१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी

नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम तीव्र

नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम तीव्र
अ अ+ अ-

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्ने काम तीव्र पारिएको छ । सडक बन्द गरेर आठ स्थानमा रकनेटिङ, बोल्टिङ र बायो इञ्जिनीयरिङ प्रविधिबाट पहिरो रोकथामको काम भइरहेको आयोजनाका इञ्जिनीयर एवं सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो ।

“सडकखण्डको भित्तामा अड्किएका ढुङ्गा झार्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म तीन प्रतिशत मात्र काम भएको छ ।” जिल्ला प्रशासन कार्यालय चितवनले मङ्सिर २७ गतेबाट दुई हप्ता दिउँसो सडक बन्द गरेर काम गर्न अनुरोध गरेको थियो । सोहीअनुसार पुस ११ गतेसम्म सडक बन्द गरेर आयोजनाले काम गरिरहेको छ तर, माथिका ढुङ्गा झार्न अझै दुई हप्ता समय लाग्ने भएकाले दिउँसोको सवारी आवागमनमा अवरोध पुग्ने सूचना अधिकारी खनालले बताउनुभयो ।

एक हप्ता समय थप गरेर भए पनि काम सम्पन्न गर्ने उहाँले जानकारी दिनुभयो । बाँकी काम भने सवारी साधन पुनः सञ्चालन गरेर पनि गर्न सकिनेछ, उहाँले भन्नुभयो । ढुङ्गा झारेपछि रकनेटिङ, बोल्टिङ प्रविधिबाट जाली लगाइने उहाँले जानकारी दिनुभयो । अहिले सडकखण्डको गाईघाट, भोर्ले, घुमाउने, भालुढुङ्गा, जलवीरे, चारकिलो, टोपेखोला र कालीखोला क्षेत्रमा पहिरो रोकथामको काम भइरहेको छ । रु १४ करोडको लागतमा बज्रगुरु, हिमसगरमाथा न्यू टेक्निकल जेभीले पहिरो रोक्ने कामको जिम्मा पाएका हुन् । निर्माण कम्पनीले ३० हजार वर्गमिटर क्षेत्रमा पहिरो रोकथामको काम गर्ने इञ्जिनीयर खनालले जानकारी दिनुभयो ।

काम गर्ने अवधि छ महिना तोकिएको छ तर, यही स्तरमा कामको गति अगाडि बढे साढे तीन महिनामा सकिने खनालले बताउनुभयो । अबको एक महिनामा २० प्रतिशत काम हुने खनालको भनाइ छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोग्रस्त क्षेत्र भनेर ३२ ठाउँ तोकिएको छ । त्यसमध्ये २४ स्थानमा पहिरो रोकथामको काम भइसकेको हो । यसअघि सडक स्तरोन्नति ठेक्काबाट १२ र पहिरो रोकथाम ठेक्काबाट १२ स्थानमा पहिरो रोकथामको काम भएको आयोजनाले जनाएको छ ।

सडकखण्डअन्तर्गत दासढुङ्गा, खानी र मौरीका तीन वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने जलवीरेको पुल ५० प्रतिशत निर्माण सम्पन्न भएको छ । बाँकी १४ पुलको पनि निर्माणको प्रक्रिया अघि बढेको आयोजनाले जनाएको छ । अहिले दिउँसोको समयमा नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुबाहक सवारीसाधनलाई पन्ध्रकिलो र मालबाहक सवारीलाई दासढुङ्गामा रोकिन्छ । पोखराबाट काठमाडौँ आवतजावत गर्ने सवारी साधन रोकिएको छैन । विश्व बैंकको ऋण सहयोगमा एशियन हाइवे स्टान्डर्डको डबल लेनमा स्तरोन्नति भइसकेको भए पनि सडक क्षेत्रमा पहिरो नियन्त्रणको काम बाँकी रहेको थियो ।