१८ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम तीव्र



अ+ अ-

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्ने काम तीव्र पारिएको छ । सडक बन्द गरेर आठ स्थानमा रकनेटिङ, बोल्टिङ र बायो इञ्जिनीयरिङ प्रविधिबाट पहिरो रोकथामको काम भइरहेको आयोजनाका इञ्जिनीयर एवं सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो ।

“सडकखण्डको भित्तामा अड्किएका ढुङ्गा झार्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म तीन प्रतिशत मात्र काम भएको छ ।” जिल्ला प्रशासन कार्यालय चितवनले मङ्सिर २७ गतेबाट दुई हप्ता दिउँसो सडक बन्द गरेर काम गर्न अनुरोध गरेको थियो । सोहीअनुसार पुस ११ गतेसम्म सडक बन्द गरेर आयोजनाले काम गरिरहेको छ तर, माथिका ढुङ्गा झार्न अझै दुई हप्ता समय लाग्ने भएकाले दिउँसोको सवारी आवागमनमा अवरोध पुग्ने सूचना अधिकारी खनालले बताउनुभयो ।

एक हप्ता समय थप गरेर भए पनि काम सम्पन्न गर्ने उहाँले जानकारी दिनुभयो । बाँकी काम भने सवारी साधन पुनः सञ्चालन गरेर पनि गर्न सकिनेछ, उहाँले भन्नुभयो । ढुङ्गा झारेपछि रकनेटिङ, बोल्टिङ प्रविधिबाट जाली लगाइने उहाँले जानकारी दिनुभयो । अहिले सडकखण्डको गाईघाट, भोर्ले, घुमाउने, भालुढुङ्गा, जलवीरे, चारकिलो, टोपेखोला र कालीखोला क्षेत्रमा पहिरो रोकथामको काम भइरहेको छ । रु १४ करोडको लागतमा बज्रगुरु, हिमसगरमाथा न्यू टेक्निकल जेभीले पहिरो रोक्ने कामको जिम्मा पाएका हुन् । निर्माण कम्पनीले ३० हजार वर्गमिटर क्षेत्रमा पहिरो रोकथामको काम गर्ने इञ्जिनीयर खनालले जानकारी दिनुभयो ।

काम गर्ने अवधि छ महिना तोकिएको छ तर, यही स्तरमा कामको गति अगाडि बढे साढे तीन महिनामा सकिने खनालले बताउनुभयो । अबको एक महिनामा २० प्रतिशत काम हुने खनालको भनाइ छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोग्रस्त क्षेत्र भनेर ३२ ठाउँ तोकिएको छ । त्यसमध्ये २४ स्थानमा पहिरो रोकथामको काम भइसकेको हो । यसअघि सडक स्तरोन्नति ठेक्काबाट १२ र पहिरो रोकथाम ठेक्काबाट १२ स्थानमा पहिरो रोकथामको काम भएको आयोजनाले जनाएको छ ।

सडकखण्डअन्तर्गत दासढुङ्गा, खानी र मौरीका तीन वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने जलवीरेको पुल ५० प्रतिशत निर्माण सम्पन्न भएको छ । बाँकी १४ पुलको पनि निर्माणको प्रक्रिया अघि बढेको आयोजनाले जनाएको छ । अहिले दिउँसोको समयमा नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुबाहक सवारीसाधनलाई पन्ध्रकिलो र मालबाहक सवारीलाई दासढुङ्गामा रोकिन्छ । पोखराबाट काठमाडौँ आवतजावत गर्ने सवारी साधन रोकिएको छैन । विश्व बैंकको ऋण सहयोगमा एशियन हाइवे स्टान्डर्डको डबल लेनमा स्तरोन्नति भइसकेको भए पनि सडक क्षेत्रमा पहिरो नियन्त्रणको काम बाँकी रहेको थियो ।