१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग

म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल

म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
अ अ+ अ-

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजलामा पर्यटकको चहलपहल बढ्न थालेको छ । म्याग्दीको बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना–खोरिया–मरेनी–जलजला–ढोरपाटन हँुदै पूर्वीरुकुमको तकसेरा जोड्ने सडकको मार्ग खुलेपछि जलजलामा आन्तरिक पर्यटक बढेका हुन् ।

समुन्द्री सतहदेखि तीन हजार ४१८ मिटर उचाइमा रहेको माथिल्लो जलजलामा छ वर्षदेखि ‘गोठस्टे’ सञ्चालन गर्दै आउनुभएका धवलागिरि गाउँपालिका–२ लुलाङका फूलबहादुर विकले दैनिकजसो पर्यटक आउन थालेका बताए  ।

“यसअघि ढोरपाटनमा आएका सीमित पर्यटकमात्रै जलजलामा आउने गरेका थिए”, उनले भने, “म्याग्दी–ढोरपाटन र पूर्वीरुकुम जोड्ने सडकको मार्ग खुलेपछि दैनिकजसो चार–पाँचवटा गाडी तथा १५–२० वटा मोटरसाइकलमा पर्यटक आउन थालेका छन् ।”

बेनीदेखि १२२ किलोमिटर दूरीमा रहेको तकसेरा जोड्ने सडकको गत फागुनमा मार्ग खुलेपछि पूर्वीरुकुमको पुथाउत्तरगङ्गा र बागलुङको ढोरपाटन उपत्यका घुम्न आउनेहरू जलजलादेखि मुना हुँदै फर्कने ‘रुट’ बनाउन थालेका छन् ।

मोटरसाइकल र गाडीमा यात्रा गर्नेहरूका लागि जलजला साहसिक र आकर्षक गन्तव्य बनेको छ । चार जनाको समूहमा दुईवटा मोटरसाइकलमा तीन दिनमा बुटवलबाट तकसेरा–ढोरपाटन–जलजला हुँदै पोखराको यात्रा गरेका बुटवलका सुदीप न्यौपानेले नयाँ मार्गमा साहसिक र रोमाञ्चक यात्रा भएको अनुभव सुनाए।

घना जङ्गलको शिरमा समथर घाँसेमैदान । पृष्ठभूमिमा हिमालहरूको लामो लर्कन । बिहानीमा सूर्योदय र साँझको सूर्यास्तको मनमोहक दृश्य । शरद्याममा खुलेका आकाश । वसन्तयाममा पाखाभरि ढकमक्क फुलेका लालीगुराँस । वन्यजन्तु र पन्छीहरूको आवाज । शान्त र एकान्त वातावरण पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लाको भूगोलमा फैलिएको ढोरपाटन सिकार आरक्षको आकर्षण हो ।

जलजला प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान भएको धवलागिरि गाउँपालिका–२ लमसुङबाट घुम्न गएकी बिनु पुनले बताइन् ।

“शान्त वातावरणमा, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउँदा समय बितेको पत्तै नहुँदोरहेछ”, उनले भनिन् , “समथर फाँटमा बसेर आँखै अगाडि देखिने हिमालको लर्कनले चित्रकारले कोरेको क्यानभासको आभास गरायो ।”

जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । बर्खायाममा पशुगोठ, वन्यजन्तु, समथर फाँट, पहाडी भूगोल, वनजङ्गल, वसन्त ऋतुमा गुराँसे जङ्गलको अवलोकन गर्न पाउनु यहाँको अर्को विषेशता हो । गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने जलजलामा बस्ती, होटल र रेष्टुरेन्ट छैन ।

म्याग्दीको लुलाङका विकले गोठमा पाहुनालाई खाना खुवाउने र बसोबासको व्यवस्था मिलाउँदै आएका छन्। च्याउ, टुसाका परिकार, ढकायोको सागको अचार, गाईभैँसीको दूध, दही, भेडा र खसीको मासु गोठस्टेका परिकार हुन् । क्याम्पिङ गर्ने पर्यटकले आफैँ बन्दोबस्तीका सामान लगेर जानुपर्छ।

ढोरपाटनको पाखाथरबाट जलजलासम्म पुग्न कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टा तीन मिनेट यात्रा गर्नुपर्छ । धवलागिरि गाउँपालिकाको केन्द्र मुनादेखि जिप र मोटरसाइकलमा दुई घण्टाको यात्रापछि जलजला पुगिन्छ ।

जलजला क्षेत्रको जङ्गलमा दुर्लभ वन्यजन्तु हाब्रे (रेडपाण्डा)को बासस्थान भएकाले थप महत्व रहेको छ । दुईतर्फबाट पैदलयात्रा गरेर जलजला पुग्न पाँचदेखि छ घण्टा लाग्छ । जलजला धवलागिरि गाउँपालिकाको मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया र मरेनीका बासिन्दाको चरन क्षेत्र हो ।

धवलागिरि गाउँपालिकाको कार्यपालिकाका प्रवक्ता देवेन्द्र रोकाले म्याग्दीको मुना हुँदै ढोरपाटन र पूर्वीरुकुमको तकसेरा जोड्ने सडकको मार्ग खोल्नुको एउटा उद्देश्य जलजलालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु पनि भएको बताए  ।

यस वर्ष धवलागिरि गाउँपालिकाले जलजलामा सार्वजनिक शौचालयलगायत पर्यटकीय पूर्वाधार निर्माण र प्रवर्द्धनको कार्यक्रम आयोजना गर्ने तयारी गरेको वडा नं ३ का अध्यक्षसमेत रहेका रोकाले बताए  ।