ग्रीनवुडले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । विलियम्स र ग्रीनवुडको यो पहिलो प्रिमियर लिग गोल हो । लगत्तै ७९ औं मिनेटमा राष्फोर्डले गोल गर्दै युनाइटेडलाई ३(२ को अग्रता दिलाए । तर, खेलको इन्जुरी समयमा सेफिल्डका ओलिभरले गोल गर्दा खेल ३३ को बराबरीमा सकिएको थियो ।
यो बराबरीसँगै युनाइटेडले १३ खेलबाट १७ अंक जोडेको छ । र, युनाइटेड नवौं स्थानमा उक्लिएको हो । सेफिल्ड १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।