१८ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई वर्षमा ३२६ छोरीका खाता



अ+ अ-

रारा । मुगुको एकमात्र छायाँनाथ रारा नगरपालिकाले छोरीलाई शिक्षामा पहुँच पुर्याउन शुरु गरेको ‘एक छोरी एक खाता’ कार्यक्रममा गत आर्थिक वर्षसम्म ३२६ जना छोरी सहभागी भएका छन् ।

नगरपालिकाले आर्थिक अभावमा विद्यालयमा बालिकालाई चाहिने किताब, कापीलगायत आवश्यकपर्ने अन्य स्टेशनरी सामान किन्न र विद्यालय पठाउन सहज होस भनेर आव २०७४/०७५ बाट एक छोरी एक खाता कार्यक्रम शुरु गरेको थियो ।

पहिलो नगरसभाबाट एक छोरी एक खाता सञ्चालन कार्यविधि पारित गर्दै नगर क्षेत्रमा जन्मने छोरीको वित्तीय संस्थामा खाता खोल्ने, सो खातामा नगपालिकाले पाँच वर्षेसम्म नियमित रकम जम्मा गरिदिने र पाँच वर्षपछि विद्यालय भर्ना भएको भर्ना अभिलेख ल्याएमा उक्त खातामा रहेको रकम मासिकरुपमा झिक्न मिल्ने प्रावधानसहितको कार्यविधि पास गरेको थियो ।

नगरक्षेत्रमा छोराभन्दा छोरीको विद्यालय बीचैमा छोड्ने दर बढी देखिएको छ । विद्यालय छाड्नुमा आर्थिक अभावले कापी, कलम, पोशाक, अन्य खर्च गर्न नसक्नु र त्यसको पीडित छोरी हुने गरेकोले कार्यक्रम मार्फत छोरीको शिक्षामा पहुँच पुर्याउन नगरपालिकाले यो अभियान शुरु गरेको नगरप्रमुख हरिजंग शाहीले बताउनुभयो ।

नगरपालिकाले जिल्ला सदरमुकाममा रहेको छायाँनाथ साकोससँग छोरीको खाता खोल्न सम्झौता गरेको छ । सहकारीले पाँच वर्षको अवधिमा बचत खाता खोलिदिने र नगरपालिकाले जम्मा गरिदिएको रकममा वार्षिक १३ प्रतिशत व्याज दिने गरेको छायाँनाथ सहकारीका व्यवस्थापक हरिबहादुर शाहीले बताउनुभयो ।

वडा कार्यालयको सिफारिस र जन्मदर्ताको प्रतिलिपिसहित नगरपालिकाको महिला तथा बालबालिका शाखामा खाता खोल्न छोरीका अभिभावकले छोरी जन्मेको ३५ दिनभित्र सम्पर्क गर्नुपर्छ । वर्षभरिमा जम्मा भएका छोरीको निवेदनलाई नगरसभाले छुटाएको बजेट दामासाहीका दरले भाग गरी सहकारीमा आर्थिक वर्षको अन्तमा खाता खोल्ने गरिएको छ ।

आव २०७४/०७५ मा नगरसभाले रु पाँच लाख रकम छुट्याएको र त्यो बेला १९४ छोरीका खाता खोलिएको थियो । सो समयमा प्रतिखाता दुई हजार ५८० का दरले रकम जम्मा भएको र आव २०७५/०७६ मा नगरसभाले एक छोरी एक खातालाई चार लाख छुट्याएकाले सो रकम आवेदन दिएका १३२ छोरीलाई भाग गर्दा प्रतिछोरीको खातामा तीन हजार ३० रुपैयाँ जम्मा भएको नगरपालिकाका लेखापाल जगतजंग रावलले बताउनुभयो ।

पहिलो नगरसभामा अनुभव नभएकाले कार्यविधिमा धेरै कुरा छुटेको अहिले महसुस भएकाले आगामी छैटौँ नगरसभामा छोरीलाई दामासाही भागभन्दा नियमित र नयाँ गरी दुई शीर्षकमा रकम विनियोजित गर्ने र मासिकरुपमा नियमित रकम जम्मा गर्ने व्यवस्था मिलाउने नगर प्रमुख शाहीले बताउनुभयो । चालू आवमा नगरपालिकाले एक छोरी एक खाताका लागि रु पाँच लाख रकम विनियोजन गरेको छ ।

कर्णाली प्रदेशभरिमै छोरीका लागि खाताको व्यवस्था गर्ने यो नै पहिलो स्थानीय तह हो । यही नगरपालिकाको सिको गर्दै कणाली प्रदेश सरकारले पनि यो आवबाट बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको कार्यक्रम शुरु गरेको छ । उसले यो आवबाट यो प्रदेशमा जन्मने छोरीलाई बैंकमा खाता खोलिदिने र उक्त खातामा मासिक सरकारले रु ५०० जम्मा गरिदिने भएको छ । यो कार्यक्रमका लागि प्रदेश सरकारले रु तीन करोड ८४ लाख रकम विनियोजित गरेको र मुगु जिल्लामा रहेका चार स्थानीय तहका लागि प्रतिस्थानीय तह तीन लाखका दरले १२ लाख छुट्याएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतले जनाएको छ ।