१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज विश्व एड्स दिवस: एचआइभी सङ्क्रमण दर घट्दो क्रममा



अ+ अ-

अछाम । यहाँ एचआइभी सङ्क्रमण दर घट्दो क्रममा रहेको पाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार पछिल्ला वर्षमा जिल्लामा नयाँ सङ्क्रमित पत्ता लाग्ने दर घट्दै गइरहेको हो । विगत ११ वर्षको तथ्याङ्कअनुसार जिल्लामा एचआइभी एड्सका नयाँ बिरामी फेला पर्ने दर निकै सुधारोन्मुख रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०६४/६५ मा ३४३ नयाँ सङ्क्रमित फेला परेकामा आर्थिक वर्ष ०७५/७६ मा ४३ जना मात्रै नयाँ बिरामी पत्ता लागेका स्वास्थ्य कार्यालयका प्रमुख झनकराज ढुङ्गानाले बताए ।

उनका अनुसार आर्थिक वर्ष ०७४/७५ मा सबैभन्दा कम १९ मात्र नयाँ सङ्क्रमित भेटिएका थिए । अछाममा आर्थिक वर्ष ०६५/६६ मा २२२, आव ०६६/६७ मा ९३, आव ०६७/६८ मा १३०, आव ०६८/६९ मा ९९, आव ०६९/७० मा ८६, आव ०७०/७१ मा ८१, आव ०७१/७२ मा ७३, आव ०७२/७३ मा ६६ र आव ०७३/७४ मा ६७ नयाँ एचआइभी सङ्क्रमित भेटिएका स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । तथ्याङ्कअनुसार जिल्लामा हाल एक हजार ५६७ एचआइभी सङ्क्रमित पत्ता लागेका छन् ।

पत्ता लागेका बिरामी पछिल्लो समय कहीँ पनि नभेटिएकाले दोहोरिएर आउने बिरामी बढी भएका हुनसक्ने ढुङ्गानाले बताए । उनका अनुसार अहिले ३७७ महिला र २६१ पुरुष सङ्क्रमित नियमित एआरटी सेवन गरिरहेका छन् । मङ्गलसेन र बयालपाटामा रहेका केयर सेन्टरमार्फत उनीहरुले एआरटी सेवन गरिरहेका जनाइएको छ । एआरटीका कारण आफूलाई निकै सहज भएको एकजना सङ्क्रमितले बताए । समाजले अपहेलना गर्ने गरेका कारण आफूहरुलाई खुल्न अप्ठ्यारो भए पनि राज्यबाट प्रदान सेवाले आफू जस्ताको दीर्घजीवनमा टेवा पुगेको उनको भनाइ छ ।

कुनै बेला एचआइभी सङ्क्रमणका कारण बदनाम भएको अछामका लागि नयाँ बिरामी भेटिने क्रम घट्दै जानु सुखद लक्षण भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक झपट ढुङ्गानाको भनाइ छ । यसबारे जनचेतनासहित बिरामी खोज्न विभिन्न स्थानमा शिविरसमेत चलाइने गरेको उनले बताए । जिल्लामा एचआइभी सङ्क्रमित भएकामध्ये पुरुष १२८ र महिला ५७ गरी १८५ को मृत्यु भइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।