९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

तेह्रथुममा यक्वा पूजा सम्पन्न

तेह्रथुममा यक्वा पूजा सम्पन्न
अ अ+ अ-

तेह्रथुम। नेपालको पूर्वी भूभागमा मूल रूपमा बसाबास गर्ने याक्थुङ (लिम्बू) समुदायले उद्यौली र उभौली गरी वर्षमा दुई पटक प्रकृति पूजा गर्ने गर्दछन् ।

उद्यौली अर्थात् चासोक तङनाममा पाकेका अन्नबाली मानिसले प्रयोग गर्नुपूर्व पितृ र प्रकृतिलई चढाउने प्रचलन छ । उभौली अर्थात् यक्वा तङनाममा छरपोख गर्नुपूर्व प्रकृतिको पूजा गर्ने परम्परा छ ।

संवत् फेरिने समय चैत र वैशाख महिनामा यो पूजा गर्ने परम्परा रहिआएको आदिवासी जनजाती तेह्रथुम जिल्ला समन्वय परिषद् अध्यक्ष बलदेव तुम्बाहाङफेले बताउनुभयो । उहाँका अनुसार सोहीअनुसार आज तेह्रथुमका विभिन्न स्थानमा यक्वा पूजा गरी यक्वा तङनाम मनाइएको छ ।

तुम्बाहाङफेका अनुसार जिल्लाका विभिन्न स्थानमा याक्थुङ (लिम्बू) समुदायले यक्वा र गैरलिम्बूले धुले, धुर र संसारीका नामले सामूहिक रूपमा पूजा गर्ने परम्परा रहेको छ । “विशेषतः यक्वा पूजा किसानले छरपोख गर्नुपूर्व कुनै किसिमको प्राकृतिक विपद् नआओस्, काम गर्ने क्रममा अप्रिय घटना नहोस्, अन्नबाली राम्ररी उम्रियोस् भनेर गरिने पूजा हो”, उहाँले भन्नुभयो ।

यो पूजामा गाउँटोलका सबै जम्मा भएर स्थानीय पानीको स्रोत भएको स्थान अर्थात् मुहानमा गएर सामूहिक पूजा गर्ने आदिवासी जनजातीका जिल्ला समन्वय परिषद् अध्यक्ष तुम्बाहाङफेले जानकारी दिनुभयो । यक्वा पूजालाई गैरलिम्बूले धुले पूजा पनि भन्ने गर्दछन् । यस अवसरमा एकापसमा हर्षबढाइ गर्दै सामूहिक भोजनसमेत गरिन्छ ।

यसमा प्रकृतिको पूजा गरिसकेपछि यहाँ चढाइएको अन्नबालीका बीउ घरमा लगेर खेतबारीमा छरेपछि मात्रै किसानले खेतबारीमा अन्नबाली छरपोख गर्ने बाटो खुल्ने जनविश्वाससहित परम्परा मनाइँदै आइएको फेदाप गाउँपालिका-३ तोक्माका डम्बरबहादुर लिम्बूले बताउनुभयो । आआफ्नो गाउँसमाजमा नौमति बाजाका साथमा विभिन्न परम्परागत खेल, नाचगानलगायत कार्यक्रम गर्दै जिल्लाभरि हर्षोल्लासका साथ यक्वा पूजा गरिएको उहाँको भनाइ छ ।

बाबुबाजेको पालादेखि हरेक साल सामूहिक रूपमा गर्दै आइएको यो पूजालाई आफूहरूले यथावत् राखी सांस्कृतिक परम्परालाई जगेर्ना गरेको म्याङलुङ नगरपालिका-१० तम्फूलाका जयप्रसाद लिम्बूले बताउनुभयो ।

“बिहान पूजा गरी दिनभरी छेलो हान्नेलगायत परम्परागत खेल, नाचगान गरी साँझ झ्याम्टाको तालमा सामूहिक रूपमा एकै स्वरमा ‘पानी दे दे यतिले त पुगेन अझै दे दे’ भनेर प्रकृतिलाई आह्वान गरिन्छ । त्यसरी पूजाबाट घरघरमा सत्बी बल्बी (बीउबिजन) बाड्दै नारासहित पानी माग्नेलाई घरका सदस्यले पानीले छ्याप्दै रमाइलो गर्छन् । लिम्बुहरूको यक्वा पूजा र गैरलिम्बूले धुर, धुले, संसारी पूजा नामले यसलाई हर्षाेल्लासका साथमा मनाउने गर्दछन्”, उहाँले भन्नुभयो ।

समाजका सबै जातजातीको परम्परा मिश्रण रहेको यो पूजा परम्परागत संस्कार मात्र नभएर समाजमा एकता र सहिष्णुताप्रतिको भावनालाई अझ बलियो बनाउने माध्यमका रूपमा रहेको म्याङलुङ-१० खाल्डेका अनन्त अधिकारीले बताउनुभयो ।

“लोकजीवन पद्दतिसँग जोडिएका यस्ता परम्परागत प्रचलन सामुदायिक एकताको महत्वपूर्ण कसी हुन् । त्यसैले यस्ता परम्परागत प्रचलनको संरक्षणमा सबैले चासो दिनु आवश्यक छ”, उहाँले भन्नुभयो । रासस