ललितपुर । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले प्रशासकले प्राप्त गर्ने ज्ञान, विवेक, आचरण र सेवा प्रवाहको शैलीबाट नै दूरदराजका नागरिकसम्म राज्यको उपस्थिति र अनुहार प्रतिबिम्बित हुने बताउनुभएको छ ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को ४४औँ वार्षिकोत्सव समारोहलाई आइतबार ललितपुरमा सम्बोधन गर्दै उहाँले अनुसन्धान, नवप्रवर्तन र व्यावहारिक दक्षताबिना राज्यले दिगो आर्थिक वृद्धि तथा प्रभावकारी सेवा प्रवाह हासिल गर्न नसक्ने बताउनुभयो ।
उपाध्यक्ष डा. भट्टले उत्पादन मात्र पर्याप्त नहुने भन्दै उत्पादकत्व अभिवृद्धिमा जोड दिनुभयो । विश्व अर्थतन्त्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका मुलुकले अनुसन्धान तथा विकास र नवप्रवर्तनमा ठूलो लगानी गरेकै कारण दिगो आर्थिक वृद्धि हासिल गर्न सफल भएको उहाँको भनाइ थियो ।
नेपालमा पनि ज्ञानको आदानप्रदान र नवप्रवर्तनलाई प्रशासनिक संयन्त्रसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले स्टाफ कलेजले प्रदान गर्ने प्रशिक्षणले समग्र शासन व्यवस्थाको चरित्र निर्धारण गर्ने बताउनुभयो ।
“हामीले यहाँ कस्तो ज्ञान दिन्छौँ, कस्तो दृष्टिकोण विकास गर्छौँ र कस्तो जनशक्ति तयार गर्छौँ भन्ने कुराले सरकारको अनुहार र नागरिकप्रतिको व्यवहारसमेत निर्धारण गर्छ”, उहाँले भन्नुभयो ।
प्रतिष्ठानबाट प्रशिक्षित जनशक्तिले ताप्लेजुङदेखि दार्चुलासम्म र काठमाडौँदेखि देशका विभिन्न क्षेत्रमा नागरिकलाई सेवा प्रदान गर्ने भएकाले प्रशिक्षणको प्रत्यक्ष प्रभाव नागरिकको सेवामा देखिने उहाँले उल्लेख गर्नुभयो ।
उहाँले प्रशासकले कुनै नीतिगत निर्णय तत्काल सहज नदेखिए पनि त्यसको दीर्घकालीन प्रभाव र समग्र प्रणालीको हितलाई ध्यानमा राखेर निर्णय गर्नुपर्ने बताउनुभयो । प्रशासकले विषयवस्तुलाई विभिन्न दृष्टिकोणबाट हेर्न सक्ने र दीर्घकालीन हितलाई प्राथमिकतामा राख्न सक्ने क्षमता विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।
बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कोषको रकम राजधानीमा मात्र केन्द्रित हुने प्रवृत्ति अन्त्य गर्दै प्रत्येक प्रदेशमा न्यूनतम १० प्रतिशत खर्च गर्नुपर्ने बाध्यात्मक व्यवस्थाले वित्तीय साक्षरता र गरिबी निवारणमा योगदान पुगेको पनि उहाँले स्मरण गर्नुभयो ।
उहाँले स्टाफ कलेजलाई केवल तालिम प्रदान गर्ने संस्थाका रूपमा नभई उत्तरदायी, सक्षम र नागरिकमैत्री प्रशासन निर्माण गर्ने महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।








