काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत आज (शुक्रबार) पुरुष भलिबलमा नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल भारतसंग खेल्दैछ । नेपालको पुरुष भलिबल टिमले समूह चरणको अन्तिम खेलमा दक्षिण एसियाली भलिबलको पावर हाउस भारतसंग खेल्न लागेको हो । समूह एको पहिलो खेलमा बंगलादेशसंग ३–२ को सेटमा नेपाली टिम पराजित भएको थियो ।
नेपाललाई सेमिफाईनलको आश जिवित राख्न भारतलाई जित्नै पर्ने दबाब छ । तर नेपाल भारतिय टिमसंग बारमबार पराजित हुँदै आएको छ र कमजोर साबित भईरहेको छ । सागको तयारीका लागि भारतमा गएको नेपाली टिमले भारतको राष्ट्रिय भलिबल टिमसंग तीन मैत्रीपूर्ण म्याच खेल्दा तीनै वटा खेलमा सोझो सेटमा पराजित भएको थियो । नेपालले १० सेटमा जम्मा एक सेटमा जित निकालेको थियो ।
१३ औ सागमा पदकको आश राखेको नेपालले पहिलो खेलमै बंगलादेशसंग पराजित भएपछि पदक सम्भावना नाजुक बनाएको छ । साग खेलकुदमा पुरुष भलिबल पदक विहिन छ । आजै हुने समूह बीको खेलमा श्रीलंका र माल्दिभ्स राति ७ बजे भिड्नेछन् । खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ ।