१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदूषण नियन्त्रणका लागि फोहर जलाउन मिल्ने डस्टबिन



अ+ अ-

फिदिम । बढ्दो वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न फिदिम नगरपालिका–४ स्थित हेंवाघाटमा फोहर जलाउन मिल्ने डस्टबिन राखिएको छ । ग्रिन इन्टरनेसनल क्लब पाँचथरले ६८ हजारको लागतमा उक्त डस्टबिन राखेको हो । बढ्दो जनसंख्याका कारण हेंवाघाटमा शवदहन गर्ने संख्या बढिरहेको छ । जलाउन मिल्ने फोहरसमेत जथाभावी फाल्ने तथा खोलामा हाल्ने गर्नाले प्रदूषण बढेको पाइएपछि फोहर जलाउन मिल्ने फलामको डस्टबिनको व्यवस्था गरिएको क्लबका मिलन विश्वकर्माले जानकारी दिए ।

हेंवाघाट र घाट नजिकै खाजा बाँड्ने स्थानमा एक/एक डस्टबिन तथा सूचनापाटी स्थापना गरिएको छ । शनिबार आयोजित कार्यक्रममा क्लबले यी सामग्री फिदिम नगरपालिका–४ का वडाध्यक्ष प्रकाश गुरुङलाई हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा प्रदेश–१ को उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति सीता थेबेले युवाहरूले रूपान्तरण र सुधारका लागि नवीन सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिइन् । क्लबले पाँचथरमा स्थानीयस्तरका समस्या समाधान, मानवीय सहयोग तथा जागरणका काम गरिरहेको पाइएको भन्दै सभापति थेबेले खुसी व्यक्त गरिन् ।

गत दीपावलीमा देउसीभैलो खेलेर संकलित रकमबाट उक्त डस्टबिनको प्रबन्ध मिलाइएको क्लबका अध्यक्ष सूर्य आङ्देम्बेको भनाइ छ । यो क्लबले पाँचथरमा ‘जीवित रगत बैंक’ स्थापना गर्न लागेको जनाएको छ । हेंवाघाटमा सरकारी लगानीविना नै यहाँ नागरिक तथा जातीय संघसंस्थाले पूर्वाधार निर्माणका काम गर्दै आएका छन् ।

घाटमा पूर्वाधार निर्माणमा सक्रिय हेटनारायण श्रेष्ठका अनुसार यहाँ शव जलाउने घाट नेवाः दयदबु पाँचथरले निर्माण गरेको छ भने मलामी बस्ने चौतारो नेपाल मगर संघ पाँचथरले निर्माण गरेको छ । समाजसेवी मित्रप्रसाद काफ्लेले यहाँ स्वच्छ खानेपानीको प्रबन्ध मिलाएका छन् । दैनिक प्रयोग हुने घाटमा पूर्वाधार निर्माण गर्न तीनै तहका सरकारले उचित ध्यान दिनुपर्ने सरोकारवालाको माग छ । सौर्य दैनिकबाट