१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन

पर्यटक तान्न खोज्दै स्थानीय सरकार

पर्यटक तान्न खोज्दै स्थानीय सरकार
अ अ+ अ-

अर्घाखाँची । प्रदेश नं ५ का स्थानीय सरकार आफ्ना पालिकालाई पर्यटकीयस्थल बनाउन धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्न तथा त्यसका लागि चाहिने भौतिक संरचना निर्माण गर्न लागेका छन् ।

स्थानीय सरकारको यस कार्यलाई प्रदेश सरकारले पनि साथ दिएको छ । सङ्घीय संरचना लागू भएर स्थानीय बासिन्दाले गाउँमै सेवा पाउन थालेपछि सदरमुकाम सन्धिखर्कमा चहलपहल हराउँदै जान लागेको थियो । नगरपालिकामा पहिलेकै जस्तो चहलपहल बनाउन नगरपालिकाले विभिन्न गतिविधि गरिरहेको छ ।

सन्धिखर्कभित्रका सांस्कृतिक एवं ऐतिहासिक क्षेत्रको संरक्षणसँगै पर्यटनका लागि आवश्यक संरचना निर्माणमा सन्धिखर्क नगरपालिकाले जोड दिएको छ । शान्ति बगैँचाको आधुनिकीकरण तथा व्यवस्थापन अभियान अन्तिम चरणमा पुगेको छ । अभियान शुरु भएको एक वर्षमै बगैँचाको मुहार फेरिएको छ । शान्ति बगैँचालाई पर्यटकीय गन्तव्य बनाउन लागिएको हो ।

सन्धिखर्क बजारको बीचमा रहेको शान्ति बगैँचामा आँपका रुखमात्र थिए । अहिले त्यहाँ बुद्धको मूर्ति राखिएको छ । सबै ठाउँमा फूल रोपण र पानीका फोहराको व्यवस्था गरी यसलाई उद्यान बनाउन थालिएको सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले बताउनुभयो । उहाँले शान्ति बगैँचालाई व्यवस्थित गरेर अशान्ति भएको समयमा बगैँचामा आएपछि मन शान्त हुने खालको बनाउन थालिएको बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विकका अनुसार यस उद्यानमा गणेश मन्दिर, हरितमार्ग, बालबालिकाको मनोरञ्जनका लागि पिङ, झुला बनाउने, वरिपरि तारजाली लगाएर सुरक्षित गर्ने, बस्ने ठाउँको व्यवस्था गर्नका लागि सन्धिखर्क नगरपालिकाले रु ४५ लाख रकम विनियोजन गरेको छ । यी सबै पूर्वाधार र सुविधा बालबालिका र वृद्धवृद्धाका लागि समेत उपयुक्त हुने किसिमले बनाइँदैछन् ।

बगैँचामा अशोक, क्रिसमस ट्री, धुपी सल्लालगायतका बिरुवा थपिने कुरा निर्माण समितिका अध्यक्ष नारायण बन्जाडेले बताउनुभयो । सुपा देउराली मन्दिरमा आएका पर्यटकलाई आकर्षित गर्नका लागि बगैँचालाई व्यवस्थित पार्न लागिएको हो । सुपा देउराली मन्दिरबाट तीन किलोमिटर टाढा नरपानीको गङ्गा–सरोवर छ । सुपादेउरालीमा आएका पर्यटकलाई नरपानीसम्म ल्याउनका लागि गङ्गा–सरोवरमा डुङ्गा चलाइएको छ ।

नरपानी अहिले वनभोज खाने ठाउँमा चिनिएको छ । सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीका अनुसार नगरपालिकाले विनियोजन गरेको करीब रु चार लाखमा दुई डुङ्गा किनेर चलाइएको हो । पर्यटनलाई मध्यनजर गर्दै नगरपालिकाले सन्धिखर्कमा दृश्यावलोकन स्तम्भ निर्माण गर्न लागेको छ । रु ४० लाख लागतमा निर्माणाधीन सिटी दृश्यावलोकन स्तम्भबाट चुत्रावेशी बजार, सन्धिखर्क बजार, लदाम, बसपार्क, हललाइनलगायत अर्घा, किमडाँडा तथा कुरको सबै भू–भाग हेर्न सकिनेछ ।

पाणिनी गाउँपालिका संस्कृत व्याकरणको रचना भएको विश्वास गरिएको पाणिनी गाउँपालिकामा पर्ने पाणिनी तपोभूमिको प्रचार–प्रसारमा लागिपरेको कुरा गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताउनुभयो । यसका लागि प्रदेश सरकारको रु ५० लाख र गाउँपालिकाको झण्डै ५० लाख खर्च गरी पोखरी तथा अन्य विभिन्न संरचना बन्दैछन् ।

