९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक



अ+ अ-

काठमाडौं: लेखक ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक भएको छ । पब्लिकेसन नेपालयको कालिकास्थानस्थित आरशालामा शनिबार पुस्तक लोकार्पण गरिएको हो । लेखक रिजालले इतिहासकार भवेश्वर पंगेनी र छोरी स्पृहा रिजाललाई पुस्तक उपहार दिएसँगै पुस्तक सार्वजनिक गरिएको थियो ।

दैलेखको दुल्लुमा जन्मेहुर्केका लेखक रिजालले कर्नालीको लोकसाहित्यभाषा र संस्कृतिबाट प्रेरित भएर ‘पैकेलो’ लेखेको बताए । उनले भने, ‘कर्नालीका लोकसाहित्य र संस्कृतिले मकन लेख्न्या नैयाइ नैयाइ कथा दिया । मेरा लेखनका स्रोत अपठित कर्नालीका मान्ठहरूले सुनायाका श्रुतिसामाग्री हुन् । म लेख्य साहित्यका पूरा कितापमा नभेटिन्या गइला दर्शन कर्नाली लोकसाहित्यका हरफ हरफमा भेटाउँछु ।’

 साथै उनले नेपाली भाषासभ्यता र संस्कृतिको मूलथलोका रूपमा कर्नालीको महत्व औँल्याए । कर्णालीको लोकसाहित्यमा समाजसंस्कृति र इतिहासका गहिरा पक्षहरू समेटिएको पनि बताए ।

तरअहिले पनि कर्णालीको विषयमा लेखिएका सामग्रीमा पर्याप्त अनुसन्धान र मर्म नबुझी लेखिएकोमा चिन्ता व्यक्त गर्दै उनले भने, ‘कति लेखकले त कर्नालीकन बिकाउ माल सम्झिया र कर्नालीका आँसु मात्तै लेख्या । कतिले कर्नाली नबुजीकनै लेख्याकर्नाली नटेकीकनै लेख्या र तथ्य बङ्ग्याइकन पण्डित्याइँ छाँट्या । आज पन कर्नाली लेखिनै छ । तर पन कर्नाली केई लेखियाकै नाइँ । कर्नालीको भाषासभ्यता र संस्कृतिको हुनुपन्र्या जति खोज भयाको नाइँ ।’

 दैलेखमा रेडियोमा काम गर्दा आफूले सयभन्दा बढी पाका अग्रजसित कुराकानी गरेको र त्यसैले आफूलाई संस्कृतितर्फ आकर्षित गरेको उनले बताए । उनले अगाडि भने, ‘कर्नालीको इतिहास बोल्न्या ताम्रपत्रहरू पानी खान्या गाग्री भइसक्याका छन् । वीरखम्बहरू नासिनाइ छन्मासिनाइ छन् । देवलहरू ढल्लाइछन् । लोकगाथाहरू लोप हुनाइछन् । यी सबैको खोजी अरिकन नेपालीजातिको भाषिकसामाजिक र सांस्कृतिक इतिहास लेख्न बाँकी नै छ ।’

 त्यस्तै दलित समुदायले कर्नालीको लोकसाहित्य र सांस्कृतिक परम्पराको संरक्षणमा पुर्याएको योगदान पनि प्रस्ट पारे । उनले भने, ‘कर्नालीको लोकसाहित्य र संस्कृति कसैले बँचायाको छ भन्या अछुत भनीकन हेला अर्याका दलित जातिले बँचायाका छन् । कलाका ती उँचा धरोहरकन नमन अर्छु जो नभयाको भया न म लोकप्रिय वीरगाथा बालाराजा काशीरामको भारत सुन्न्या थियाँ न लेख्न्या थियाँ पैकेलो । कर्नालीका लोकगाथावीरगाथावीरखम्बकीर्तिखम्बपडेलीहुड्केली र न्याउल्या लोप भयाका दिन मेरो कलम रोकिन्या छ।’

 लेखक रिजालले आफ्नो २५ मिनेट लामो मन्तव्य पूरै खस भाषामा दिएका थिए ।

 नेपालयका सम्पादक विमल आचार्यले भने, ‘पैकेलो साहित्यिक हिसाबले जति पठनीय छसंस्कृतिसमाजभाषाइतिहास अध्ययनको दृष्टिले उत्तिकै संग्रहणीय ।’

 विज्ञान र जनप्रशासनमा स्नातकोत्तर रिजालको यसअघि ‘हटारु’ उपन्यास छापिएको थियो । उनका ‘यात्रा–विम्ब’ कविता संग्रह र ‘रुँदै बग्दोछ मुगु कर्नाली’ नियात्रा पनि प्रकाशित छन् । रिजालका संस्कृतिकेन्द्री आख्यानसँगै अनुसन्धानमूलक लेख पनि प्रकाशित छन् ।