१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका…
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेह्रथुममा यक्वा पूजा सम्पन्न



अ+ अ-

तेह्रथुम। नेपालको पूर्वी भूभागमा मूल रूपमा बसाबास गर्ने याक्थुङ (लिम्बू) समुदायले उद्यौली र उभौली गरी वर्षमा दुई पटक प्रकृति पूजा गर्ने गर्दछन् ।

उद्यौली अर्थात् चासोक तङनाममा पाकेका अन्नबाली मानिसले प्रयोग गर्नुपूर्व पितृ र प्रकृतिलई चढाउने प्रचलन छ । उभौली अर्थात् यक्वा तङनाममा छरपोख गर्नुपूर्व प्रकृतिको पूजा गर्ने परम्परा छ ।

संवत् फेरिने समय चैत र वैशाख महिनामा यो पूजा गर्ने परम्परा रहिआएको आदिवासी जनजाती तेह्रथुम जिल्ला समन्वय परिषद् अध्यक्ष बलदेव तुम्बाहाङफेले बताउनुभयो । उहाँका अनुसार सोहीअनुसार आज तेह्रथुमका विभिन्न स्थानमा यक्वा पूजा गरी यक्वा तङनाम मनाइएको छ ।

तुम्बाहाङफेका अनुसार जिल्लाका विभिन्न स्थानमा याक्थुङ (लिम्बू) समुदायले यक्वा र गैरलिम्बूले धुले, धुर र संसारीका नामले सामूहिक रूपमा पूजा गर्ने परम्परा रहेको छ । “विशेषतः यक्वा पूजा किसानले छरपोख गर्नुपूर्व कुनै किसिमको प्राकृतिक विपद् नआओस्, काम गर्ने क्रममा अप्रिय घटना नहोस्, अन्नबाली राम्ररी उम्रियोस् भनेर गरिने पूजा हो”, उहाँले भन्नुभयो ।

यो पूजामा गाउँटोलका सबै जम्मा भएर स्थानीय पानीको स्रोत भएको स्थान अर्थात् मुहानमा गएर सामूहिक पूजा गर्ने आदिवासी जनजातीका जिल्ला समन्वय परिषद् अध्यक्ष तुम्बाहाङफेले जानकारी दिनुभयो । यक्वा पूजालाई गैरलिम्बूले धुले पूजा पनि भन्ने गर्दछन् । यस अवसरमा एकापसमा हर्षबढाइ गर्दै सामूहिक भोजनसमेत गरिन्छ ।

यसमा प्रकृतिको पूजा गरिसकेपछि यहाँ चढाइएको अन्नबालीका बीउ घरमा लगेर खेतबारीमा छरेपछि मात्रै किसानले खेतबारीमा अन्नबाली छरपोख गर्ने बाटो खुल्ने जनविश्वाससहित परम्परा मनाइँदै आइएको फेदाप गाउँपालिका-३ तोक्माका डम्बरबहादुर लिम्बूले बताउनुभयो । आआफ्नो गाउँसमाजमा नौमति बाजाका साथमा विभिन्न परम्परागत खेल, नाचगानलगायत कार्यक्रम गर्दै जिल्लाभरि हर्षोल्लासका साथ यक्वा पूजा गरिएको उहाँको भनाइ छ ।

बाबुबाजेको पालादेखि हरेक साल सामूहिक रूपमा गर्दै आइएको यो पूजालाई आफूहरूले यथावत् राखी सांस्कृतिक परम्परालाई जगेर्ना गरेको म्याङलुङ नगरपालिका-१० तम्फूलाका जयप्रसाद लिम्बूले बताउनुभयो ।

“बिहान पूजा गरी दिनभरी छेलो हान्नेलगायत परम्परागत खेल, नाचगान गरी साँझ झ्याम्टाको तालमा सामूहिक रूपमा एकै स्वरमा ‘पानी दे दे यतिले त पुगेन अझै दे दे’ भनेर प्रकृतिलाई आह्वान गरिन्छ । त्यसरी पूजाबाट घरघरमा सत्बी बल्बी (बीउबिजन) बाड्दै नारासहित पानी माग्नेलाई घरका सदस्यले पानीले छ्याप्दै रमाइलो गर्छन् । लिम्बुहरूको यक्वा पूजा र गैरलिम्बूले धुर, धुले, संसारी पूजा नामले यसलाई हर्षाेल्लासका साथमा मनाउने गर्दछन्”, उहाँले भन्नुभयो ।

समाजका सबै जातजातीको परम्परा मिश्रण रहेको यो पूजा परम्परागत संस्कार मात्र नभएर समाजमा एकता र सहिष्णुताप्रतिको भावनालाई अझ बलियो बनाउने माध्यमका रूपमा रहेको म्याङलुङ-१० खाल्डेका अनन्त अधिकारीले बताउनुभयो ।

“लोकजीवन पद्दतिसँग जोडिएका यस्ता परम्परागत प्रचलन सामुदायिक एकताको महत्वपूर्ण कसी हुन् । त्यसैले यस्ता परम्परागत प्रचलनको संरक्षणमा सबैले चासो दिनु आवश्यक छ”, उहाँले भन्नुभयो । रासस