यहाँबाट उत्तरतिर हिमशृङ्खला र दक्षिणतिर तराईका फाँट अनि भारतीय भूमि देख्न सकिन्छ । अर्घाखाँचीको पोखराथोक र पाल्पाको तीनधारेबाट केही मिनेट उकालो हिँडेपछि यहाँ पुग्न सकिन्छ । छत्रदेव गाउँपालिकाले छत्रदेवालय मन्दिरको मर्मतसम्भार तथा आवश्यक पूर्वाधारमा जुटेको छ । रु एक करोड १० लाखको लागतमा छत्रदेव हँुदै गुल्मीको तम्घास जाने सडकबाट मन्दिरमा जाने एक हजार २४८ सिँढी र रेलिङ निर्माण गरेको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले बताउनुभयो । प्रदेश नं ५ कै सबैभन्दा बढी सिँढी भएको मन्दिर बनाउने गरी काम भइरहेको बताउनुभयो ।

छत्रदेव गाउँपालिका जङ्गबहादुरको न्वारान भएको स्थानको रुपमा चिनिने बलकोटको पौवाको प्रचारप्रसार र विकासमा जुटेको छ । यस ठाउँको विकासमा प्रदेश सरकार र छत्रदेव गाउँपालिकाले झण्डै रु ५० लाखको लागतमा काम सम्पन्न गरेको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले बताउनुभयो ।

रेसुङ्गा नगरपालिका वडा नं ५, ६ र ७ को सङ्गमस्थल उनायचौरको उनायचौर भगवती मन्दिरमा गत भदौमा ‘वृक्ष गगनगृह’ निर्माण गरिएको हो । चढ्न त के देख्दै आङ सिरिङ हुने सल्लाको, सानो रुखमा टाँसेर घर बनाइएको हो । यही डरलाग्दो रुखमा अहिले दूधे बालकदेखि वृद्धसमेत सजिलै चढ्न सक्छन् ।

यो घरले धेरै पर्यटक लोभ्याएको छ । यहाँ पुग्ने सबै घर अगाडि बसेर फोटो खिच्छन् । कोही रुख घरमा चढ्न टिकट काटेर लाइनमा ठेलमठेल गरेर उभिएका हुन्छन् । रुख घर अवलोकनका लागि विभिन्न ठाउँबाट पर्यटक आउने गरेको रेसुङ्गा नगरपालिका–७ का वडा सदस्य रघु पन्थीले बताउनुभयो । उहाँका अनुसार बिदाको दिन पर्यटकको बढी भीड हुने गरेको छ ।

प्रदेश नं ५ सरकारको लगानीमा डिभिजन वन कार्यालय गुल्मीको रु १२ लाख र उपभोक्ताको रु एक लाख ३८ हजार ५११ लागतमा उक्त घर निर्माण गरेको हो । पचास रोपनीमा फैलिएको यस क्षेत्रमा बाल उद्यान र अन्य रुखलाई सजावट गरिने समितिको योजना छ । पतञ्जलिको जन्म अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–७ ऐरावतीको बलारेपाङ्ग्रेमा भएको विश्वास गर्दै यस ठाउँलाई राम्रो बनाउने काम शीतगङ्गा नगरपालिकाले गरिरहेको छ । यहाँ पतञ्जलिको मन्दिर र धर्मशाला बनाउनका लागि रु ५० लाख विनियोजन गरेर काम अगाडि बढाइएको शीतगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो । नगरपालिकामा रहेको डम्मरु दह र वाणगङ्गाधामको प्रचारप्रसार र विकासमा पनि काम भइरहेको उहाँले बताउनुभयो ।

नेपालकै पवित्र धामहरुमध्येको एक धाम हो प्यूठानको स्वर्गद्वारी । स्वर्गद्वारी नपुगेसम्म हिन्दूहरुको तीर्थयात्रा नै पूरा हँुदैन भन्ने जनविश्वास रहेको छ । यो महाभारत शृङ्खलाको करीब दुई हजार १२२ मिटर अर्थात् छ हजार ९६० फिट अग्लो लेक हो । परापूर्वकालमा ऋषिमुनिहरुले यहाँ ठाउँमा बसी जपतप गरेर स्वर्ग गएकाले यस स्थानको नाम स्वर्गद्वारी हुन गएको भन्ने भनाइ छ ।

यहाँ आउने धार्मिक पर्यटकका लागि घुम्ती शौचालय बनाउन नगरपालिकाबाट रु २० लाख बजेट विजियोजन गरेकोे स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायाले बताउनुभयो । स्वर्गद्वारीमा आउने धार्मिक पर्यटकलाई कसरी सेवा दिन सकिन्छ भन्नेतिर नगरपालिका लागिरहेको पनि उहाँले बताउनुभयो । प्रदेश सरकारले पनि स्वर्गद्वारीको प्रचारप्रसारमा काम गरिरहेको छ । रु एक करोडको लगानीमा नमूना पार्क बनाउन थालिएको नगर प्रमुख रोकायाले बताउनुभयो ।